नौ महिनामा एक लाख ६८ हजारभन्दा बढी भक्तजनले गरे पाथीभराको दर्शन

नौ महिनामा एक लाख ६८ हजारभन्दा बढी भक्तजनले गरे पाथीभराको दर्शन

इशु पन्त
विराटनगर। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा एक लाख ६८ हजार बढी दर्शनार्थी आएका छन् ।

चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनादेखि चैत महिना मसान्तसम्ममा उक्त सङ्ख्यामा दर्शनार्थी पाथीभराको दर्शनका लागि आएका हुन् ।

पाथीभरा क्षेत्र विकास समितिले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चैत मसान्तसम्ममा कुल एक लाख ६८ हजार ४ सय ६८ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन्। पाथीभराको दर्शन गर्न चैत महिनामा मात्र ५२ हजार ४५५ जना भक्तजन आएका समितिले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ।

चालू आबको नौ महिनाको अवधिमा सबैभन्दा बढी चैत महिना र त्यसपछि दसैँ तिहारको समय कात्तिक महिनामा ४९ हजार एक सय ६३ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन्। समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले सार्वजनिक गर्नुभएको भक्तजनको विवरणअनुसार साउन महिनामा सबैभन्दा कम एक हजार १२२ जना भक्तजन पाथीभराको दर्शन गर्न आएका छन्।

भदौ महिनामा पाँच हजार जना, असोजमा १० हजार तीन सय ४३ जना, मङ्सिरमा २० हजार चार सय १६, पुसमा पाँच हजार छ सय ५५, माघमा छ हजार ४ सय १ र फागुन महिनामा १७ हजार नौ सय १२ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन्। पाथीभराको दर्शन गर्न नेपालको विभिन्न जिल्ला र नेपाल बाहिर भारतको सिक्किम, दार्जिलिङ, आसाम, वेस्ट बङ्गाल लगायतबाट भक्तजन आएका कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो।

यसैगरी चैत महिनामा मात्र भक्तजनले दान गरेको र चढाएको भेटी रकम ७५ लाख सात हजार १५० रुपैयाँ बचत गरिएको पनि समितिले जनाएको छ। भेटीबापत सङ्कलन भएको उक्त रकम नेपाल बैङ्क लिमिटेडसहित विभिन्न बैङ्कहरूमा रहेको समितिको खातामा बचत गरिएको समितिले जनाएको छ।

पाथीभरा पुग्न ताप्लेजुङ सदरमुकाम हुँदै सवारी साधनमा काफ्लेपाटीसम्म र सो भन्दामाथि पैदल हिँड्नुपर्छ । करिब चार घण्टाको उकालो चढेपछि पुगिने मन्दिर तीन हजार सात सय ९४ मिटरको उचाईमा पर्दछ । दर्शनार्थीको चापलाई मध्येनजर गर्दै मन्दिर दर्शनका लागि जनशक्ति खटाएर आवश्यक व्यवस्थापन गरिएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो ।

भक्तजनको घुइँचो लागेसँगै पूजाआजालाई सहज र छिटो बनाउन पाथीभरा क्षेत्रमा रहेका कर्मचारीलाई पूर्णरूपमा खटाइएको छ ।

पाथीभरा मन्दिरमा स्वदेशी तथा विदेशीसमेत गरी वार्षिक लाखौँको सङ्ख्यामा तीर्थयात्री आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्