नेपाली खेलकुदको एक वर्षः ऐरिकाको ऐतिहासिक पदकदेखि क्रिकेटको लोभ्याउने प्रगतिसम्म

नेपाली खेलकुदको एक वर्षः ऐरिकाको ऐतिहासिक पदकदेखि क्रिकेटको लोभ्याउने प्रगतिसम्म

काठमाडौं । नेपाली खेलकुदका हिसावले वर्ष २०८० चर्चामै रह्यो । वर्षको सुरुआत हुँदा युवा तथा खेलकुद मन्त्रालय नै नेतृत्वविहीन अवस्थामा रहेको थियो ।

२०७९ को आम निर्वाचनपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठबन्धनका कारण फेरबदल हुँदा लामोसमय नेतृत्वविहीन भएको युवा तथा खेलकुदमन्त्रीको रुपमा डिगबहादुर लिम्बू वैशाख २० गते नियुक्त भएका थिए । मन्त्रीमा नियुक्त भएपछि लिम्बुले दैनिक १८ घण्टा खटेर काम गर्ने बताए पनि उनी त्यसमा सफल भएनन् । लामोसमयदेखि राष्ट्रिय खेलकुद परिषद् राखेपका कर्मचारीको बढुवा लगायतका कुराहरुमा सफलता हात पारे पनि उनी खेलकुदका भन्दा पनि नेपाली कांग्रेस पार्टीकै र घरायसी काममा केन्द्रीत भएर विदा भए । उनी अहिलेको नयाँ सत्ता समीकरण भएसँगै विदा भए ।

क्रिकेट
पछिल्लो समय नेपालमा क्रिकेटको चर्चा अत्याधिक छ । अझ बर्ष २०८० क्रिकेट खेलका लागि खास रहन पुग्यो । यो बर्ष क्रिकेटले एसीसी प्रिमियर कप काठमाडौंमा खेल्दै उपाधि जित्यो भने एसिया कपमा छनोट भएर भारत र पाकिस्तानसँग खेल्ने ऐतिहासिक मौका हासिल ग¥यो । नतिजाका आधारमा एसियाकपमा नेपालको पक्षमा नभए पनि विश्वस्तरमा नेपालको क्रिकेटलाई फैलाउन सफल भएको छ । भारत र पाकिस्तानका खेलाडीकाविरुद्ध नेपाली खेलाडीहरुले साहासिक प्रदर्शन गरेर सबैको मन जितेका छन् ।

यसैगरी २०८० मै नेपालले जिम्बाबेमा एक दिवसीय विश्वकपको ग्लोबल छनोट खेल्ने अवसर पनि पायो । छनोट चरण पार नगरे पनि त्यहाँ नेपालको प्रदर्शन सम्झन लायक रह्यो । महिला क्रिकेट टोलीले टी २० एसिया कपमा स्थान पनि यसै बर्ष बनाउन सफल भयो । पुरुष क्रिकेट टिमले टी २० विश्वकपको एसियाली रिजनको अन्तिम चरणको छनोट प्रतियोगिता काठमाडौंमा आयोजना गरेको थियो र उक्त प्रतियोगितामा समूह चरणमा दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेको थियो भने सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी युएईलाई पराजित गर्दै फाइनलमा स्थान बनाएसँग टी २० विश्वकपमा स्थान बनाउन सफल भयो । फाइनलमा भने नेपाल सुपर ओभरमा ओमानसँग पराजित भएको थियो । यो पराजयले नेपाली क्रिकेटको भविष्यलाई भने फरक पारेन । नेपाल अब २०८१ मा सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा रहेको आइसीसी टी २० विश्वकप क्रिकेट खेल्दै छ । उक्त प्रतियोगिता वेस्टइन्डिज र अमेरिकाले आयोजना गर्दै छन् । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो संस्करण नेपालले आयोजना गरेको थियो । नेपालले युएईलाई फाइनलमा हराउँदै एसियाकपमा छनोट भएको थियो । जुन छनोट प्रतियोगिता अहिले ओमानमा जारी छ । ओमानमा जारी प्रतियोगितामा नेपालले मलेसियालाई पराजित गर्दै विजयी सुरआत गरेको छ ।

यसैगरी नेपालका लागि अर्को ठूलो प्रतियोगिता भनेको एसियाली खेलकुद हो । साग त आयोजना हुनै छाडिसकेको जस्तो अवस्थामा चीनमा आयोजना भएको १९ औं एसियाली खेलकुदमा नेपालका खेलाडीहरुले विश्व कीर्तिमान नै बनाए । नेपालले मंगोलियालाई २७३ रनको विशाल अन्तरले हराउँदै बनाएको कीर्तिमान टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि टोलीले हासिल गरेको यो सबैभन्दा ठुलो अन्तरको जित थियो । नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनाएको थियोे । त्यो पनि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तमान थियो ।

मंगोलियाले १३.१ ओभरमा अलआउट हुनुअघि ४१ रनमात्र बनाउन सकेको थियो । मंगोलियाविरुद्ध नेपाली ब्याट्सम्यान कुशल मल्लले अविजित एक सय ३७ रन बनाएका थिए । उनले केवल ५० बलको सामना गरी १२ छक्का र आठ चौका हिर्काएका थिए । यस क्रममा उनले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा छिटो शतक पूरा गर्ने कीर्तिमान बनाएका थिए । उनले केवल ३४ बलमा शतक पूरा गरेका थिए ।
उनले भारतका कप्तान रोहित शर्माको ३५ बलको कीर्तिमान तोडेका थिए ।
मंगोलियाविरुद्ध दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा चाँडो अर्धशतक बनाउने कीर्तिमान पनि बनाएका थिए । ऐरीले केवल नौ बलमा अर्धशतक बनाएका थिए । उनले अविजित ५२ रन बनाएका थिए । उनले भारतका पूर्व क्रिकेटर युवराज सिंहको कीर्तिमान तोडेका थिए । युवराज सिंहले सन् २००७ मा इङ्ल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए ।

नेपाल क्रिकेट संघको चुनावी साधारणसभा असोज ६ गते काठमाडौंमा भयो । क्रिकेटसंघको नेतृत्वमा चतुरबहादुर चन्द निर्वाचित भए पनि चर्चाको केन्द्रमा निर्वाचित पारस खड्का रहे । उनी नेपालका सफल कप्तानको रुपमा आफूलाई स्थापित गरेका व्यक्ति हुन् । नेपाली क्रिकेटको विकासका लागि उनी व्यवस्थापनमा आउन चाहनुलाई धेरैले सह्राना गरेका छन् । उनी निर्वाचित भएसँगै नेपाली क्रिकेटमा सकारात्मक सञ्चार भएको रुपमा आम क्रिकेट समर्थकले बताउने गरेका छन् ।

पछिल्लो समय नेपाल क्रिकेट संघको कार्यालय व्यवस्थापनदेखि हरेक कुरामा सक्रिय रहेका पारसबाट नेपाली क्रिकेटले आगामी दिनमा धेरै अपेक्षा पनि राखेको छ । चतुरबहादुर चन्दको वर्तमान कार्यसमितिले अहिले नेपाली क्रिकेटललाई अझ बढी अन्तर्राष्ट्रियकरण गर्ने अभियान नै छेडेको छ । यसबीचमा आइसीसीका अध्यक्षको नेपाल भ्रमण पनि सम्पन्न भयो । आइसीसी अध्यक्ष ग्रेग बार्कले चार दिने भ्रमणमा आएर राजनीतिक भेटवार्ता गरेका छन् । नेपालको क्रिकेटमा सघाउने वाचा गरेर गएका उनी यसबाट सकारात्मक नजिता निस्कने अपेक्षा गरिएको छ । नेपालमा टेस्ट नेशन्स आयरल्याण्डको टोली आएर प्रतियोगिता खेल्यो भने विश्वकप अगाडि २०८१ मा वेस्टइन्डिजको ए टिम नेपाल आउने पक्का भइसकेको छ । यसलाई नेपाली क्रिकेट टोलीको विश्वकप अभ्यासका रुपमा हेरिएको छ ।

युवा खेलाडीले यू १९ विश्वकप क्रिकेट खेले भने एसीसी महिला प्रिमियर कपमा नेपाल फाइनलसम्म पुग्न सफल भयो । फाइनलमा पराजित भएको नेपाल अहिले एसिया कपमा छनोट भएको छ । नेपालकी रुविना क्षेत्री अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनिन् ।

फुटबल
नेपाली फुटबलका हिसावले २०८० साल उत्साहजनक भएन । एन्फाभित्रको राजनीतिक खिचातानीका कारण हरेक दुई– दुई महिनामा साधारणसभाका नाउँमा समय बेतित गरे भने यसै वर्ष एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव नै दर्ता भएर मतदानमार्फत छिनोफानो हुँदा केही पदमा लेनदेन गरेर आफूलाई सहज अवतरण गराए पनि नेपाली फुटबलले भने पराजय नै भोगेको छ । नेपालमै आयोजना हुनुपर्ने फिफा विश्वकप छनोटको दोस्रो चरणको बहराइनविरुद्धको खेल एन्फा र राखेपको लापरबाहीका कारण एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालामा खेल हुन नसक्दा नेपाली फुटबल दर्शकमाथि गम्भीर अपराध भएको छ । पुरुष फुटबलको तुलनामा महिला खेलाडीले केही उत्साह ल्याएको थियो । पुरुष खेलाडीहरुको विदेश पलायन बर्षभरी नै जारी रहँदा नेपाली राष्ट्रिय टोलीमा उत्कृष्ट ११ खेलाडीको सूची निकाल्न पनि धौ धौ पर्ने अवस्था देखिएको छ ।

पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन पेरिस पारा ओलम्पिकका लागि छनोट हुन सफल भइन् । चीनमा भएको पारा ओलम्पिकको एसियाली छनोटमा पलेशाले के ४४ को महिलातर्फ ५७ केजीमुनी तौल समूहमा स्वर्ण पदक जित्दै फ्रान्समा हुने ओलम्पिकमा छनोट भइन् । उनी छनोट चरण पार गरेर पारा ओलम्पिकमा छनोट हुने पहिलो नेपाली पारा खेलाडी बन्न पनि वर्ष २०८० मा सफल भइन् ।

एरिकाको ऐतिहासिक पदक
वर्ष २०८० मा चीनमा भएको १९ औं एसियाली खेलकुदमा नेपालका लागि एरिका गुरुङले रजत पदक दिलाइन् । चीनको हान्जाउमा भएको प्रतियोगिताको फाइनलमा उनी कजाकस्तानकी वेरुल्त्सेवा सोफियासँग हारेपछि स्वर्ण पदक जित्नबाट चुकिन् । एरिका एसियाली खेलकुदमा रजतपदक जित्ने नेपालको दोस्रो खेलाडी भएकी छन् । उनै एरिकाले बर्षको अन्त्यतिर अमेरिकामा भएको युएसए ओपन च्याम्पियनसिपमा १ स्वर्ण र १ रजत जितेकी छन् ।

कबड्डी
१९ औं एसियाली खेलकुदमा नेपालबाट कबड्डीमा डेब्यू गरेको महिला टोलीले कांस्य पदक जित्न सफल भएको वर्षको रुपमा २०८० लाई लिनुपर्छ । एसियाली खेलकुदमा नेपालले पदकको खाता नखोल्ने चिन्ता बढेका बेला कबड्डीले कास्य पदक जित्दै नेपालको इज्जत जोगाएको थियो । अन्तिम दिन भने एरिकाले रजत पदक जित्न सफल भएकी थिइन् । नयाँ वर्ष सुरुआत हुनै लाग्दा नेपाली खेलकुदमन्त्रीको रुपमा विराज भक्त श्रेष्ठ आएका छन् । सुरु सुरुमा केही काम गरेको जस्तो देखिए पनि पछिल्लो दिनमा उनको उपस्थिति पनि विगतका मन्त्रीहरुको जस्तै हुने त होइन भन्ने प्रश्न पनि उठ्न थालिसकेको छ ।
वर्ष २०८१ नेपाली सम्पूर्ण खेलकुदका लागि अझ बढी उपलब्धि मूलक बनोस हाम्रो शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्