विराटनगर महानगरद्वारा वडा नम्बर १४ मा आभारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण,जग्गादाता यादवलाई सम्मान

<span class='c1'>विराटनगर महानगरद्वारा वडा नम्बर १४ मा आभारभूत</span> <span class='c2'>स्वास्थ्य केन्द्रको भवन निर्माण,जग्गादाता यादवलाई सम्मान</span>

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले वडा नम्बर १४ स्थित आधारभूत स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ ।

वडा नम्बर १४ को कार्यालय परिसरमा मंगलबार आयोजित कार्यक्रममा मेयर कोइरालाले भवनको उद्घाटन गर्नुभएको हो ।

स्थानीय समाजसेवी जगदीशप्रसाद यादवले निःशुल्क उपलब्ध गराएको २ कठ्ठा १० धुर जमिनमा भवन निर्माण गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले स्वास्थ्य केन्द्रको आफ्नै भवन निर्माणले स्वास्थ्य सेवा प्रवाहमा सहज हुने बताउनुभयो । उहाँले स्वास्थ्य केन्द्रमा आवश्यक पर्ने जनशक्ति र स्वास्थ्य उपकरण क्रमैसँगै व्यवस्था गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । महानगरले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको सुनाउनुभयो । १९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर, विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा विराटनगरलाई मोतियाबिन्दुमुक्त बनाउने अभियान सञ्चालन, ८० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको घरमै पुगेर निःशुल्क स्वास्थ्य चेकजाँच र औषधि वितरण, निःशुल्क रुपमा एम्बुलेन्स सेवा प्रदानलगायतका कार्यलाई महानगरले जारी राखेको मेयर कोइरालाले बताउनुभयो ।

त्यस्तै उपमेयर शिल्पा निराला कार्कीले महानगरले दक्षिणी क्षेत्रलाई प्राथमिकतामा राखेर विकास निर्माणका कार्य अगाडि बढाइरहेको जानकारी दिनुभयो । उहाँले महानगरवासीलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न महानगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । वडा नम्बर १४ का अध्यक्ष सूर्यनारायण महतोको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले भौतिक संरचना निर्माण भएर मात्रै नहुने बताउँदै सेवा प्रवाहलाई गुणस्तरीय र सहज बनाउनुपर्नेमा जोड दिनुभयो । नवनिर्मित भवनमा स्वास्थ्य उपचारसँगै स्वास्थ्यसँग सम्बन्धित तालिमलगायतका कार्य गर्नसमेत सहज हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा जग्गादाता जगदीशप्रसाद यादवलाई महानगरपालिकाका तर्फबाट सम्मान गरिएको थियो । यादवलाई मेयर कोइराला र उपमेयर कार्कीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो । सो अवसरमा जसपा मोरङका उपाध्यक्ष मन्तलाल यादव, नेपाली कांग्रेसका युवा नेता रमेश राजवंशी, नेकपा एमालेकी नेतृ सुनिता श्रेष्ठ, माओवादी केन्द्रका मनोज कामत, वडासदस्य दिनानाथ यादव, महानगरको स्वास्थ्य महाशाखा प्रमुख दिलीप यादव, वडा सचिव पृथ्वी बस्नेतलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । भवनमा अपाङ्गता भएका व्यक्तिलाई आवतजावतका लागि र्‍याप, शौचालय, ८ कोठा र एउटा हल रहेको छ । २४ सय स्क्वायर फिटको सो भवन निर्माण सम्पन्न गर्न ७५ लाख रुपैयाँ खर्च भएको महानगरको भौतिक पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिनुभयो ।

९६ लाख लागत अनुमान गरिए पनि ७५ लाखमा भवन निर्माण सम्पन्न भएको थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्