विराटनगरको विकासमा दक्षिण प्राथमिकता, आसा जगाउँदै निर्माणाधीन योजना

विराटनगरको विकासमा दक्षिण प्राथमिकता, आसा जगाउँदै निर्माणाधीन योजना

विराटनगर । विराटनगरको दक्षिणी क्षेत्र पूर्वाधार योजनामा पछि पारिएको आरोप जनप्रतिनिधिले झेल्दै आएका थिए । प्रमुख र उपप्रमुखले बजेट प्राथमिकतामा नराख्ने गरेको भन्दै वडाअध्यक्षहरुले आलोचना गर्ने परम्परा नै थियो । स्थानीय तहको अवधारणा कार्यान्वयन आएपछि पहिलो कार्यकालमा समेत विकासले नछोएको नागरिक तहबाटै आलोचना सुनिन्थ्यो । दोस्रो कार्याकालमा निर्वाचित जनप्रतिनिधिको पहिलो बजेटले समेत सम्बोधन नगरेको वडाअध्यक्षहरुको गुनासो थियो ।

तर, चालु आर्थिक वर्षको बजेटमा विराटनगरको दक्षिणी क्षेत्रको विकास प्राथमिकतामा राखेर काम भईरहेको दावी महानगरपालिकाले गरेको छ । दावी अनुसारको चालु अवधीका योजनाहरु अहिले धमाधम चलिरहेका छन् ।
विराटनगर महानगरपालिकाले आयोजना गरेको सार्वजानिक सुनुवाई कार्यक्रममा मेयर नागेश कोइरालाले ठूलो योजनाहरु दक्षिणी क्षेत्र केन्द्रीत रहेको दावी प्रस्तुत गरेका थिए । त्यस अनुसारको काम समेत अहिले भईरहेको, भावी योजनाका लागि पाइपलाइनमा राखिएको र थप योजनाहरुको अध्ययन भईरहेको बताएका थिए । उनको यो दावी अनुसार विकास निर्माणका कामहरुले अहिले गति लिएको दक्षिणी क्षेत्रका स्थानीयहरुको भनाई छ ।

विराटनगर महानगरपालिकाले विराटनगर–१८ मा विराट राजाको दरबार क्षेत्रको संरक्षण, विराट माई पोखरी निर्माणसँगै सडक पूर्वाधारमा जोड दिएको छ । विराटनगरद्द१८ को फडानी चौक वडा कार्यालयसम्मको सडक स्तरोन्नतीको काम धमाधम भईरहेको छ । यसैगरी वडा कार्यालयको भवन निर्माण सम्पन्न गरेको छ । भाडाको घरमा रहेको वडा कार्यालय आफ्नै भवनमा सारिने तयारीमा पुगेको छ । यसैगरी विराटनगर–१७ को आईसिपी चौकदेखि वडा कार्यालय जाने सडक, मटेर्वाचौकदेखि पर्तिटोल जाने सडक तथा नाला, विराट राजा दरबार क्षेत्र जाने सडक तथा नाला, स्वास्थ्यचौक मर्मत तथा ओपन जीमको काम चालु आर्थिक वर्षमा भएका छन् ।

विराटनगर–१६ रानीमा हेल्पडेस्क भवन निर्माण, रानीमार्ग (बुद्धचौक) पश्चिम चिराकमान श्रेष्ठको घरदेखि आरजे क्लिनिकसम्मको सडक कालोपत्रेसहितका योजना बढाएको छ । स्थानीय मनमाया मगरले महानगरपालिकाले विकास योजनालाई प्राथमिकता दिएपनि कतिपय अवस्थामा नागरिकले नै सडक सीमामा विवाद झिकेर रोकिने समस्या रहेको बताइन् । उनले स्थानीय सरकारले स्थानीय नागरिकका लागि ल्याउने विकास योजनालाई प्रभावकारी बनाउन नागरिक सहयोग बन्नुपर्ने बताइन् ।
विराटनगर–१५ मा सुडिटोल –(तिरङ्गा चौक) सडक, विराट आँखा अस्पताल अगाडीको सडक निर्माणको काम अहिले चालु अवस्थामा रहेका छन् । महानगरपालिस्तरीय योजनामा समेटेर गरिएका कामले दक्षिणी क्षेत्रको विकासमा सुधार ल्याउने दावी गरिएको छ ।
विराटनगर महानगरपालिकाका योजना महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थापाका अनुसार एक करोड बढीका योजना चालु अवस्थामा रहेको बताएका छन् । उनले चालु आर्थिक वर्ष भित्र सञ्चालनमा रहेका सडक योजना, बहुवर्षे योजना र भावी योजना समेत प्राथमिकता राखेर काम भईरहेको दावी गरे ।

यसैगरी विराटनगर–११ को केशलिया रोडदेखि रानीसम्मको नहरको डिलमा कालोपत्रे गर्न ठेक्का प्रक्रिया अगाडि बढाइसकेको छ । वडा नम्बर १५ मा रहेको डुबान समस्याको दीर्घकालीन समाधानका लागि सिक्स लेन सडकको पश्चिमतर्फको खण्डमा अल्पकालिन नाला निर्माण गर्ने प्रक्रिया अन्तिम अवस्थामा पुगेको छ। हाईवेको नालाले बस्तीका पानी निकास हुन नसकेपछि महानगरपालिको वर्षात अगाडी नै हाईवे सँगै जोडेर अर्को नाला निर्माण गर्ने भएको हो । इन्जिनियर थापाका अनुसार वर्षात् अगाडी नै साढे तीन किलोमिटर नाला निर्माण गर्नका लागि आयोजनाको कार्यालयसँग सहमति मागिएको छ ।

विराटनगरले चालु आर्थिक वर्षसम्म १४ किलोमिटर कालोपत्रे, ३९ किलोमिटर ग्राभेल र १४१ वटा कल्भर्ट निर्माण गरिसकेको छ । चालु आर्थिक वर्ष सकिँदा एक अर्ब बढीका योजना सम्पन्न हुने र थप १५ किलोमिटर सडक कालोपत्रे सकिने दाबी छ ।

यसैगरी १७ करोडको लागतमा प्रधानमन्त्री पार्क, २ करोड ११ लाखको लागतमा बाल उद्यान, ५ करोडको लागतमा सन्ध्याकालीन आरतीस्थल निर्माणाधीन चरणमा रहेका छन् । १४ करोड ७५ लाख रुपैयाँको लागतमा महानगरको प्रशासनिक भवन बनिरहेको छ । २२ करोडको लागतमा निर्माण भएको वीरेन्द्रसभा गृह हस्तान्तरणको चरणमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्