न्यून शुल्कमा फोहोर संकलन गर्दै बुढीगंगा गाउँपालिका

न्यून शुल्कमा फोहोर संकलन गर्दै बुढीगंगा गाउँपालिका

विराटनगर। फोहोर व्यवस्थापन टाउको दुखाईएको विषय बनिरहदा बुढीगंगा गाउँपालिकाले न्यून शुल्कमा फोहोर संकलन गर्दै आएको छ।

साउन ८ गतेदेखि निरन्तर रुपमा न्यून शुल्कमा फोहोर संकलन गर्दै आएको हो।

चालु आर्थिक वर्ष २०८०/८१ को बजेटबाट १४ लाखमा ट्रयाक्टर खरिद गरेर न्यून शुल्कमा फोहोर संकलन गरेको बुढीगंगा गाउँपालिका प्रमुख जीत नारायण थापा मगरले बताए।

दैनिक २ ट्रयाक्टर फोहोर संकलन हुन्छ । गाउँपालिकाले संकलित फोहोर बुढी खोला भन्दा केही पर रहेको डम्पीङ साइडमा लगेर राख्ने गरेको छ । जुन डम्पीङ साइड बुढीगंगा,गढी गाउँपालिका र दुहबी नगरपालिकाको संयुक्त रहेको छ।

एक स्थानमा हप्तामा एक पटक फोहोर संकलन गर्न ट्रयाक्टर जाने गर्छ । घर, पसलसहित अन्य व्यापारिक प्रतिष्ठानहरुबाट निस्कने फोहोरहरुलाई ट्रयाक्टरमा खन्याएर डम्पिङ साइटसम्म लैजाने व्यवस्था मिलाइएपछि वातावरणीय फोहोर घटेको बुढीगंगा गाउँपालिका उद्योग व्यवसाय तथा वातावरण शाखाका प्रमुख उमेश भट्टराईले बताए।

यसभन्दा अघि बुढीगंगामा फोहोर संकलन हुदैन थियो। तर, नयाँ जनप्रतिनिधि आएपछि न्यून शुल्कमा फोहर संकलन कार्यलाई निरन्तरता दिएपछि स्थानीय उपभोक्ताहरु समेत खुसी भएको छन्।

३ जना सरसफाई कर्मचारी र एक जना ड्राइभरको सहयोगमा नियमित रुपमा फोहोर संकलन गर्दै आएको बुढीगंगा गाउँपालिकाले जनाएको छ। फोहोर व्यवस्थापनको शुल्क गाउँपालिकाले वडा कार्यालयबाट घर करको १५ प्रतिशत र व्यवसाय करको १० प्रतिशत वार्षिक रुपमा शुल्क लिने गरेको शाखाका प्रमुख भट्टराईले जानकारी दिए। उनका अनुसार १ हजार रुपैयाँ कर तिर्नेले १ सय रुपैयाँ फोहोर मैला व्यवस्थापन कर जोडेर लिने गरेको बताए।

पहिला पहिला फोहोर व्यवस्थापन गर्न समस्या हुने गरेको र पछिल्लो समय गाउँपालिकाले फोहोर संकलन गर्न घरघरमा ट्रयाक्टरमा पठाउन थालेपछि सहज हुने गरेको स्थानीय अस्मिता फुयालले बताईन। ७ वटा वडा रहेको उक्त गाउँपालिकामा राष्ट्रिय जनगणना २०७८ अनुसार बुढीगंगाको जनसंख्या ५१,४९७ जना रहेको छ। वडा नम्बर १ मा हप्तामा ४ पटक र अन्य वडामा २ पटक फोहोर संकलन गर्ने गरेको गाउँपालिकाले जनाएको छ।

आगामी आर्थिक वर्षमा थप एक वटा ट्रयाक्टर थप्ने योजना रहेको शाखाका प्रमुख भट्टराईले बताए। आगामी आर्थिक वर्षदेखि सङ्कलित फोहोरबाट छुट्याइएका वस्तुबिक्री गर्ने र पुनः प्रशोधन गर्न सकिने फोहोर बेचेर आम्दानी गर्न सकिने गाउँपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्