विराटनगरका होटलमा लामो टिक्दैनन : पढ्छन, विदेश जान्छन् होटल म्यानेजमेन्टका विद्यार्थी

विराटनगरका होटलमा लामो टिक्दैनन : पढ्छन, विदेश जान्छन् होटल म्यानेजमेन्टका विद्यार्थी

इन्दु साह
विराटनगर । विराटनगरका विभिन्न कलेजमा होटल व्यवस्थापन सम्बन्धि पढाई भईरहेको छ । कलेजहरुमा होटल म्यानेजमेन्ट पढ्न आउने विद्यार्थी यहाँका ठुला होलटमा लामो समय टिक्दैनन् । खर्च गरेर पढेका विद्यार्थीले विराटनगरका ठूला र साना होटलमा राम्रो तलव नपाउँदा उनीहरु विदेशिने गरेका हुन् ।

होटल म्यानेजमेन्ट पढाउँदै आएका कलेजका सञ्चालकहरुका अनुसार नेपालमा ८ हजार देखि १२ हजारसम्म तलव पाईन्छ । विदेश जाँदा त्यहि कामको लागि ८० हजारदेखि तीन लाखसम्म मासिक आम्दानी हुने गरेको छ । सीपमुलक शिक्षा भएकोले गर्दा विद्यार्थीले यहाँका कलेज पढेर होटलमा अनुभव लिने बाहेक रोजगारीका लागि दिर्घकालिन सोच्ने गरेका छैनन् । नेपालकै होटलमा काम गरेर जीविकोपार्जन चलाउने भन्दा पनि विदेश गएर राम्रो पैसा कमाएर फर्कने अनि होटल लाइनमा आफैं संलग्न हुनेहरुको संख्या धेरै रहेको कलेजका सञ्चालकहरु बताउँछन् ।

२०७० सालमा हिमालय दर्शन कलेजले स्नातक तहमा होटल म्यानेजमेट सञ्चालनमा ल्याएको थियो । अहिले त्यहाँ ७१ जना विद्यार्थी अध्यनरत छन् । उक्त कलेजले स्नातकको अन्तिम वर्ष इन्टर्नको लागि विद्यार्थीलाई दुबई, चाईना पठाँउँदै आएको छ । विदेशमा इन्टर्न स्वरुप काम गरेपनि प्रत्येक विद्यार्थीले मासिक ८० हजार कमाउने उक्त कलेजका जनसम्पर्क अधिकृत लेसवन्त सापकोटाले जानकारी दिए । हिमालय दर्शन कलेजमा ३३ जनाको सिटमा स्नातक पढाई हुँदै आएको छ ।

अहिले पनि इन्टर्नको लागि दुबई लगायतका देश गएका विद्यार्थीले मासिक ८० हजार कमाई रहेको सापकोटाको दावी छ ।
सत्कार होटल एण्ड टुरिजम स्कुलका संचालक अभिषेक धमलाका अनुसार दैनिक जरुरी पर्ने जनशक्ति भएकोले विद्यार्थीले पढेपछि काम जहाँ पनि पाउनछन् । तर, खर्च गरेर पढेपछि पाउने तलवमा चित्त नबुझ्दा उनीहरु विदेशमै रोजगारी खोज्न पुग्ने गरेका हुन् । कक्षा ११ र १२ मा होटल मेनेजमेन्ट २०७९ सालबाट सुरु गरेको सत्कारमा ७० जना विद्यार्थी ११ कक्षामा अध्ययनरत रहेका छन् ।

विराटनगरमा सेन्ट जोसेफ कलेजले २०७१ सालदेखि नै यो विषयको पढाई गर्दै आएको छ । कलेजका निर्देशक रोहित जंग थपलियाका अनुसार विद्यार्थीको आकर्षण पनि राम्रो छ । तर, देशभित्रका होटलमा भन्दा वैदेशिक रोजगारीका लागि धेरैको चासो हुन्छ । उनको अनुभवमा पढेर वैदेशिक रोजगारीमा पुगेका विद्यार्थीले नौलाख रुपिँयासम्म कमाएका छन् । नेपालमा त्यहि विद्यार्थीले २० हजारमा खुम्चिनु पर्ने अवस्था छ । सेन्टजोसेफमा ११ र १२ कक्षामा गरी ३०० विद्यार्थी अध्ययनरत छन् । विद्यालयले वर्षेनी १५० जना विद्यार्थी को भर्ना गर्ने गरेको छ । निर्देशक थपलिएका अनुशार होटल व्यवस्थापन पढाउनुको उद्देश्य विद्यार्थीलाई शिक्षा संगै सीप सिकाउनु पनि हो ।

होटल व्यवसायी संघ कोशीका अध्यक्ष एवं स्वागत होटलका सञ्चालक राजन श्रेष्ठका अनुसार दक्ष जनशक्तिले नै प्राथमिकतामा पाउने भएपनि आउने र जाने क्रम निरन्तर रहने गरेको छ । उनका अनुसार राम्रो काम गरिरहेका व्यक्ति समेत केहि महिना÷वर्षपछि एकाएक विदेश जाने तयारीमा पुगिरहेका हुन्छन् । दक्ष जनशक्ति होटलमा अभाव चाँहि नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्