लागुऔषधले रित्तिएको जीवन

लागुऔषधले रित्तिएको जीवन

सुजता लिम्बू
विराटनगर ।‘बहिनी पहिले खुब राम्री हुन् ।सायद उसको बाध्यताले होला यहाँसम्म आइपुग्न परेको’ सरिता (नाम परिवर्तन) की आफन्तले सुनाए।परिवारदेखि करिब ५ वर्षदेखि टाढिएकी सरिता घरदेखि हिँड्दा सकुशल नै रहेको उनको दिदीले सुनाइन् । काइयो नपरेको कपाल (जिग्रिङ), वर्षोदेखि ननुहाएको शरीर, पुरानो कपडामा भेटिएकी सरिताको अवस्था हेर्दै नाजुक थियो ।

एउटा हात काम नलाग्ने अवस्थामा कोशी अस्पतालको शैय्यामा भेटिएकी उनी आफन्तको अनुसार लागुऔषध सेवनकै कारण घर छोडेकी रहेछिन् ।
परिवारको विषयमा खासै खुलेर बोल्न नचहाने उनी सोधिएको प्रश्नहरुसँगै हराउथिन् । संखुवासभा हुँदै धरान झरेकी उनी फेरी फर्किएर आफू जन्मिएको गाउँ जान चाहिनन् । चुरोट हुँदै गाँजा सेवन गर्न सुरु गरेकी २० वर्षीया सरिताले साथीहरुसँगै लागुऔषध सेवन गर्न सुरु गरिन् ।

धरानदेखि विराटनगर हुँदै भारतको जोगबनी धाँउदाधाँउदै धरान फर्किन नै भुलिन् । लागुऔषधको नसामै जीवन समर्पित गरेकी उनले त्यही लागुऔषधकै कारण आफ्नो एउटा हात समेत गुमाइन् । प्रहरीको अनुसार इन्जेक्सन (लागुऔषध ) लगाउँदा लगाउँदै हातमा इन्फेक्सन भएर घाउ भएको रहेछ । त्यही इन्फेक्सनले गर्दा हातको हड्डी र मासु आफै झरेर हात काम लाग्न नसक्ने अवस्थामा पुगको थियो । परिवारको माया, प्रेम र बलियो साथ नपाएर पनि घर छोडेको हुन सक्ने उनको नजिकको आफन्तले बताए ।यस्तै धनकुटाका रमेश (नाम परिवर्तन) सुनसरीको इटहरीमा भेटिए । उनी भर्खरै सुधार गृहबाट बिदा भएर घर फर्किन लागेका रहेछन् । लागूऔषधकै कारण केही समय न्यायिक हिरासतबाट सजाय भुक्तान गरेका उनले यसै कारण उनको घर गृहस्थ समेत बिग्रियो ।

जीवनको उर्जाशिल उमेर लागुऔषधको नसामा नै बिताएका उनी आफू असल बुवा र श्रीमान हुन नसकेको दुखेसो पोख्छन् ।नसामा डुब्दा परिवार सन्तानको वास्ता नै नगरेको कारण पनि श्रीमती र सन्तान उनीबाट टाढा भएको ४ वर्ष भएछ । १६ वर्षको उमेरदेखि लागुऔषधको लतमा फसेका उनी ३२ वर्षको उमेरसम्ममा आइपुग्दा परिवारनै गुमाउन परेको दुखेसो सुनाए ।
‘मैले त जीवन बुझेकै रहेनछु १६ वर्षको उमेरदेखि साथीभाईसँग लागुऔषधको नसामा डुब्दै ठिक भयो,’ उनले भने,‘मैले सबैथोक गुमाए, परिवार, भरोसा र जीवन र जवानी तर, पनि हरेस खाएको छैन ।’ अध्ययनको शिलशिलामा धरान झरेका उनी पढ्दापढ्दै लागुऔषध सेवन गर्न बानी परेका रहेछन् । घरको एक्लो छोरा पढ्न गएको छोरालाई पैसा पठाएपनि परिवारले केमा खर्च गर्दैछ भनेर नसोध्दा पनि आफू धेरै स्वतन्त्र भएको उनी सुनाउछन् ।
उनी भन्छन्,‘मेरो पनि एक सन्तान छ, त्यो सन्तानको हुर्काइ पनि कसरी श्रीमतीले गरिन थाहा भएन, तर सन्तान के गर्दैछ भनेर सोध्नु चाँही पर्ने रहेछ ।’

विराटनगरका २७ वर्षीय भरतको (नाम परिवर्तन ) विद्यार्थी जीवनमा पढाई राम्रो थियो । पारिवारिक अवस्था पनि राम्रै थियो । जे होस दुखः के हो उनले जीवनमा भोग्नुपर्ने अवस्था थिएन । तर, समयसँगै उनको दैनिकी फेरिदै गयो । विस्तारै कलेज छोडेर दैनिक जस्तो उनको गन्तव्य भारतको जोगबनी बन्न थाल्यो । त्यहीँका साथीभाई, इन्जेक्सन र टयाब्लेट उनको जीवनको सबैभन्दा निकट पात्र बन्न थाल्यो । उनले आफ्नो भविष्यको लक्ष्य, परिवारले देखेको सपनाहरु जोगबनी धाँउदा र लागुऔषधको नसामा गुमनाम भएको सुनाए । शरिर सुकेर तेन्द्रा भएको छ । बेहोसमा नै विराटनगरका सडक भौतारिने उनीसँग कहिलेकाँही त आफ्नो घर जाने बाटो भुलेर सडकमा निद्रा पुर्याएको थुप्रै रातहरु पनि छन् । भविष्यको चिन्ता भन्दा पनि इन्जेक्सन लगाउने पैसा कहाँबाट जोहो गर्ने भन्ने चिन्ताले उनलाई पिरोल्छ । अब त उसलाई परिवारले पनि भारी छुट दिइसकेको छ ।
‘परिवार सबै पैसा कमाउनमा व्यस्त भए, म यता, अब त खोज्दैनन् परिवारले ।’ उनी सुनाउछन्,‘ विन्दास छ जिन्दगी, भविष्य त सकियो अब भोली कसरी पैसा निकाल्ने भन्ने मात्रै चिन्ता हुन्छ ।’(नोट : उल्लेखित पात्रहरुसँग नाम उल्लेख नगर्ने सर्तमा कुराकानी गरिएको हो ।)

महंगो लागुऔषध ओसार्न महिला प्रयोग
पछिल्लो समय लागुऔषध प्रयोगमा पुरुष मात्रै नभएर महिलाहरुको पनि संलग्नता बढ्दै गएको छ । यस्ता कार्यमा प्रयोग भएका महिलाहरुले नेपालबाट गाँजा भारत तर्फ लैजाने र भारतबाट विभिन्न लागुऔषध नेपालमा ल्याउने गर्छन् । यस क्षेत्रमा ब्राउन सुगर, चरेस, अफिम जस्तो लागुऔषध प्रयोग भइरहेको पाइएको छ । यसको प्रयोगकर्ताका रूपमा विद्यार्थी, महिला, किशोरीदेखि विभिन्न क्षेत्रका व्यक्तिहरू रहने गरेको प्रहरीले जनाएको छ । जसले गर्दा ठूला-ठूला घटना मात्रै घटेको छैन ।लागूऔषधकै कारण सामान्य मान्छेको जीवन नै तहसनहस भएका घटनाहरु पनि थुप्रै छन् ।

व्यापारका लागि फैलिदै लागुऔषध
व्यापार व्यवसायको उदेश्यका लागि लागुऔषध ओसारपसार हुने गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आर्थिक लाभका कारण पनि लागुऔषध ओासपसार र दुर्व्यसन फैलिदै गएको प्रहरीको अनुसन्धाबाट खुलेको छ । प्रदेश प्रहरी कार्यालयको पाँच वर्षको तथ्यांक अनुसार सबैभन्दा धेरै लागुऔषध प्रयोग र ओसारपसार अर्थसँग जोडिएको छ ।

यस्तो छ लागुऔषध ओसारपसार उदेश्य

६० वर्ष माथिका पनि दुर्व्यसनमा
६० वर्ष माथिका पनि लागुऔषधमा फसेका छन् । तर, तुलनात्मक हिसाबले यो उमेर समूहका कम छन् ।
प्रहरीको तथ्यांक अनुसार ६० वर्षभन्दा माथिका १० जना रहेका छन् । भने सबैभन्दा धेरै लागुऔषध प्रयोगकर्ता १६ वर्षदेखि २५ वर्षसम्मको रहेको छ ।कुन उमेरको कति ?

लागुऔषधको हव बन्दै मोरङ
पछिल्लो समय मोरङ लागुऔषधको हब बन्दै गएको छ । भारतसँग जोडिएको खुल्ला सिमानाले पनि मोरङ, सुनसरी लागुऔषध ओसारपसार र प्रयोग गर्नेमा धेरै देखिएको हुन सक्ने अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरु बताउछन् ।
त्यसो भारतको जोगबनी सजिलो बाटो भएकाले पनि लागुऔषध न्युनिकरण र नियन्त्रणमा प्रहरीलाई चुनौतीको विषय बन्दै गएको छ । प्रदेश प्रहरीको पछिल्लो ५ वर्षको तथ्याङ्ममा मोरङ, सुनसरी र झापामा लागु औषध प्रयोगकर्ताको संख्या धेरै देखिएको छ ।

कुन जिल्लामा कति ?

उत्तरी मोरङ लागुऔषध ‘जोन’
मोरङ जिल्लाको लेटाङ, केराबारी पछिल्लो समय लागुऔषध ‘जोन ’ बन्दै गएको त्यस क्षेत्रका बासिन्दाहरुको गुनासो छ । व्यपार र सेवनकै उदेश्यले भारतको जोगबनी पुगेर लागुऔषध ल्याउने गरेको समेत पाइएको छ । उत्तरी मोरङ लागुऔषधको हव बन्दै गएको र यसले सुरक्षा चुनौती बढ्दो देखिएको त्यस क्षेत्रको बासिन्दाको गुनासो सुनाए । एक कार्यक्रममा बोल्दै केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले लेटाङ, केराबारी लागुऔषध नियन्त्रणमा निक्कै चुनौती बढेको र यसले सुरक्षामा चुनौती थपिएकाले सुरक्षाकर्मी थप गर्नुपर्नेमा जोड दिएका थिए।

दुर्व्यसन विरुद्ध आमा
पछिल्लो समय लागुऔषध न्यूनिकरण र नियन्त्रणका लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दुर्व्यसन विरुद्ध आमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । स्थानीय पालिकाहरुसँगको सहकार्यमा आमाहरुलाई चेतना फैलाउने उद्धेश्यका साथ कार्यक्रम सञ्चालनमा ल्याइएको हो । परिवारको सदस्यमा सन्तान आमासँग धेरै नजिक हुनेभएकाले र आमाले सन्तानको हाउभाउ, आनिबानी बुझ्ने भएकाले पनि दुव्र्यसन विरुद्ध आमा अभियान सञ्चालनमा ल्याएको प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुबेर खापुङ बताउछन् । यो अभियानले आमाहरुमा सचेता फैलाउने विश्वास रहेको उनको भनाई छ। बेलबारी नगरपालिकाबाट सुभारम्भ भएको यो अभियान १४ वटै जिल्लामा सञ्चालन भइरहेको छ ।
यो अभियान लागुऔषध रोकथाम साथै न्युनिकरणको एउटा माध्यम रहेको उनको भनाई थियो ।

सडक सञ्जालका कारण पहाड उक्लिन्छ ‘लागुऔषध ’
सडकसँगै यातायात सञ्जाल बढेकाले पनि सहज तरिकाले लागुऔषध पहाड सप्लाई हुने गरेको प्रदेश प्रहरी प्रमुख डीआइजी खापुङ बताउछन्।
यस्तै सामाजिक संजालको पहुँचले पनि यसमा सजिलो भएको उनको भनाई थियो । ‘केही न केही बदमासी छन, बदमासी गर्नेहरुले कुनै न कुनै रुपमा बाटो खोजिरहेको हुन्छ । ’ उनले भने,‘विविध काम गर्नेहरु जस्तै व्यापारी, गाडी चालक सहचालक जो पनि प्रयोग गर्न सक्छन् ।’
पहिले गाँजा प्रयोग हुन्थ्यो अहिले अन्य पक्राउ पर्ने गरेको बताउदै डीआइज खापुङले पक्रिए पनि सय प्रतिशत लागुऔषध न्युनिकरण हुने सम्भव नहुने बताउछन् ।खुल्ला सिमाना भएकाले पनि चुनौती भएको बताउदै यसले सजिलो सप्लाइ हुने गरेको उनको भनाई छ ।प्रहरीले पक्राउ गर्छ भन्ने डरले सप्लाईमा केही नियन्त्रणको कुरा हुने, डिमाण्ड हटाउने , जनचेतना मुलक काम प्रहरीले गरिरहेको उनले बताए । परिस्थिति अनुसार कोही ‘क्युरिसिटि’को कारणले पनि आदत बनाउने गरेको पाइएको उनको भनाई छ ।‘ पछिल्लो परिवेशमा झनझन बढ्दो देखिन्छ । श्रीमान श्रीमती नै सप्लाई गर्छन प्रयोगकर्ताले नै व्यापार गरिहेको हुन्छ । खानका लागि भएपनि व्यापार गर्छन ।’ उनले भने,‘ कसैले घरको सामान बेच्छन् । लुटपाट गर्ने घटना भइरहको हुन्छ । यो बाटो छोड्नुपर्छ यसको गन्तव्य मृत्यु नै हो भन्ने कुरामा उनीहरुमा हुन्छ तर, मनलाई नियन्त्रण गर्न नसक्दा पनि यसको रोकथाम र न्यूनीकरण हुन नसकेको हो।’

लागुऔषध न्यूनीकरणका लागि प्रहरीले विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरिरहेको भएपनि न्यूनीकरण हुनुमा स्वयम आफू पनि यसको प्रयोग गर्नु हुँदैन भन्ने विषयमा मानसिकता तयार गर्नुपर्नेमा उनी जोड दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्