विराटनगर । विराटनगरमा रहेको सेन्ट जोसेफ स्कुलले विश्वप्रसिद्ध ‘टेक्नोलोजी एक्सेलेन्स अवार्ड’ प्राप्त गरेको छ ।
२०३४ सालमा स्थापित पूर्वी नेपालको उत्कृष्ट शैक्षिक संस्था सेन्ट जोसेफले प्राविधिक शिक्षामा दिएको विशेष योगदान बापत उक्त अवार्ड पाएको हो ।
प्रविधिको क्षेत्रमा हासिल उपलब्धिहरूलाई मान्यता दिन सम्मान गर्ने गरिएको टेक्नोलोजी एक्सेलेन्स अवार्ड सेन्ट जोसेफलाई प्राप्त भएको हो ।
यो अवार्ड विश्वभरका व्यक्ति, संस्था र परियोजनाले प्राविधिक आविष्कार, कार्यान्वयन र प्रभावमा उत्कृष्टता देखाए बापत प्रदान गर्ने गरिन्छ ।
सिंगापुर, बंगलादेश, अष्ट्रेलिया, भारतलगायत ६ देशका विभिन्न व्यक्ति तथा संस्थालाई प्राविधिक आविष्कार, उच्च कार्यान्वयन, एक्काइसौं शताब्दीको विश्व सुहाउँदो आधुनिकताको प्रयोग र प्रविधिको प्रयोगमा जोड दिएकामा सम्मान व्यक्त गर्दै प्रदान गर्ने गरिएको अवार्ड नेपालको सेन्ट जोसेफले पनि पाएको हो । नेपालकी पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री सुजाता कोइराला, भुटानका पद्मश्री सम्मानित डा. रिन्चेन चोफेल, भारतकी पद्मश्री सम्मानित डा. कल्पना सरोजको उपस्थितिमा सेन्ट जोसेफका निर्देशकद्वय अमन सिटौला र रोहितजंग थपलियाले अवार्ड ग्रहण गरेका थिए ।