विराटनगरको बरगाछी–रानी सडक सौन्दर्यकरणका लागि बैंकहरुको सहयोग

<span class='c1'>विराटनगरको बरगाछी–रानी सडक सौन्दर्यकरणका</span> <span class='c2'>लागि बैंकहरुको सहयोग</span>

विराटनगर । विराटनगर महानगरपालिका अन्तर्गत कोशी राजमार्गको बरगाछी–रानी खण्ड सौन्दर्यकरणका लागि बैंकहरुले सहयोग रकम हस्तान्तरण गरेका छन् । कोशी राजमार्गको मेडियन स्ट्रिप्स क्षेत्रमा साना बुट्यान तथा फूलका बिरुवा रोप्ने योजनामा सहभागिता जनाउँदै बैंक तथा वित्तीय संस्थाहरुले महानगरपालिकामा रकम जम्मा गर्न थालेका हुन् ।

सोमबार चारवटा बैंकले सात लाख ५० हजार रुपैँयाको चेक विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीलाई हस्तान्तरण गरेका छन् । एनआईसी बैंकका हिरा पौडेलले दुईलाख ७५ पैसा, एनआईएनबीका राजिव गजुरेलले दुईलाख, नेपाल बैंकका सुर्य प्रकाश भट्टले एकलाख ५० हजार र ग्लोबल आई.एम.ई बैंकका सुलभहरि जोशीले दुईलाखको चेक हस्तान्तरण गरेको महानगरपालिका सरसफाई शाखा प्रमुख पुनम दाहालले जानकारी दिएका छन् ।

विराटनगर महानगरपालिकाले गत माघमा हाईवे क्षेत्रलाई सौन्दर्यकरण गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार निजी क्षेत्रलाई सहभागिता गराएर हाईवेको मेडियन स्ट्रिप्समा साना बुट्यान र फूल रोप्ने योजना रहेको थियो । त्यस अनुसार विराटनगरमा कार्यलय रहेका बैंक तथा वित्तीय संस्थाले वार्षिक रुपमा सामाजिक उत्तरदायित्वमा खर्च गर्ने रकमलाई एकिकृत गरेर सडक सौन्दर्यकरणमा लगाउने योजना बनाइएको थियो ।
बैंक तथा वित्तीय संस्थासँगको सहजीकरणका लागि बैंकर एशोसिएशन संघ कोशीका अध्यक्ष सन्तोष बुढाथोकीलाई जिम्मेवारी दिइएको थियो । त्यहि अनुरुप सोमबार चारवटा बैंकले महानगरपालिकालाई सहयोग रकम व्यक्तिगत रुपमा उपलब्ध गराएका हुन् । महानगरपालिकाले बरगाछी–रानीको पाँच किलोमिटर दुरी भित्र पर्ने ४६ मेडियन स्ट्रिप्स भित्र बुट्यान तथा फूल रोप्ने योजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार पारिसकेको छ ।

महानगरपालिका क्षेत्र भित्र रहेका ४२ वटा बैंक तथा वित्तीय संस्थाका कार्यालयसँग सहकार्य गरेर सडक सौन्दर्यकरणको योजनालाई सफल बनाउने लक्ष्य राखिएको छ । झण्डै ६० लाख रुपैँँयाको लागत अनुमन गरिएको यस कार्यका लागि बैंक तथा वित्तीय संस्थाबाट ५५ लाख रुपैँया संकलन हुने अनुमान गरिएको छ । यसमा क वर्गका बैंकहरुलाई दुईलाख, ख बर्गबाट एकलाख ५० हजार, ग वर्गबाट एक लाख र घ वर्गका बाट ५० हजार रकम संकलन गर्ने लक्ष्य राखिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्य गर्ने रकम नै सडक सौन्दर्यकरणका लागि उनीहरुले खर्चने भनाई छ ।

महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बैंक तथा वित्तीय संस्थासँग विकास साझेदारको रुपमा सहकार्य गर्ने अवसरको रुपमा यसलाई सदुपयोग गरिने बताएका छन् । बैंकहरुले हस्तान्तरण गरेको चेक ग्रहणपछि प्रमुख कोइरालाले वातावरणीय रुपमा छलेन सडक सौन्दर्यकरणले दुरगामी महत्व राख्ने बताएका छन् । उनले बैंक तथा वित्तीय संस्था, उद्योगी–व्यापारी र सामाजिक क्षेत्रमा क्रियाशिल सबैले शहरको वातावरण संरक्षणका लागि सहयोग गर्ने अपेक्षा रहेको भन्दै विशेष आभार व्यक्त गरेका थिए ।

महानगरपालिकाले बैंक तथा वित्तीय संस्था, व्यापारिक र सामाजिक संघसंस्थासँगको सहकार्यमा सौन्दर्यकरण गर्ने योजना अनुरुप रकम जम्मा हुन थालेको हो । सौन्दर्यकरणका लागि उद्योगी बेनिगोपाल मुन्दडाको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिएकी छन् । उपप्रमुख कार्कीका अनुसार जनसहभागिता बढाएर मात्रै सडक सौन्दर्यकरण र वातावरण संरक्षणको क्षेत्रमा काम गर्दा सफल हुन सकिन्छ । त्यसका लागि विराटनगरका सबै क्षेत्रलाई क्रियाशिल बनाउन उपभोक्ता समितिमार्फत सडक सौन्दर्यकरणको कामलाई अगाडी बढाईनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्