विराटनगर । उमेरले ७७ वर्ष पुग्नु भएकी देवीमाया श्रेष्ठलाई ठ्याक्कै आफ्नो घर बताउन मुस्किल पर्छ । आफु २००४ सालमा जन्मिएको बताएपनि ठेगाना सुनसरीको दुहबी पश्चिम भन्दा बाहेक थाहा छैन । मोरङको बुढीगंगा गाउँपालिकास्थित महिला जागृती तथा बृद्धाश्रममा आश्रीत श्रेष्ठलाई मातातीर्थ औंसीका दिन कोहि आफन्त आउलान् भन्ने विश्वास छैन ।
यो बृद्धाश्रममा श्रेष्ठ जस्तै सातजना आश्रय लिदैं आउनु भएको छ । बाह्र वर्षदेखि आश्रममा बस्दै आउनु भएकी माया देवी भट्टराईको अनुभव अझैं तितो छ । ‘आफ्ना थिएनन्, देवरका सन्तान आफन्त बनेनन्’ भट्टराईले भन्नुभयो–नाताका कोहि छन् तर सम्झदैनन् । भट्टराईले मातातीर्थ औंसीमा मुख हेर्ने आफन्त नभएपनि मन बुझ्ने आफ्नाहरु आउने गरेको सुनाउनुहुन्छ । यस्तै राधा गिरीको पनि पीडा उस्तै छ ।
आश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आचार्यका अनुसार आश्रममा रहेका आमाहरुका आफन्त फर्केर कहिल्यै आउने गरेका छैनन् । आश्रमको नयाँ संरचना बनिरहेका कारण अहिले सातजना मात्रैको संरक्षण गरेर राखिएको उनले बताइन् । बुढीगंगामा आश्रम रहेपनि यो विराटनगर महानगरपालिकासँग नजिक पुष्पलाल चौक पर्दछ । ‘उहाँहरुको आमा भनेपनि आफन्त भनेपनि हामी आफैं हौं’ अध्यक्ष आचार्यले भनिन्–सहयोगी हातहरुको साथमा साहरा दिईरहेको छौं ।
आफ्ना बुबाआमा बृद्धाअवस्थामा आश्रममा राखेर विदेशिने वा स्वदेशमै पनि वेवास्ता गर्ने संस्कृति मौलाउँदै जाँदा धेरै ज्येष्ठ नागरिक बृद्धाश्रमको साहरामा रहेका छन् । अझै कतिपय र बेसाहारा बन्दा सडक आश्रीत तथा सहयोगापेक्षी समेत बन्नुपर्ने अवस्थामा रहेका छन् । सरकारले ज्येष्ठ नागरिकहरुको संरक्षणका लागि वर्षेनी राज्यकोषबाट सामाजिक सुरक्षा भक्ता प्रदान समेत गर्दै आएको छ । तर, पनि आफ्ना सन्तान हुर्काएर खुट्टा टेक्ने भएपछि बुढेसकालको सहारा बन्लान् भनेपनि रगतको नाताको समेत भर नहुने कतिपयको भनाई छ । विराटनगरका आश्रममा बस्नेहरुको पीडा धेरैको एउटै छ । संस्थागत रुपमा सञ्चालित विराटेश्वर आश्रममा समेत उतिकै संख्यामा आश्रीत रहेका छन् । यसैगरी व्यक्तिगत रुपमा वा कुनै संस्थाको संयोजनमा समेत नागरिक संरक्षणका लागि आश्रमहरु सञ्चालनमा रहेका छन् । सहयोगी मनहरुले सञ्चालन गर्ने यस्ता आश्रमहरुमा बस्नेहरुका लागि खाना, लगाउन र बास बस्ने सुविधा दिँदा मात्रै पनि सन्तानले गर्नुपर्ने कर्म मानिन्छ ।