सुत्केरी आमाका लागि स्वास्थ्य मन्त्रालयद्वारा पोषण उपलब्ध

सुत्केरी आमाका लागि स्वास्थ्य मन्त्रालयद्वारा पोषण उपलब्ध

रबिन्द्र बराल
विराटनगर । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले गर्भवती महिलाहरुलाई पोषण आहार वितरण अभियान सुरु गरेको छ । प्रसुती गराउन अस्पतालमा आउने गर्भवती महिलाको स्वास्थ्य सन्तुलन राख्न र शिशुका लागि दुध आउने पोषणयुक्त सामाग्री उपलब्ध गराउन थालिएको हो ।

स्वास्थ्य मन्त्रालयको टोलिले मोरङको रङ्गेली अस्पतालमा प्रसुती गराउन आएका महिलाहरूलाई एफ. माइक्रोन्यूट्रिएन्ट फोर्टिफाइड फूड बुधबार वितरण गरेको छ । प्रसुतीपछि सुत्केरी महिलाको स्वास्थ्य सुधार र नवजात शिशुको लागि आमाको दुध पर्याप्त निकाल्नका लागि एफ.माइक्रोन्यूट्रिएन्ट फोर्टिफाइड फूड राम्रो मानिएको छ ।

मन्त्रालयमार्फत पहिलो चरणमा ६३४ जनालाई एक हजार ९०० केजी फुड वितरण गरिने भएको छ । यसका लागि सबै जिल्ला स्वास्थ्य कार्यालयमा सामाग्री पठाइएको छ । प्रदेश सरकारले उपलब्ध गराएको पोषणयुक्त फूड दैनिक ५० ग्रामका दरले आमाले लिटो बनाएर खाँदा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्नुका साथै नवजात शिशुका लागि दुध पर्याप्त आउने बताइएको छ । एकजना सुत्केरी महिलाका लागि तीन केजी फूड उपलब्ध गराउने गरिएको छ । स्वास्थ्य मन्त्रालय सचिव डा.सुधा देवकोटासहितको टोलिले फूड वितरण गरेको थियो । उक्त अवसरमा रंगेली नगरपालिका उपप्रमुख भूमा पराजुलीसहितको उपस्थिति रहेको थियो ।

मन्त्रालयका सचिव देवकोटाले मातृ–शिशु पोषण भरणका लागि एफ. माइक्रोन्यूट्रिएन्ट फोर्टिफाइड फूड लाभदायक रहेको दावी गरेकी छिन् । उनले सुत्केरी आमाहरुले पौष्टिक आहार पर्याप्त मात्रामा नपाए त्यसको असर उनीहरुको शारिरीक, मानसिक स्वास्थ्यसँगै नवजात शिशुमा समेत पर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्