विराटनगरमा मुख्यमन्त्रीमा दावी पेस, काठमाण्डौंमा रिट दर्ता तयारी

विराटनगरमा मुख्यमन्त्रीमा दावी पेस, काठमाण्डौंमा रिट दर्ता तयारी

विराटनगर । कोशी प्रदेश मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको दाबी पेस भएको छ । नेकपा एमाले र माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा उनले दाबी पेस गरेका हुन् ।

कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश भएको हो । यो उपधारा अन्तर्गत संसदका सदस्यले बहुमत पु¥याउँदा मुख्यमन्त्री बन्न पाउने प्रावधान छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार साँझ ५ बजेसम्मको समय सीमा दिएर मुख्यमन्त्रीमा दाबी पेस आह्वान गरेका थिए । बुधबार उनको आह्वानपछि बिहीबार नै एमाले–माओवादीकोतर्फबाट कार्कीले दावी पेस गरेका हुन् । प्रदेश प्रमुखले बहुमत सांसदसहित दावी पेस भएपछि आजै मुख्यमन्त्री नियुक्त गर्नसक्ने संभावना छ ।

नयाँ मुख्यमन्त्रीमा दावी पेश गर्न लागेका कार्की यसअघि दुई पटक मुख्यमन्त्री भइसकेका छन् । २४ पुस २०७९ पहिलो पटक माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले केन्द्रमा सत्ता समीकरण फेरिएपछि १४ असार २०८० मा राजीनामा दिएका थिए । सर्वोच्च अदालतको परादेशपछि २२ भदौ २०८० मा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका कार्कीले २० असोजमा पुनः राजीनामा दिएका थिए ।

केन्द्रमा पुनः एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपछि कार्की तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । कार्कीलाई एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थन छ ।
२०८० असोज २७ गते केदार कार्की सरकार गठनको अन्तिम विकल्प उपधारा ५ अनुसार नै मुख्यमन्त्री नियुक्त भएका थिए । नेपाली कांग्रेसका ८ सांसदसहित विद्रोह गरेका केदार कार्कीलाई एमालेका ३९ सांसदले समर्थनमा बनेका थिए । मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले दावी पेस गरेपछि काँग्रेसका केदार कार्की भने त्यसविरुद्ध सर्वोच्च अदालतमा अदालत रिट दायर गर्ने तयारीमा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्