आरोही कामिरिता २९औँ पटक सगरमाथाको चुचुरोमा

<span class='c1'>आरोही कामिरिता २९औँ</span> <span class='c2'>पटक सगरमाथाको चुचुरोमा</span>

काठमाडौँ । आरोही कामिरिता शेर्पाले आज बिहान २९औँ पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्नुभएको छ । उहाँले वसन्त ऋतुको जारी आरोहणमा कामिरिताले सगरमाथाको सफल आरोहण गर्दै आफ्नै नाममा रहेको कीर्तिमान तोड्नुभएको हो ।

पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार कामिरिताले आइतबार बिहान सगरमाथाको चुचुरोमा २९औँ पटक पाइला टेकेर विश्व कीर्तिमान बनाउनुभएको हो । उहाँका अनुसार यस यामको आरोहण सुरु भएयता आजसम्म ७० भन्दा बढीले सगरमाथा आरोहण गर्नुभएको छ । सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुनुहुन्छ ।

सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका कामिरिताका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामिरिता शेर्पा हुनुहुन्छ । अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो ।

यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गत शुक्रबारदेखि सुरु भएको थियो । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले शुक्रबार बेलुका सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । ‘सगरमाथा हिमालचुलीको शिखरसम्म मिली बाटो निर्माण (रोप फिक्सिङ) गर्ने काम सम्पन्न भएसँगै टोलीमा संलग्न १० जना आरोहीबाट सगरमाथाको यस सिजनको पहिलो आरोहण सम्पन्न भएको थियो ।

विभागको पर्वतारोहण शाखाका अनुसार यो याममा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन् । अझै एक÷दुई टोली बढ्नसक्ने विभागले अनुमान गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्