विराटनगर । विद्यालय तहदेखि नै लोकतान्त्रिक विधि र प्रकृयाको अभ्यास गराउन विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले विद्यार्थीको प्रमुख तथा उपप्रमुख चयनका लागि निर्वाचन गराएको छ ।
आम निर्वाचनमा जस्तो सम्पूर्ण प्रकृया पुरा गराएर सम्पन्न निर्वाचनले एक वर्षे कार्यकालका लागि प्रमुख र उपप्रमुख निर्वाचित गरेको हो । आधारभूत र माध्यामिक दुई तहका लागि प्रमुख (प्रिफेक्ट) र उपप्रमुख ( डिपुटी प्रिफेक्ट) निर्वाचित भएका हुन् ।
प्रमुख र उपप्रमुखले विद्यार्थी र विद्यालयका बिचमा बसेर समन्वय गर्ने तथा विद्यार्थीको हकहितमा भूमिका खेल्नेछन् । आधारभूत तहमा प्रमुखमा कक्षा ८ की अविज्ञा घिमिरे निर्वाचित भएकी छिन् । उप प्रमुखमा पनि कक्षा ८ कै हर्षितप्रताप सिंह निर्वाचित भएका छन् ।
पाँच जना प्रतिष्पर्धिका बीच उहाँहरु निर्वाचित हुनुभएको प्रमुख निर्वाचन आयुक्त तथा विद्यालयका सहायक प्राचार्य नारायण कडरीयाले जानकारी दिएका छन् । यस्तै माध्यामिक तहमा ५ जना प्रतिष्पर्धि सबैभन्दा बढी मत ल्याएर प्रेम खतिवडा प्रिफेक्ट बन्दा ८ जना प्रतिष्पर्धिमा सबैभन्दा बढी मत ल्याएर आयुस्मा गिरी उपप्रमुख निवाचित भएका छन् ।
प्रजातन्त्रको मूल्य मान्यता सिकाउँदै नेतृत्व विकास गराउनका लागि निर्वाचनका सबै प्रकृया पुरा गराइएको प्रिन्सिपल टिकाराम पुरीले बताएका छन् । । उनले विद्यार्थीमा सहकार्य, समन्वय र प्रतिष्पर्धि बन्न अभिप्रेरित गर्ने तथा प्रतिष्पर्धामा हार र जितलाई स्वभाविक रुपमा लिन सिकाउने विश्वास ब्यक्त गरेका छन् ।