काठमाडौँ । लेखक विन्दु अधिकारी ढकालको तेस्रो कृति ‘कोपिलाका सुगन्ध’ शनिबार सार्वजनिक गरिएको छ । विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वको बाल्यकालको संस्मरण सँगालोका रूपमा ‘कोपिलाका सुगन्ध’ कृति सार्वजनिक गरिएको हो ।
सीताराम–पदमकुमारी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा हास्य कलाकार हरिवंश आचार्यले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वको बाल्यकाल समेटिएको कृतिमा आफूले समेत स्थान पाउँदा खुसी लागेको बताए ।
लेखक चन्द्र घिमिरेले कृतिमाथि चर्चा गर्दै ४९ जना व्यक्तित्वको बाल्यकाल समेटिएको र यसले समाजको समग्र चित्र प्रदर्शन गरेको बताए । “प्रत्येक मान्छे कथा बोकेर बाँच्छ । त्यो लेखिएमा कथा बाँच्छ, नलेखे मर्छ । कतिले आफ्ना कथा लेख्छन् । कतिले अरूका कथा लेख्छन् । लेखिका विन्दुले अरूका कथा लेखेर जीवन्त बनाउनुभएको छ” उनले भने । हास्य कलाकार मनोज गजुरेल र कवि एसपी कोइरालाले लेखनको क्षेत्रमा सफलताका लागि शुभकामना व्यक्त गर्दै ‘कोपिलाका सुगन्ध’ बालबालिकाले पढ्नुपर्ने बताए ।
लेखक विन्दु अधिकारी ढकालले विशिष्ट व्यक्तित्वको बाल्यकालको संस्मरण लेख्ने क्रममा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिंदैे कृति आम पाठकको मन मनमा बस्नेमा विश्वास ब्यक्त गरिन् । पुस्तक सार्वजनिक समारोहमा देशका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।