इन्दु साह
विराटनगर । विराटनगरमा पुराना संरचना धेरै छन् । पुराना संरचना भएको शहरलाई व्यवस्थित बनाउने योजना भने स्थानीय सरकारसँग छैन । व्यक्तिका घर सडक सीमा क्षेत्र भित्र परेका कतिपय भत्काउन लगाएपनि त्यसपछि महानगरपालिकाले नक्सा पास नभएका संरचनाका लागि समेत अवसर सिर्जना गरेको छ ।
महानगरपालिकाले सडक मापदण्ड मिचेका संरचनालाई समेत खासै अनुगमन गरेको पाइदैन । सडक सीमा मिचेर बनिसकेका घरहरुको अनुगमन नहुँदा त्यसले दिर्घकालिन रुपमा पार्ने असरको यकिन हुन सकेको छैन । जनसंख्याको चाप अनुसार बढ्दै गएका सवारीको संख्याका हिसाबले सडक विस्तारको दिर्घकालिन प्रभाव मूल्याकंनमा महानगरपालिका कमजोर देखिएको छ । महानगरका सडकछेउका केहि संरचना हटाउनु पर्ने वा संशोधन गर्नुपर्ने देखिएपनि धेरै प्राथमिकतामा राखिएको देखिदैन ।
भवन तथा भवन संहिता एवम निर्माण इजाजत शाखा प्रमुख ईन्जिनियर राकेश कुमार ठाकुरका अनुसार तत्काल महानगरसंग कुनै संरचनाहरु हटाउन लगाउने वा संशोधन गर्न लगाउने योजना छैन । पुराना संरचना हटाउन चुनौती रहेकोले तत्काल कुनै योजना बनाउन नचाहेको हो । महानगरले तोकेको सडक मापदण्ड भित्र परेका पुराना संरचनाहरु हटाउन निकट भविष्यमा योजना बन्न सक्ने संभावना रहेपनि तत्काल सुरुवात भने गरिएको छैन ।
नयाँ संरचना बनाउनेहरुले भने मापदण्ड अनुकुलनै बनाईरहेका छन् । नयाँ भवन निर्माण गर्दा महानगरले अनुगमन गर्दा नक्सा पास नगरी बनाइएको संरचना भए महानगरमा उपस्थित भई नक्सा पास गर्न लगाउने गरिएको छ । विराटनगर भित्र जुन सुकै तथा जस्तो सुकै भवन निर्माण गर्दा महानगरपालिकासंग अनुमति लिनुपर्ने हुन्छ । विराटनगर पुरानो शहर भएकोले यहाँ पुराना संरचना नयाँ बनेका भवनहरु नक्सा अनुसार नभए अथवा मापदण्ड विपरीत भए महानगरले निगरानी राख्ने गरेको महानगरको दावी छ । यदि कुनै मापदण्ड विपरीतका नयाँ संरचना निर्माण भएको पाईएमा महानगर प्रहरीको टोलीले अनुगमन गरी उक्त घरधनीलाई महानगर भवन तथा भवन संहिता एवम निर्माण इजाजत शाखामा पेस गराईन्छ ।
सडक विस्तारका क्रममा महानगरसंग सम्झौता गरी भत्काईएका संरचनाहरुमा केहि घरधनीहरुले तला थपी बाटोको नालादेखि माथि संरचना विस्तार गरेका छन् । नक्सा पास नगरी घरहरु निर्माण गर्ने कार्य रोक्नका लागि नगररक्षक, वडाकार्यालय मार्फत समेत अनुगमन भईरहेको ईन्जिनियर राकेश कुमार ठाकुर बताउछन् । महानगरले अनलाइन घरनक्सा पास निवेदन दर्ता गर्ने सम्वन्धी सूचना समेत जारी गरेको छ । यदि पुराना घरहरुको नक्सा पास नभएको भएपनि त्यस्तालाई दायरामा आउनका लागि अहिले छुट दिने गरिएको छ । तर, मापदण्ड भित्र रहेका घरहरु मात्रै सहज रुपमा पास हुने गरेका छन् ।
विराटनगर महानगरपालिका क्षेत्रभित्र नयाँ निर्माण हुने र अभिलेखिकरण गर्ने अवधी भरका लागि दर्ता गर्ने घर तथा अन्य संरचनाको नक्सा पास तथा अभिलेखिकरण गर्न निवेदन दर्ता गर्दा महानगरको कार्यालयको नीति बमोजिम मिति २०८० साल फाल्गुन १ गतेदेखि अनलाइन प्रक्रियाबाट महानगरपालिकामा सुचिकृत परामर्शदाता मार्फत घरनक्सा दर्ता गराउन मिल्छ ।