विराटनगर । नेपाली राष्ट्रिय फुटबल टोलीको गोलकिपिङ प्रशिक्षकमा विराटनगरका मनिष तिम्सिना नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले तिम्सिनालाई राष्ट्रिय पुरुष फुटबल टोलीको गोलकिपिङ प्रशिक्षकमा नियुक्त गरेको हो । तिम्सिना एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स हासिल गर्ने पहिलो नेपाली समेत हुन् ।
यस्तै एन्फाले राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरे नियुक्त गरेको छ । नियुक्त भएका दुवै जनालाई एन्फाका महासचिव किरण राईले शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।
यसअघि नेपाली टोलीको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल र गोलकिपर प्रशिक्षकमा विनोद डङ्गोल थिए । कटुवाल र डङ्गोलको सम्झौता सकिएपछि एन्फाले उनीहरूको ठाउँमा घिमिरे र तिम्सिनालाई नियुक्त गरेको हो ।
नेपाली राष्ट्रिय टोलीले फिफा विश्वकप छनोटको दोस्रो चरणको खेलमा आउँदो जुन ६ मा यूएईसँग खेल्दैछ ।