विराटनगर । श्री विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गत मानगढ खानेपानी आयोजनाको नयाँ कार्यसमितिको निर्वाचन आगामी जेठ १९ गते तय भएको छ । निर्वाचन घोषणा भएसँगै २०५४ सालमा स्थापित आयोजनामा नेतृत्व लिने दौडमा तीन समुह उपभोक्ताको घरघरमा मत माग्न व्यस्त भएका छन् ।
स्थापनाकालदेखि यसको अध्यक्ष रहेका राम घिमिरे, विराटनगर–३ का समाजसेवी लालमणी भट्टराई र दुर्गा चापागाई मैदानमा रहेका हुन् । दलगत निर्वाचनको प्रभाव रहेको मानगढमा अध्यक्ष रहेका घिमिरेलाई यस पटक भट्टराईले चुनौती दिदैं उमेदवारी दिएका छन् । उनीहरु दुवैजना एमाले निकट हुन् । घिमिरेले मानगढ खानेपानीमा गएदेखि त्यसको पारदर्शिता नअपनाएको आरोप चौतर्फी छ । त्यहि बीचमा एमाले भित्रैबाट घिमिरेको विकल्पमा भट्टराईलाई अगाडी सारिएको छ ।
भट्टराई दलगत भन्दा पनि सामाजिक व्यक्तिको रुपमा बढी परिचित छन् । उनलाई मानगढको अध्यक्षको रुपमा निर्वाचत गराउनका लागि एमाले भित्रको एउटा पंक्ति सक्रिय छ, सामाजिक रुपमा क्रियाशिलहरुले समेत उनलाई मतदान गर्नुपर्ने आवाज उठाई रहेका छन् । घिमिरे र भट्टराईको आन्तरिक पार्टी पंक्ति भित्रै विभाजन देखिएपछि त्यसको फाइदा लिन काँग्रेसले दुर्गा चापागाँईलाई अगाडी सारेको छ । चापागाई यस अगाडीको निर्वाचनमा समेत अध्यक्षको प्रत्यासी भईसकेकी छिन् । उनले एमाले भित्रको विभाजनबाट फाइदा लिने योजनासहित मतदातासम्म पुगेर मत मागिरहेकी हुन् ।
चार अर्ब आसपासको आयोजनामा छ हजार उपभोक्ता रहेका छन् । विराटनगरकै आधुनिक खानेपानी आयोजनाको पानी वितरण प्रणाली केहिवर्ष अगाडीसम्म उत्कृष्ट थियो । तर, पछिल्लो समय पानीमा फोहोर आउने समस्या बारम्बार दोहोरिने गरेको छ । उपभोक्ताले पानीमा देखिएको समस्या बारेको गुनासो राख्न उपभोक्ता समितिका अध्यक्षसम्म पुग्न नपाएको समेत गुनासो गर्दै आएका छन् । लामो समयदेखि नेतृत्व लिएका कारण घिमिरेको स्थानमा अर्को व्यक्ति ल्याउनु पर्ने लबिङ भएपछि भट्टराईलाई विकल्पको रुपमा सारिएको हो ।
मतदातासँग मत माग्दै घरदैलो गरिरहेका भट्टराईले कसैलाई कुनैपनि किसिमको दोष लगाउने भन्दा पनि आयोजनालाई नयाँ ढंगले चलायमान बनाउनका लागि आफ्नो उमेदवारी रहेको बताए । उनले आफू वितगको नेतृत्वलाई दोष लगाएर उमेदवार नभएको बताउँदै भने–म वा हामी पनि अझै सक्षम छौं भनेर काम देखाउने उद्देश्य हो । उनले सामाजिक संस्थामा पार्टीको आधिकारिक उमेदवार भन्ने नहुने बताउँदै भने–पार्टीको उमेदवार हुने अलग ठाउँ छ, यो स्वतन्त्र मतदाताहरुका लागि स्वतन्त्र नेतृत्व हुनुपर्ने ठाउँ हो । भट्टराईले २५ वर्षदेखि एउटै व्यक्ति पदमा बसेपछि अन्यले पनि अवसर पाउनुपर्छ भन्ने मान्यता नदेखिनु दुखद् रहेको बताए ।
यसैगरी अध्यक्ष प्रत्यासी चापागाँईले घिमिरेले राम्रो काम गरेपनि अब बिश्राम लिनुपर्ने समयमा समेत बारम्बार उमेदवारी दिने कुरा राम्रो नभएको बताइन् । उनले सकारात्मक नकारात्मक टिप्पणी गर्नुभन्दा पनि प्रजातान्त्रिक प्रणालीाबट यस पटक महिलालाई स्वतन्त्र संस्थाको नेतृत्वमा पठाउने मतदाताको मनसाय रहेको बताएकी छिन् । अघिल्लो निर्वाचनमा तीनसय मत कम भएर आफूले हारेको भएपनि यस पटक निर्वाचित भएर संस्थालाई थप प्रगतिमा डोहो¥याउने योजना रहेको चापागाईको भनाई छ ।
यसैगरी २५ वर्षदेखि मानगढ खानेपानी आयोजनाको नेतृत्व गरिरहेका घिमिरेले आफूले संस्था स्थापना गरेदेखि सुधारका काम गर्दै आएको दावीसहित मत मागिरहेका छन् । घिमिरे सबैको क्षमताले भ्याउन नसक्ने काम आफ्नो नेतृत्वमा भएको दावी गरे । अब चारवटा आयोजनाका अधुरा काम गरेर नेतृत्वबाट बिदा लिने उनले बताए ।