काठमाडौं । सहसचिवबाट गत सातामात्रै सचिवमा बढुवा भएका खेमराज ज्ञवालीलाई सरकारले नायव महान्यायाधिवक्ता नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले न्याय सेवा आयोगको निर्णयलाई वैधानिकता दिने निर्णय गरेको हो ।
यसैगरि ज्ञवालीसँगै सहसचिवबाट सचिवमा बढुवा भएका यमबहादुर बुढामगरलाई न्याय परिषद् सदस्य र भद्रकाली पोखरेललाई सर्वोच्च अदालतको रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले बताएकी छन् । उनले भनिन्, ‘नेपाल न्याय सेवा तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा खेमराज ज्ञवाली, यमबहादुर बुढामगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरि क्रमशः नायब महान्यायाधिवक्ता, न्याय परिषद् सदस्य र रजिष्ट्रार पदमा पदास्थापना गर्ने निर्णय गरेको छ ।’
यसका साथै, राष्ट्रपति रामचन्द्र पौडेलको भ्रमण स्वीकृत गर्ने, वन ऐनको दोस्रो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने र तिलगंगा आखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद समक्ष पेस गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको छ । उनले भनिन्, ‘राष्ट्रपति रामचन्द्र पौडेलको नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जेठ ३१ गते स्वीटजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन र त्यसपछि संघीय गणतन्त्र जर्मनीको भ्रमणको कार्यक्रम पनि रहेको हुनाले, भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ । वन दोस्रो संशोधन नियमावली २०८१ स्वीकृत गरिएको छ र तिलगंगा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद समक्ष पेस गर्न स्वीकृति दिने निर्णय भएको छ ।’