विराटनगर । विराटनगर महानगरपालिकाको बजार क्षेत्र व्यवस्थापनका लागि नयाँ अवधारणा कार्यन्वयनमा ल्याउनु पर्ने सुझाव दिइएको छ । महानगरपालिकाको यातायात व्यवस्थापन समितिका संयोजक तीर्थेन्द्र न्यौपानेको संयोजकत्वमा गठित समितिले सवारी पार्किङ, सडक पेटी, मोटरसाइकल ग्यारेज, बिद्यालय तथा अस्पताल र बैकिङ क्षेत्रसँगका कार्यालयको समेत विषय समेटेर प्रतिवेदन तयार पारेको हो ।
गत बैशाख २७ गते महानगरपालिकामा सर्वपक्षीय छलफल राखेर विराटनगरको बजार व्यवस्थापनका लागि गर्नुपर्ने कार्य प्रतिवेदन तयार पार्न समिति गठन भएको थियो । विराटनगर–११ का अध्यक्ष समेत रहेका न्यौपानेको संयोजकत्वमा गठित समितिले प्रतिवेदन तयार पारिसकेको हो ।
सर्वपक्षीय सरोकारवाला सम्मिलित समितिमा मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशी, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, विराट व्यापार संघका अध्यक्ष अंशु बञ्जारा, खुद्रा व्यापार संघका अध्यक्ष सञ्जयकुमार सिंह मण्डल, जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन न्यौपाने, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र यातायात कार्यालयका प्रतिनिधि समेत रहेका थिए । समितिको सदस्यसचिवमा महानगर प्रहरीका प्रमुख राजन पौडेल रहेका छन् ।
समितिका संयोजक न्यौपानेका अनुसार बजार क्षेत्रमा सवारी आवागमन वन–वे प्रणाली लागु गरिने भएको छ । शहरका प्रत्येक चौकदेखि ५० मिटर आसपासको दुरीमा पार्किङ निषेध गर्न सुझाव दिइएको छ । यसैगरी शहरको सडकपेटी पूर्ण रुपमा खाली गर्न, व्यापार गर्नेहरुले अटेर गरेमा कारवाही गर्न, मोटरसाइकल मर्मत सेन्टरहरुलाई मुख्य सडक भन्दा भित्र वा सडक पेटी प्रयोग भएको भए हटाउन, विद्यालयहरुलाई सवारी पार्किङ क्षेत्र तोक्न र पार्किङस्थलबाटै विद्यार्थीलाई चढाउने तथा ओराल्नुपर्ने व्यवस्था गराउन सुझाव दिइएको छ । यसैगरी अस्पतालहरुलाई आफ्नो पेरीफेरीको सडक भन्दा बाहिर पार्किङस्थल निर्माण गर्न, बैंक तथा वित्तीय संस्थाहरुलाई अनिवार्य पार्किङस्थल तोक्न लगाउनु पर्ने सुझाव समेत प्रतिवेदनमा समेटिएको छ ।
संयोजक न्यौपानेले अध्ययन समितिले सर्वसम्मत रुपमा तयार पारेको प्रतिवेदन महानगरपालिका प्रमुख÷उपप्रमुखलाई चाँडै हस्तान्तरण गरिने जानकारी दिएका छन् । बजारलाई सहज र सर्वसुलभ बनाउनका लागि १७ वटा क्षेत्रमा सुधार गर्नुपर्ने सुझाव दिइएको छ । जसमध्ये सडक पेटीमा निर्माण सामाग्री राख्न नपाउने, सडक ढाकेर कुनैपनि पण्डाल तथा टेन्ट टाँग्न नपाउने, उत्पादन भएको फोहोर वस्ती तथा सडक नजिक फ्याँक्न नपाउने जस्ता विषय समेत समेटिएका छन् ।