काठमाडौँ। सगरमाथा आरोहण गरेर फर्कने क्रममा चौथो शिविरमा निधन भएका विनोद बाबु बस्ताकोटीको शुक्रबार अन्त्येष्टि गरिएको छ।
उनी पोखरा महागनरपालिका वडा नम्बर २६ का बासिन्दा हुन्। सगरमाथाको सफल आरोहण पश्चात आधार शिविरतर्फ फर्कने क्रममा जेठ ९ गते साँझ ५ बजे फर्किने क्रममा अल्टिट्युट सिनेसले गर्दा ३७ वर्षीय बस्ताकोटिको मुत्यु भएको हो।
बस्ताकोटीको पार्थिव शरीरलाई पोखरा बजार परिक्रमापछि पोखरा सभागृहमा श्रद्धाञ्जलीका लागि राखिएको थियो। श्रद्धाञ्जली अर्पणमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङलगायत पुगेका थिए।
राष्ट्रिय झण्डा, पोखरा महागनरको झण्डा ओढाएर बस्ताकोटीलाई श्रद्धाञ्जली अर्पण गरिएको छ। बस्ताकोटीको मरेखरे घाटमा आजै दाहसंस्कार गरिएको छ।
आरोहण गरेर फर्कने क्रममा सगरमाथाको चौथो शिविर पुग्न लाग्दा ८ हजार २०५ मिटरको उचाइमा उनको मृत्यु भएको पर्यटन विभाग अस्थायी फिल्ड कार्यालय सोलुखुम्बुले जनाएको छ। बस्ताकोटी १६ वर्षदेखि पर्यटन व्यवसायमा क्रियाशिल थिए।
स्वर्गीय बस्ताकोटीलाई पोखरा महानगरपालिका वडा नम्बर २६ ले वडा रत्न घोषणा गरेको छ।