विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजका बिवेक सुवेदी देशभरीमा द्धितीय भएका छन् ।
त्रिभुवन विश्व विद्यालयले लिएको परीक्षामा सुवेदी बीबीएस प्रथम वर्षको परीक्षामा द्धितीय भएका हुन् ।
सोमबार सार्वजनिक भएको नतिजा अनुसार सुवेदीले ८०.६० प्रतिशत ल्याएर देशभरीमा सुवेदी द्धितीय भएको हिमालय दर्शन कलेजका क्याम्पस प्रमुख भरत सापकोटाले दाबी गरेका छन् । सुवेदी हिमालय दर्शन कलेजका २०७८ ब्याजका विद्यार्थी हुन् । टियूले गत वर्षको वैशाखमा परीक्षा लिएको थियो । भोजपुरको रामप्रसादराई गाउँपालिका ३ घर भएका सुवेदी विराटनगरमा बस्दै आएका छन् । २० वर्षीय सुवेदीले कक्षा १२ विराटनगर स्थित शिक्षादीप कलेजबाट गरेका थिए । उनी निजामती कर्मचारी पनि हुन् ।
१९ वर्षको उमेरमा उनले पाँचौ तहमा नाम निकाल्न सफल भएका छन् । उनी अहिले विराटनगर महानगरपालिकामा कार्यरत छन् ।
बीबीएस प्रथम वर्षको परीक्षामा देशभरीमा द्धितीय भएपछि कलेजले उनलाई बुधबार सम्मान गरेको छ । कलेज परिसरमा उनलाई सम्मान गरेको हो । देशभरीमा द्धितीय भएपछि सुवेदीले यो सफलताको श्रेय कलेजलाई दिन चाहने बताए । ‘कलेजका शिक्षकहरूले राम्रोसँग पढाएको र मैले मेहनत गरेको कारणले अहिले यो सफलता मिलेको हो,’ सुवेदीले भने ।