विराटनगर । वरिष्ठ उद्योगपति एवम् समाजसेवी दीनबन्धु गोयलले धरौटीको रकम दाखिला गर्न नसकेर कारागारमा बसिरहेका ९ बन्दीको धरौटी रकम बुझाइ दिएर उनीहरूलाई मुक्त गराएका छन् ।
समाजसेवी गोयलले झापाको भद्रपुर कारागारमा बन्दीको जीवन बिताइरहेका ९ जनाको उद्धार गरेका हुन् । नेपालमा कुनै पनि समाजसेवीले कैदीबन्दीको धरौटी बापतको रकम बुझाइदिएर निज कैदीलाई कारागारबाट मुक्त गराएको यो पहिलो घटना हो ।
कैदमुक्त हुने बन्दीमा तिलक खड्का, नरबहादुर लिम्बू, मन्जुर आलम, अम्बरबहादुर घतानी, सुरज तिम्सिना, मौसम चिस्कू, दीपेश मुन्डा, नेमचाम आलम र विनय थापा थापा छन् ।अदालतले उनीहरूलाई विभिन्न अभियोगमा बिगोबमोजिमको धरौटी राख्न आदेश दिएको थियो । तर गरिबीका कारणले उनीहरूले धरौटीको रकम राख्न सकेका थिएनन् । यस्तो धरौटीको रकम ५ हजारदेखि २० हजार रुपैयाँसम्म थियो ।
बुधबार झापा कारागारमा भएको कार्यक्रममा समाजसेवी गोयलका तर्फबाट ९ बन्दीको कुल धरौटी रकम ९१ हजार रुपैयाँ बुझाइएको थियो । यसपछि उनीहरू तत्काल कारामुक्त भएका थिए ।
कार्यक्रममा अधिवक्ता सुरज खत्री, वैतनिक अधिवक्ता तारा वाराकोटी, उद्योगीद्वय विनय गोयल र दीपेश ढकाल, कारागार प्रमुख रेवन्त भट्टराई र कारागारका चौकीदार ताराकुमार लावतीको उपस्थिति थियो ।