विराटनगरमा उल्टो बग्छ पानी, डुब्छ बस्ती

विराटनगरमा उल्टो बग्छ पानी, डुब्छ बस्ती

विराटनगर । वर्षात् लाग्यो विराटनगरमा डुबानको समस्या सामान्य जस्तै हो । कंक्रिटले भरिएको शहरमा वर्षात्को पानीलाई जमिनले सोच्न सक्दैन । आकाशबाट दर्केजति नालामा, नालामा नअँटेको सडकमा, सडक पोखरी भएपछि बस्तीका घर डुबाउँछ । विराटनगरको उत्तर भन्दा क्रमशः यसको जोखिम दक्षिणमा बढी छ । सिंघीया–केशलियामा उर्लिएको बाढीले तटिय क्षेत्रलाई हैरान मात्रै पार्दैन विस्थापित नै गरिदिन्छ ।

डुबानको कारण खोज्दा ‘निकास बिनाको विकास’को असर भन्ने प्रचलन छ । तर, विराटनगर–३ कन्चनबारीको राजबंशी टोलमा बस्तीको पानी नालामा नभई नालाको पानी फर्किएर बस्तीमा जाने समस्या छ । पुरानो बस्तीमा अव्यवस्थित नाला छ । त्यसमा पनि सबै नाला जोडिएको छैन । आधा भाग जोडिएको नालाबाट पानीको निकास हुनुपूर्व बस्तीलाई पोखरीमा परिणत गर्दै आएको छ । कोशी राजमार्ग निर्माण भएपछि कन्चनबारीको यो वस्ती झन् जोखिममा पर्दै आएको छ । कन्चनबारी चौकमा होमपाइप राखिएको छ, त्यसबाट सबै पानी निकास हुँदैन । कन्चनबारी पूर्व ठूलोमिलसम्मको कन्चनमार्गको नाला बस्तीभन्दा उचाईमा छ । जुन नालामा आएको पानी राजबंशी टोलतर्फ जाने गरेको हो । कन्चनमार्गको नालाको पानी कोशी राजमार्गको नालामा निकास सहज छैन ।

विराटनगर–३ डुबान प्रकोप प्रभावित सूचीमा छैन । तर, वर्षेनीको पानीले भने राजबंशी टोललाई नडुबाई बिदा भएको छैन । पूर्व गाविस सचिव तथा स्थानीय पदमबिनोद घिमिरे कन्चनमार्गको नाला डाउन गरेर राजबंशी टोल जाने नालाको व्यवस्थापन नगर्दासम्म समस्या यथावत रहने बताउँछन् । उनले विराटनगर–३ का वडा अध्यक्ष बासुबहादुर बस्नेतलाई र महानगरपालिकाका शहरी पूर्वाधार विकास महाशाखा प्रमुख अर्जुन थापालाई आफूले जानकारी गराएकोले आगामी वर्षको बजेटमा समेटिने आसा रहेको बताए ।

२०७४ सालमा उक्त बस्ती पुरै डुबेको थियो । त्यसपछि २०७८ सालमा समेत त्यहाँको अवस्था नाजुक बनेको थियो । वर्षेनी डुब्ने सामान्य हो, नाजुक बनाउने वर्ष कहिले हो पत्तै हुन्न । तत्कालिन नगर प्रमुख भीम पराजुलीको घरदेखि ५०० मिटर पश्चिम–उत्तरको क्षेत्रमा डुबान हुँदा उनी पहिलो पटक हाफपाइन्ट लगाएर पुगेका थिए । भर्खरै निर्वाचन भएको बेला २०७४ मा उनको कम्मरसम्म पानी पुगेपछि उनी आधा भागबाट फर्केका थिए । फर्केर कन्चनबारी चौकमा आएपछि आगामी वर्ष पानीको निकासका लागि बजेट व्यवस्थापन गर्ने बाचा कसेको स्थानीय बताउँछन् । त्यसका आधारमा त्यसको प्राविधिक स्टिमेट तयार पारिएको थियो । जसमा कन्चनमार्ग डाउन गर्न ५७ लाख र झरिलाल राजबंशीको घरदेखिउत्तरतर्फ १ करोड ३० लाखमा आरसिसी नाला निर्माण गर्ने उल्लेख थियो । तर, स्टिमेट बाहेक उनको पालामा केहि भएन । २०७८ मा बाढी आउँदा स्थानीयले आफ्नो बस्ती अनुगमन गर्न बोलाउँदा पराजुली नगएको बताइन्छ ।

कन्चनमार्गबाट झरिलाल राजबंशीको घर उत्तरतर्फ प्रवेश गरेपछि महाबीर राजबंशीको घरसम्म सडक सतह उच्च रहेको छ । महावीर राजबंशीको घरदेखि उत्तरतर्फको भाग होचो छ । विराटनगर महानगरपालिकाको बजेटबाट उक्त सडकको एकतर्फको ५५ मिटर दुरीमा नाला निर्माण गरिएको थियो । बस्तीको पानी त्यो नालाबाट कन्चनमार्गको नालामा आउनुपर्नेमा उल्टो कन्चनमार्ग नालाको पानी बस्तीतर्फ बग्ने समस्या दोहोरियो । कारण, कोशी राजमार्ग अन्तर्गत कन्चनबारी चौकमा कन्चनमार्गको पानीे निकास व्यवस्थापन कमजोर छ । कन्चनमार्गको नाला भरिएर फर्किएपछि त्यहाँको पानीले राजबंशीटोलतर्पmको नालाबाट निकास खोज्ने गरेको छ ।

वर्षेनीको यो पीडा भोग्नेहरुका लागि सामान्य बनिसकेको छ । सडक संरचनासँगै नालाबाट पानीको निकास सहज भईदिएको भए शहरले हरिबिजोग सहनु पर्ने थिएन । तर, कोशी राजमार्ग विस्तार हुँदा पूर्व–पश्चिम पानी निकास (अन्डरपास) बन्द भएका छन् । जसको असर विराटनगरको ढाटदेखि रानीसम्म परिरहेको छ । त्यति मात्रै नभई कोशी राजमार्गको नालाले बस्तीको पानी निकासमा सहयोग गर्दैन । बरु राजमार्गको पानी बस्तीमा पस्दै आएको छ । उत्तरतर्फबाट यसरी अव्यवस्थित निकासको पानी जम्दै दक्षिणतर्फसम्म पुग्दा त्यहाँको अवस्था झन् जटिल रहेको छ । विराटनगर महानगरपालिकाले विराटनगर–१५ को पानीको निकासका लागि हाईवे समानान्तर नाला खोल्ने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्