विराटनगर । विराटनगर–५ स्थित जामुनगाछी सडकमा परेको खाल्डामा बिहीबार एउटा सिटी लोडर पल्टियो । हुलाकी सडक आयोजना अन्तर्गत विराटनगरको गणेशचौक–केशलियासम्मको सडक निर्माण आलटाल भएको नौवर्ष बित्यो । जग्गा धनीले विवाद गरेपछि साइडक्लियर नभएको ठाउँ छोडेर बाँकी क्षेत्रको काममा ठेकेदार कम्पनीले काम गरिरहेको छ ।
बिहीबार सिटी लोडर पानी जमेको खाल्डामा पल्टिएपछि धेरैले विराटनगर महानगरपालिकालाई गाली गरे । तर, यो सडक हुलाकी राजमार्ग अन्तर्गत पर्ने भएकोले क्षेत्राधिकार बारे धेरैमा ज्ञान देखिएन । यो सडक संघीय सरकार मातहत पूर्वाधार निर्माण अन्तर्गत पर्दथ्यो । गाली विराटनगर महानगरपालिकालाई गरिएको थियो ।
सडकको अवस्था कमजोर भएको ठाउँमा पल्टिएको सिटी लोडरको क्षमतामा पनि प्रश्न उठाउने ठाउँ भने प्रशस्त थिए । दिउँसो सिटी लोडर पल्टिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनिरहेको थियो । साँझ विराटनगर–३ वन कार्यालय अगाडीको सडकमा सिटी सफारीले छतमा समेत सामान लोड गरेर सडकमा गुडिरहेको थियो । सवारीको मेकानिकल क्षमता भन्दा बढी भार लोड भए त्यो स्वतः असन्तुलन हुने र पल्टिने संभावना हुन्छ । यसले जोखिम निम्त्याउँछ । यसको नियन्त्रण गर्ने जिम्मेवार निकाय ट्राफिक प्रहरी हो ।
मोरङ ट्राफिक प्रहरीका प्रमुख सुमन न्यौपानेले प्रशस्त कारवाही गरेपनि शहरमा सिटी नियन्त्रणविहीन अवस्थामा रहेको बताएका छन् । उनका अनुसार चालु आर्थिक वर्षमा मात्रै विभिन्न कारणले एक हजार ६६३ सिटी, अटो र टेम्पो कारवाहीमा पर्दा नौलाख ५६ हजार जरिवाना भराइएको छ । आर्थिक वर्ष २०७९\२०८० मा तीन हजार ३३१ कारवाही हुँदा २० लाख ९३ हजार जरिवाना भराइएको तथ्यांक छ ।
सिटी वा अटोलाई मालवस्तु लोड गर्ने कानुनी मान्यता नै हुँदैन । यदि कसैले मालवस्तु लोड गरेको देखेमा कारवाही गर्न योग्य मानिन्छ । सिटी लोडरमा यात्रु बोक्न पाइदैन तर सामाग्री बोक्न पाइन्छ । मापदण्ड अनुसार एकहजार ५०० वाट बिसीको सिटी लोडरमा ८०० केजी तौल लोड गर्न मिल्छ ।
विराटनगर महानगरपालिकामा मात्रै तीन हजार ५०० सिटी रहेको तथ्यांक छ । महानगरपालिकामा दुई हजार २०० को दर्ता छ । आसपासका गाउँपालिकावासीले समेत विराटनगरमा यात्रु संभावना हेरेर सिटी गुडाउने गर्दछन् । महानगर प्रहरी निरीक्षक राजन पौडेलका अनुसार दैनिक दश हजार सिटीको फ्लो हुने गरेको छ ।
यात्रु मात्रै बोक्न पाउने सिटीमा भारी समेत लोड गरेर ट्याक्टरको काम लगाउँदा हुने दुर्घटना अझै बढ्न सक्ने संभावना रहेको सम्बन्धित क्षेत्रका अधिकारीहरुको बुझाई छ । धेरै संख्यामा भएका सिटीले यात्रु नपाउँदा बिकल्पको रुपमा मालवस्तु लिएर हिड्ने गरेका छन् । त्यसमा पनि पैसाको लोभमा दुई ट्रिप लगाउनु पर्ने सामान एकै ट्रिपमा डाला नाघेर बोक्ने गर्दा दुर्घटना जोखिम हुने गरेको छ । सिटीमा रड, सिमेन्ट जस्ता वस्तु समेत लोड गरेर सडकमा गुडाउने गरिएको छ । जसले गर्दा दुर्घटनाको संभावित जोखिम अझै बढ्ने ट्राफिक प्रहरीकै भनाई छ ।