आर्थिकमन्दीमा पनि विराटनगरमा १ अर्ब १५ करोडका योजना सञ्चालन
विराटनगर । आन्तरिक आय खुम्चिएपनि विराटनगर महानगरपालिकाले पूर्वाधार निर्माणका योजनालाई प्राथमिकता दिएर अगाडी बढाएको छ । महानगरपालिकालाई आर्थिकमन्दि लागेपनि एक अर्ब १५ करोडभन्दा बढीका योजना अहिले पनि चालु अवस्थामा रहेका छन् ।
विराटनगरका १९ वटै वडामा १ अर्ब १५ करोडभन्दा बढीका ठूला साना परियोजना सञ्चालन रहेको दावी गरिएको छ । वडास्तरमा एक करोडमाथिका योजनाहरु कार्यन्वयनको चरणमा रहेको बताइएको छ । महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सीमित बजेटको परिधिलाई व्यवस्थित परिचालन गरेर विकासका कामलाई प्राथमिकतामा राखिएको बताएका छन् ।
उनले वडा नम्बर १ मा २ करोड ११ लाखको लागतमा बाल उद्यान, १ करोडको लागतमा वडा कार्यालय भवन, वडा नम्बर २ मा ५ करोडको लागतमा सन्ध्याकालीन आरतीस्थल, ४ करोडको लागतमा त्रिभुवनमार्गमा कालोपत्रे निर्माणाधीन चरणमा रहेको जानकारी दिए । यसैगरीवडा नम्बर ५ मा १२ करोडको लागतमा महानगर बहुप्राविधिक शिक्षालयको भवन, १ करोडको लागतमा डिपीएस दक्षिणमा नाला र सडक निर्माणाधिन रहेको बताएका छन् ।
प्रमुख कोइरालका अनुसार वडा नम्बर ६ मा ५ करोड ३८ लाखको लागतमा विएफएम अगाडिको सडक अब कालोपत्रे हुन मात्रै बाँकी रहेको जानकारी दिएका छन् । वडा नम्बर ७ मा १७ करोडको लागतमा प्रधानमन्त्री पार्क, १४ करोड ७५ लाख रुपैयाँको लागतमा महानगरको प्रशासनिक भवन, वडा नम्बर ७ मै २२ करोडको लागतमा निर्माण भएको वीरेन्द्रसभा गृह हस्तान्तरणको चरणमा पुगेको उनको दावी छ । वडा नम्बर ७ स्थित श्मसान घाट जाने सडकको निर्माण पनि चालु अवस्थामा रहेको छ ।
विराटनगर–८ स्थित विश्वकर्मा चोकदेखि रेल्वे हुँदै सिंघियासम्मको सडक पनि धमाधम निर्माण भइरहेको उनको दावी छ । वषौंदेखि जीर्ण रहेको विराटनगर बसपार्कदेखि पश्चिम पिचरा जाने सडक करिब १ करोडको लागतमा नालासहित कालोपत्रे सम्पन्न भएको छ । विराटनगर–११ को केशलिया रोडदेखि रानीसम्मको नहरको डिलको सडक निर्माणका लागि ६ करोडमा ठेक्का लागिसकेको छ । विराटनगर–१२ लेखनाथ वाचनालयदेखि पश्चिम १ करोडको लागतमा नाला, विराटनगर–१३ आँखा अस्पताल अगाडिको सडक ३ करोडको लागतमा निर्माण भइरहेको जानकारी दिइएको छ ।
यसैगरी १४ नम्बर वडास्थित भगवती मार्गको सडक पनि १ करोडको लागतमा धमाधम निर्माण भइरहेको उनले बताएका छन् । महानगरको बहुवर्षीय योजनाअन्तर्गत वडा नम्बर १४ मा रानीपोखरी र मण्ठापोखरीको काम भईरहेको जानकारी दिइएको छ ।
भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थापाका अनुसार ठूला योजनाहरुको काम धमाधम भईरहेकोले कतिपय अवस्थामा दैनिक हिडँडुल व्यवस्थापन असहज हुने गरेको छ । जसको गुनासो स्थानीयवासीले गर्नु जायज भएपनि काम भईरहेको अवस्थामा त्यसलाई सहज मान्नुपर्ने उनको भनाई छ ।
महानगरपालिकाले १५ नम्बर वडामा एक करोड लागतमा सुँडी टोलस्थित नाला र सडक निर्माण, १ करोडकै लागतमा १६ नम्बर वडाको आर्जे क्लिनिक पूर्व तथा परागमान श्रेष्ठको घर अगाडिको सडक निर्माण भई रहेको जानकारी दिइएको छ । यसैगरी १७ नम्बर वडाको मटेरुवा चोकदेखि पूर्वको सडक, १८ नम्बर वडाको फडानी चोकदेखि नहर हुँदै उत्तर निर्माण भइरहेको सडकको लागत पनि १ करोड रहेको जनाइएको छ ।
विराटनगर–१८ स्थित विराट राजाको दरबार उत्तरमा रहेको पोखरीलाई करिब ८० लाख रुपैयाँको लागतमा आकर्षक बनाइएको जानकारी दिइएको छ । वडा नम्बर १९ मा पर्ने पञ्चकन्या मार्गको सडक पनि १ करोडको लागतमा निर्माण भइरहेको छ ।
चालु आर्थिक वर्षको बजेटबाट वडास्तरका १ करोडभन्दा मुनि लागतका दर्जनौं योजनाहरु सम्पन्न हुने क्रममा रहेको थापाले जानकारी दिएका छन् । विगत दुई वर्षको अवधिमा २० किलोमिटर कालोपत्रे भएको छ भने ४२ किलोमिटर नयाँ सडकमा ग्राभेल गरिएको तथ्यांक रहेको छ । विराटनगरमा मात्रै दुईवर्षको अवधीमा १ सय ५२ वटा कल्भर्ट निर्माण गरिएको छ ।
वडास्तरमा पनि कालोपत्रे, ग्राभेल, रिटेरिङ वाल, विभिन्न सामुदायिक भवनको निर्माण तीव्रता पाएको छ । महानगरको निरन्तरको अनुगमनले गुणस्तरीय सँगै सम्झौताभन्दा अगाडि नै धेरै योजनाहरु सम्पन्न भइरहेको उपमेयर शिल्पा निराला कार्कीको दावी छ । जनप्रतिनिधि, कर्मचारी, निर्माण व्यवसायी र स्थानीयवासीको समन्वयकारी भूमिकाकै कारण महानगरका दर्जनौं योजनाहरु बिना अवरोध अगाडि बढिरहेको दावी गरिएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले विकासका कामहरुमा तिव्रता पाईरहेको भएपनि केहि योजनाहरु रकामान्तर भएर नयाँ सुरु गर्नुपर्ने भएकोले असारे विकास जस्तो देखिने गरेको दावी गरेका छन् । सम्झौता भएका तर विभिन्न कारणले अवरोध सिर्जना भएपछि स्थगीत गर्नुपर्ने अवस्थाका योजनाको रकम अर्को योजनामा लगेर काम गर्नुपर्दा ढिला हुने गरेको हो ।