विराटनगर । विराट नर्सिङ होमले एकजना बालकको निःशुल्क उपचार गरिरहेको छ । गत जेठ ५ गते भर्ना गरिएका बालकका अभिभावकसँग पैसा अभाव भएपछि विराट नर्सिङ होमले उपचारलाई प्राथमिकतामा राखेर सेवा दिइएको हो ।
भारतीय नागरिक सबिरन खातुनले आफ्ना १२ वर्षीया छोरा कलामलाई टाउकोमा गम्भीर चोट भएको अवस्थामा अस्पताल ल्याएकी थिइन् । बालकको टाउकोमा गम्भीर चोट भएका कारण उपचार रोकेर बस्न नसक्ने अवस्था देखिएको थियो । तर, अभिभावकले पैसा नभएको बताएपछि चिकित्सकहरुले अवस्थालाई मध्यजनर गर्दै उपचार सुरु गरेका थिए ।
भारतबाट उपचारका लागि उक्त बालक आमाको साथमा आएका छन् । आमासँग समेत आफ्नो परिवारको सम्पर्क कमजोर देखिएको छ । जसका कारण उपचार गराउने तत्काल रकम जम्मा हुने देखिएन। तर, अस्पताल परिसरमा आईसकेका बिरामीको अवस्था गम्भीर देखिएपछि चिकित्सकहरुको टोलीले तत्काल उपचार गर्नुपर्ने धारणा बनाएको अस्पतालका प्रशासन प्रमुख पदम बिनाँडीले बताए।
उपचारमा संलग्न चिकित्सक इमरजेन्सी फिजिसियन कन्सल्टेन्ट डा.संज्ञा ज्ञवालीका अनुसार भारतमै दुर्घटना भएर सख्त घाईते बालकको अवस्था कमजोर रहेको थियो । अस्पताल भर्ना गर्दा ताका उनको होस समेत थिएन । त्यस्तो अवस्थामा बिरामीका आफन्तले पैसा जम्मा गरेर उपचार गर्ने भन्ने कुरा व्यवहारिक थिएन। डाक्टर ज्ञवालीका अनुसार उपचारको पाटो चिकित्सक र अस्पताल प्रशासनले व्यवस्थापन गरेपनि बाँकी बाहिरी विषयमा बिरामीका लागि सहयोगको जरुरी रहेको छ ।
प्रशासन प्रमुख बिनाडीले बालकको थप उपचारसहित उनको रेखदेख र खानपीन तथा आमा समेतको दैनिक खर्चका लागि सहयोग आवश्यक परेको छ । यसका लागि सहयोगीदाताहरुले ईच्छा अनुसार गर्न सके घाईते बालक र आमाको दैनिक जीवन सहज हुनसक्ने बताइएको छ ।