मोरङका १७ पालिकाले ल्याए बजेट, सडक पूर्वाधार प्राथमिकतामा

<span class='c1'>मोरङका १७ पालिकाले ल्याए</span> <span class='c2'>बजेट, सडक पूर्वाधार प्राथमिकतामा</span>

विराटनगर । कृषि र सडक पूर्वाधारलाई प्राथमिकतामा राख्दै मोरङका १७ स्थानीय तहले बजेट सार्वजानिक गरेका छन् । आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट, नीति तथा कार्यक्रममा कृषि र पूर्वाधारलाई प्राथमिकीकरण गरिएको हो ।

विराटनगरको आम्दानी घट्दो
विराटनगर महानगरपालिकाले ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँको बजेट सोमबार प्रस्तुत गरेको छ । बजेटमा चालु र पुँजीगततर्फ ३ अर्ब ४४ करोड ९८ लाख ८६ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै वित्तीय व्यवस्थातर्फ ५ करोड रुपैयाँ विनियोजन गरी ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको हो । आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको तुलनामा १३ करोडले बढी हो ।
विराटनगर महानगरपालिकाको आन्तरिक आम्दानी घटेको छ । अघिल्लो आर्थिक वर्षमा ६४ करोड रुपैयाँ राजस्व आम्दानी गरेकोमा चालु आर्थिक वर्षमा महानगरको आम्दानीमा भारी गिरावट आएको हो । चालु वर्ष १ अर्ब २ करोड रुपैयाँ राजस्व आम्दानी गर्ने अनुमान गरेको महानगरले जेठ मसान्तसम्म ४७ करोड रुपैयाँमात्र सङ्कलन गरेको छ ।
असार मसान्तसम्म करिब ५५ करोड राजस्व सङ्कलन हुन सक्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षको आम्दानीको तुलनामा झण्डै १५ प्रतिशत कम आम्दानी गरेको महानगरले आगामी आर्थिक वर्ष चालु वर्षको तुलनामा ८ करोड बढी राजस्व सङ्कलन हुने भन्दै १ अर्ब १० करोड आन्तरिक आयको अनुमान गरेको छ ।

पथरीशनिश्चरेमा ८५ करोड
यस्तै मोरङको पथरीशनिश्चरे नगरपालिकाले ८५ करोड ४१ लाख ८ हजार रुपैयाँको बजेट नगरसभामा प्रस्तुत गरेको छ । पथरीशनिश्चरेले चालु खर्च १३ करोड ४५ लाख, कार्यक्रम खर्च २ करोड ६३ लाख, पुँजीगत तथा कोष व्यवस्थापनका लागि २० करोड ५१ लाख २८ हजार, आर्थिक विकास १ करोड ४५ लाख, सामाजिक विकासतर्फ ४ करोड २५ लाख, वन वातावरणतर्फ १५ लाख, सुशासन र संस्थागत विकासतर्फ १३ लाख, वडा पुँजीगत ६ करोड ३० लाख, न्यायिक समितिलाई सशर्त २० लाख र समपूरक अनुदान खर्च ३६ करोड ४३ लाख ८० हजार रुपैयाँ खर्च हुने अनुमान गर्दै बजेट ल्याएको छ । उक्त पालिकाले चालु आर्थिक वर्षका लागि ७८ करोड ९१ लाख ७५ हजार २४३ रुपैयाँको बजेट ल्याएको थियो ।

लेटाङमा ६० करोड
उता लेटाङ नगरपालिकाले ६० करोड ८५ लाख ५७ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरसभामा पालिकाका नगर उपप्रमुख कृष्णकुमारी निरौलाले प्रस्तुत गरेको बजेटमा आन्तरिक आयबाट ३ करोड ७१ लाख ५० हजार, राजस्व बाँडफाँटबाट १७ करोड ७२ लाख १५ हजार, नेपाल सरकारको वित्तीय हन्तान्तरणबाट ३६ करोड ८ लाख ७० हजार, प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट २ करोड ९८ लाख ४९ हजार र अन्य अनुदान ३५ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ । यो पालिकाले चालु आर्थिक वर्षका लागि ७५ करोड ९ लाख ७ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको थियो ।

रतुवामाईमा ७८ करोड ९० लाख
मोरङको रतुवामाई नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७८ करोड ९० लाख ३३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । बजेटमा कृषि र सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिइएको छ । जसमा सबै किसानलाई सिँचाइको विद्युत् महसुल निःशुल्क गर्ने, एम्बुलेन्स र शव बाहन निःशुल्क गर्ने, क्याम्पस पढ्न चाहने बुहारीलाई निःशुल्क शिक्षा दिइने, ८० वर्ष उमेर माथिकालाई प्रतिमहिना १ हजार पोषण खर्च दिने, विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा र सबै सरकारी विद्यालयको पुरानो जस्तापाता हटाइ नयाँ लगाइदिने कार्यक्रममा उल्लेख छ ।

मिक्लाजुङमा ७७ करोड
उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिकाले पनि ७७ करोड ४५ लाख ५ सय रुपैयाँको बजेट ल्याएको छ । बजेटमा ४३ करोड ६ लाख १९ हजार रुपैयाँ चालु खर्च र ३४ करोड ४४ लाख ५६ हजार ५ सय रुपैयाँ पुँजीगत खर्च छ ।

कटहरीमा ५० करोड
मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५० करोड ८२ लाखको बजेट बिहीबार प्रस्तुत भएको थियो । गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले प्रशासनिक तथा सञ्चालन खर्च ११ करोड ६८ लाख ८४ हजार र पुँजीगत ३८ करोड ३१ लख ९८ हजार विनायोजन भएको बजेट प्रस्तुत गरेकी हुन् ।

सुन्दरहरैंचामा एक अर्ब ८२ करोड
यसैबिच मोरङको सुन्दरहरैंचा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८२ करोड ६१ लाख ७९ हजार २४८ रुपैयाँको अनुमानित बजेट ल्याएको छ । उपप्रमुख अकली चौधरीले चालुतर्फ ७५ करोड २९ लाख ४३ हजार ५ सय रुपैयाँ र पुँजीगततर्फ १ अर्ब ६ करोड ६७ लाख ३५ हजार ७४८ रुपैयाँ विनियोजन जानकारी दिएकी हुन् ।

उर्लाबारीमा एक अर्ब ५ करोडको बजेट पारित
मोरङको उर्लाबारी नगरपालिकाले १ अर्ब ५ करोडको बजेट पारित गरेको छ । असार ५ गते नगरसभामा प्रस्तुत उक्त बजेट सोमबार पारित गरेको हो । प्रस्तुत बजेटमा चालुतर्फ ४२ करोड ८१ लाख र पुँजीगततर्फ ६२ करोड ३५ लाख ३३ हजार ५ सय रुपैयाँ छुट्ट्याइएको छ । बजेटमा कृषि, सडक, पूर्वाधारलाई प्राथमिकता दिइएको छ ।

जहदा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६३ करोड ७६ लाख ३४ हजार बराबरको बजेट ल्याएको छ । बेलबारी नगरपालिकाले ९७ करोड १५ लाख ८५ हजार बराबरको बजेट ल्याएको छ । केराबारी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ७८ करोड ४० लाख ४४ हजारको वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ । सुनवर्षी नगरपालिकाले ६२ करोड ८१ लाख रुपैयाँको बजेट ल्याएको छ भने रंगेली नगरपालिकाले ७२ करोडको बजेट ल्याएको छ । मोरङकै ग्रामथान गाउँपालिकाले चालुतर्फ ४२ करोड र पुँजीगततर्फ २२ करोडको बजेट ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्