इन्दु साह
विराटनगर । विराटनगरमा प्लाष्टिकजन्य वस्तुको प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरिएको छ । विराटनगर महानगरपालिकाले प्लाष्टिक झोला प्रतिबन्ध कार्ययोजना, २०७८ लाई कार्यान्वयन गर्ने तयारी गरेको हो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत महानगरपालिकामा प्लाष्टिक झोला प्रयोग न्यूनीकरण गर्न कपडाको झोला प्रयोगमा ल्याउने उपायहरु अवलम्बन गर्ने उल्लेख गरिएको हो ।
आगामी नयाँ आर्थिक वर्षको प्रारम्भसँगै साउनदेखि प्लाष्टिक जन्य वस्तुको प्रयोगमा नियन्त्रण गर्ने तयारी गरिएको हो । महानगरपालिका सरसफाई शाखा प्रमुख पुनम दाहालले ४० माइक्रोन भन्दा कमका प्लाष्टिक झोलालाई प्रयोग प्रतिबन्ध लगाउने तयारी भईरहेको जानकारी दिएका छन् । ‘बिहानको चियाको लागि खरिद गर्ने दूधदेखि सागसब्जीसम्म किनमेलमा प्लाष्टिककै झोला हुन्छ’ दाहालले भने–विराटनगरको फोहोरको मुख्य कारण नै प्लाष्टिक बनिरहेको बेला यसको प्रयोग न्यूनीकरणमा सबैले साथ दिनुपर्छ ।
दैनिक जसो विराटनगरको विभिन्न स्थलमा लाग्ने हटियामा समेत उपभोक्ताले व्यापारीसंग प्लाष्टिककै झोलामा तरकारी प्याक गर्न माग्ने गरेका छन् । यदि कुनै व्यापारीले झोला नदिएमा उपभोक्ताले त्यहाँबाट तरकारी नै किन्दैनन् । उपभोक्ताकै कारण घरमा भित्रिएको फोहोरले महानगरपालिकावासीलाई असर गरिरहेको छ ।
महानगर वातावरण महाशाखाको वातावरण ईन्जिनियर सुदिक्षा कार्कीका अनुसार संघीय सरकारको कार्ययोजना अनुसार कार्यविधी बनाएर कार्यान्वयन गरिनेछ । उनले ४० माइक्रोन भन्दा कमको प्लाष्टिक प्रयोगमा निरुत्साहित गर्नुपर्ने आवश्यकता रहेको बताइन् । कार्यविधिले तयार गरेर प्लास्टिकजन्य पदार्थ प्रयोगलाई निरुत्साहन गर्ने अभियाननै चलाउने महानगरको तयारी रहेको छ । महानगरले तयार गरेको कार्यविधिमा ४० माईक्रोन भन्दा कमको प्लाष्टिकलाई प्रयोग गर्न नपाईने, ४० माईक्रोन भन्दा माथिको प्लास्टिक सक्दो कम प्रयोग गर्ने अथवा विकल्पमा कपडाको झोला प्रयोग गर्न प्रोत्साहन गर्ने रहेका छन् । प्लाष्टिक हाम्रो दैनिक प्रयोगमा आइरहेको छ भने, अर्कोतिर चाडो नगल्ने, नसड्ने गुणको कारण पर्यावरण र जनस्वास्थ्यका लागि खतरा बन्दै गएको छ ।
फोटो:फाइल