प्रेम देवान
विराटनगर । बर्खे पानीको निकास नहुँदा विराटनगरका अधिकांश भागहरु डुबानमा परेका छन् । मंगलबार र बुधबार बिहान १ बजेदेखी परेको अविरल बर्षाका कारण विराटनगर लगायत अन्य आसपासका गाउँपालीकाहरु डुबानमा परेका छन् । रातभरीको भारी वर्षाले विराटनगर महानगरपालिकाका विभिन्न वडाका बस्ती डुबानमा परेका छन्।
विराटनगर महानगरपालिका वडा नम्बर ४, ५, ६, ८,९, १०, ११ र १२ ,१३, १४ १५, १६ र दक्षिणीभेगका अधिकांश भागहरु डुबानमा परे । सडकका नालाको पानी निकास हुन नसक्दा स्थानीयको घर-घरमा पानी पसेपछि जनजीवन प्रभावित बनेको छ । उता सिंघिया खोला र केशलिया खोलाको पानी पनि ओभर फ्लो भएर आसपासका बस्तीका घरमा पानी छिरेको छ ।
सबैभन्दा बढी विराटनगरको दक्षिणी भेग डुबानमा परेका छन् । विराटनगर १२ मा रहेको सम्पन्न बस्तीसहित विभिन्न क्षेत्र डुबानमा परेको वडा अध्यक्ष हिरालाल कामतले बताए । डुबानबाट प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिसकेको कामतले जानकारी दिए ।
त्यस्तै विराटनगर १२ र १६ मा पर्ने दरैया बस्तीको केही घरहरु डुबानमा परेका छन् । विराटनगरको उत्तरक्षेत्रबाट च्याङ्खबारी हुँदै आएको पानीले दरैया बस्तीका केही घरहरु डुबानमा परे ।
तालिम केन्द्र हुँदै दरैया बस्ती छिर्ने बाटोमा बाढी आएपछि आउजाउमा समस्या भएको थियो । बखरी मङगलवा हुँदै बगेर आएको बाढीले स्थानीयको घरमा पसेपछि स्थानीयवासीले घरका पशुजन्य घरपालुवा जनवारहरु सुरक्षित स्थान तर्फ राखेका छन् ।
सो क्षेत्रमा पानी नसुकेपछि ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षका प्रकाश थापाको नेतृत्वमा आएको सुरक्षाकर्मीको टोलीले डुबान भएको स्थानमा डोरी बाधेर स्थानीयलाई आउजाउ गर्नको निम्ती सहयोग प्रदान गरेको थियो ।
यता स्थानीयवासी भने डुबान भएको लामो समय वितिसक्दा पनि स्थानीय जनप्रतिनिधीहरु नआएको भन्दै आक्रोश व्यक्त गरिरहेका थिए ।
यता जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको आंशिक प्रभाव रहेकाले अझै केहीदिन पूर्वी क्षेत्रका विभिन्न स्थानहरुमा भारी वर्षा हुने भएकाले तटीय क्षेत्र र डुबान भइरहने भू–भागका बासिन्दालाई सकतर्कता अपनाउन आग्रह गरेको छ ।