इन्दु साह
विराटनगर । बुधबार विहानदेखि विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेर घरपरिवार प्रभावित बने । राजमार्ग, सहायकमार्गमा समेत पानीको वहाव खोलामा झैं बनेर वस्ती पस्दा विराटनगर जलमग्न भएको थियो ।
विराटनगर महानगरपालिकाले समेत नसोचेको डुबान समस्या आएको भनेको थियो । बुधबार पानीको निकास दिन नसक्दा बिहीबार दिउँसोसम्म पनि घरमा पसेको पानी सुकेको छैन ।
बिहीबार बिहान समेत पानीको निकास खोज्न दवाव दिदैं प्रभावित परिवारले वडा अध्यक्षलाई दवाव दिए । महानगरपालिका आउनेहरुको संख्या समेत कम थिएन । तर, विराटनगर महानगरपालिकासँग कति घर डुबे भन्ने तथ्यांक अझै छैन । विराटनगर–१४ का वडा अध्यक्ष सुर्यनारायण महतोले पानी काटेर डुबान कम गर्न बिहीबार बिहानैदेखि काम भईरहेको बताए । उनले नागरिकको दवाव थेग्न मुश्किल रहेको छ ।
विराटनगर महानगरपालिका विपद् प्रतिकार्य व्यवस्थापनकी अनिता न्यौपानेले तथ्यांक नै नआएको बताइन् । महानगरपालिका नगर प्रहरी निरीक्षक राजन पौडेलले बाढी तथा डुबानबाट प्रभावितको यकिन तथ्यांक नभएको बताए । उनले बिहान अलिअलि डुबेपनि साँझमा सबै घर फर्किएकोले विस्थापित हुने स्थिति नरहेको बताए ।