विराटनगर । होटल संचालिकाको कुटपिटबाट विराटनगरमा एक जनाको मृत्यु भएको छ ।
विराटनगर १९ बैजनाथपुरका ५० वर्षीय बिरबल गोसाइको उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।
उनी कुटपिटबाट घाइते भएका थिए । उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको हो ।
बिरबललाई विराटनगर १९ बैजनाथपुरमा होटल संचालन गर्ने ३५ वर्षीय तीलादेवी ऋषिदेवले कुटपिट गरेको आरोप छ । बिरबलको मृत्यु भएपछि होटल संचालिका ऋषिदेवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए। ‘ऋषिदेवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ,’ उनले भने, ‘अहिले घटनाको थप अनुसन्धान भइरहेको छ ।’ पोस्टमार्टम गर्ने तयारी गरिएको छ । पोस्टमार्टम रिपोर्ट पछि मात्रै थप विषय खुल्ने उनले बताए ।
शनिबार साँझमा मदिरा खान तिलादेवीको होटलमा बिरबल पुगेको स्थानीयले बताएका छन् । तेही बीचमा उनीहरुबीच भनाभन भएको थियो । आवेगमा आएकी तिलादेवीले बीरबललाई आक्रमण गरी घाइते बनाएका थिए । उनको शरीरमा चोटपटक पनि लागेको छ । घाइते भएका विरबल आइतबार बिहान अचेत अवस्थामा भेटिएका थिए । स्थानीयले उनलाई कोशी अस्पताल लिएर आएका थिए । आइतबार दिउँसो ३ बजे उपचारको क्रममा बिरबलको मृत्यु भएको अस्पतालले जनाएको छ ।