विराटनगर । विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण सुरु भएको छ ।
प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा विराटनगरमा बुधबारदेखि उक्त तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव पुर्शराम बस्नेत (कृष्ण) बस्नेतले गरे । कार्यक्रममा बोल्दै उनले किशोरीहरुलाई आत्मरक्षाको लागि यस्तो तालिमले ठूलो सहयोग पुग्ने बताए । उनले तालिममा सहभागीहरूलाई शुभकामना दिँदै तालिमबाट प्राप्त गरेका ज्ञानलाई व्यवहारमा लागू गर्दै साथीलाई समेत सिकेका कुरा बुझाउन आग्रह गरे ।
उनले तालिमसँगै हिंसा विरुद्ध सचेतना पनि फैलाउन आवश्यक रहेको बताए । कार्यक्रमको संयोजक तथा नेपाल खेलकुद महासंघकी केन्द्रीय सदस्य सन्तोषी श्रेष्ठले महिलाहरुलाई सेल्फ डिफेन्स तालिमले आत्मरक्षाको लागि ठूलो सहयोग पुर्याउने बताइन् । यस्तो तालिम प्रदेश सरकारले गरिनुपर्नेमा जोड दिइन् । कार्यक्रममा समृद्ध समाज नेपालकी अध्यक्ष कला डाँगीले पछिल्लो समय महिलाहरु असुरक्षित बन्दै गएको र उनीहरूको आत्मबल बढाउने उद्देश्य तालिमको आयोजना गरिएको बताइन् ।
आत्मरक्षा तालिममा मोरङका सामुदायिक विद्यालयका ८ देखी १२ कक्षामा अध्ययरत १०८ जना किशोरीहरुको सहभागि रहेको छ । तीन दिनसम्म संचालन हुने तालिमको प्रशिक्षकहरुमा चन्द्रकला प्रसाइ, मनकुमारी लिम्बु, पवित्रा शर्मा र योग प्रशिक्षकमा लक्ष्मी घिमिरे रहेकी छिन् ।