विराटनगर । विराटनगरको कन्चनबारी चौकपूर्व ठुलोमिलसम्मको नाला २०६८ सालमा निर्माण गरिएको थियो । कन्चनबारी चौकदेखिको पानी ठूलोमिल पश्चिममा रहेको घोघापैनीबाट निकास दिने गरि नाला निर्माण गरियो । तर, घोघापैनी स्वार्थमा पुरेर बाटो बनाएपछि कन्चनबारी क्षेत्रको पानीको निकास रोकियो । जसको प्रभाव स्थानीयले वर्षेनी डुबानमा पर्नु परेपछि अहिले घोघापुरेर बाटो बनाउन संलग्नहरुको स्वार्थ खोज्दै स्थानीयले आन्दोलनको तयारी गरेका छन् ।
विराटनगर महानगरपालिका ३ प्रकोप स्तरीकरणमा डुबान प्रभावित क्षेत्रमा समेटिदैन । तर, वर्षेनी कोशी राजमार्गको पूर्व ढाटदेखि दक्षिण कन्चनबारीसम्मको क्षेत्र डुबानमा पर्दै आएको छ । वर्षेनी डुबान प्रभावित बन्नु परेपछि वडा नम्बर ३ का प्रभावितहरुले आगामी शनिबार संघर्षका कार्यक्रम घोषणा गर्न भेला आयोजना गर्ने भएका छन् । पानीको निकासका लागि उचित योजना निर्माण गरेर कार्यान्वयनमा ल्याउन माग गर्दै चरणवद्ध आन्दोलनमा उत्रने तयारीस्वरुप भेला आयोजना गरिएको कन्चनबारीका पदमबिनोद घिमिरेले जानकारी दिए ।
भेलाले घोघापैनी बाटोमा रुपान्तरण भएपछि छेकिएको पानीको निकासका लागि कन्चनमार्गको ४० मिटर नाला दुई फिट डाउन गरेर कन्चनबारीको साइफनमा जोड्नुपर्ने, कोशी राजमार्ग निर्माण गर्दा कन्चनबारी चौक उत्तरतर्फ आर्या हस्पिटल अगाडीको नालमा राखिएको होमपाइप झिकेर आरसीसी नाला निर्माण गरिनृुपर्ने र कोशी राजमार्गको ढाटदेखि पूर्व कन्चनबारीसम्म समानान्तर नाला निर्माण गर्नुपर्ने मागको विषयमा एकमत बनाउन छलफल गर्ने भएको छ ।
यसैगरी दिर्घकालिन रुपमा सिंघीया केशलिया खोलाको पानीको वहाव वस्तीमा पस्ने गरेको क्षेत्रको यकिन गरेर बालुवा झिक्नुपर्ने, वर्षात्मा सुनसरी–मोरङ सिंचाई आयोजनाले नहरमा छोड्दै आएको पानी नियन्त्रण गर्नुपर्ने, भूमिगत जलसतह घट्दै गएकोले ट्यूबेलमा पानी आउन छोडेका कारण महानगरपालिका क्षेत्र भित्रका सार्वजानिक जग्गा यकिन गरेर पोखरी निर्माण गर्नेपर्ने, भवन मापदण्ड परिमार्जन गर्नुपर्ने, कोशी राजमार्गको पश्चिमतर्फको नालामा पानी नबग्ने भएका कारण राजमार्गको पानी पूर्वतर्फको नालाले मात्रै थेग्नु पर्दा डुबान हुने गरेकोले ढाटबाट बाइपास गरिनुपर्ने, नहर, नदी, तलाउ भएका क्षेत्र मिच्ने कार्य रोक्न पहल गर्नुपर्ने, कोशी राजमार्गको पूर्व–पश्चिम अन्डरपास हटाइएकोले त्यसलाई पुनः निर्माण गर्नुपर्ने माग उठाइने छ ।