देवराज तामाङ
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलो ट्राफिक लाइट विराटनगरको बरगाछी चौकमा जडान गर्न सुरु गरिएको छ।आन्तरिक मामिला तथा कानून मन्त्रालयको बजेटमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा ट्राफिक लाइट जडान सुरु गरिएको छ । यो पूर्ण सञ्चालनमा आउन भने अझै ३० दिन लाग्नेछ ।
प्रदेशको राजधानी भएर पनि विराटनगर अझै पनि ट्राफिक लाइटबिहीन छ। नेपालको दोस्रो ठूलो व्यापारिक केन्द्र र औद्योगिक सहर भए पनि विराटनगरमा एउटा पनि ट्राफिक लाइट सञ्चालनमा यो आर्थिक वर्षमा समेत आउन सकेन ।
बढ्दो सवारी साधनको चापले गर्दा यातायात व्यवस्थापनमा जटिल बन्दै गएपनि ट्राफिक लाइट व्यवस्थापन भने नभएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार, विराटनगर महानगरपालिकाभित्र दैनिक करिब ९५ हजार सवारी साधन गुड्ने गरेका छन्। यी सवारी साधनको व्यवस्थापनका लागि दैनिक ४० जना ट्राफिक प्रहरी खटिने गरेको कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए।
विराटनगरको रोडशेष, महेन्द्र चोक, शनि मन्दिर, बरगाछी, कन्चनबारी, जलजला चोक, हस्पिटल चोक र तीनपैनी चोकमा ट्राफिक लाइटको तत्काल आवश्यकता रहेको न्यौपानेले बताए । विराटनगर महानगर र ट्राफिक प्रहरीले सिटी सफारी व्यवस्थापन गर्न नसक्दा समेत ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। चोक–चोकमा ट्राफिक प्रहरीहरू मानवीय तरिकाले सवारी साधन नियन्त्रण गर्न बाध्य छन्। स्थानीय वासिन्दा निश्चल निरौलाले भने, ‘बढ्दो सवारी साधनको चापलाई व्यवस्थित गर्न ट्राफिक लाइट अत्यन्त आवश्यक छ। यसले दुर्घटना कम गर्न र समय बचत गर्न मद्दत गर्नेछ ।’
विराटनगर महानगरले ७ स्थानमा ट्राफिक लाइट जडान गर्ने योजनामा समेटेको छ। तीमध्ये पाँचस्थानमा जडान गर्न ठेक्का लगाए पनि काम भने बढेको छैन । पहिलो चरणमा ५ स्थानमा जडान गर्न सकिने यकिन गरेपनि काम भने भएको छैन । बरगाछी, कन्चनबारी, तिनपैनी, हाटखोला, रोडशेष, जलजला चौक लगायतका ७ ठाउँ ट्राफिक लाईटको लागि उपयुक्त स्थानमा छनोट गरिएको थियो । तर, बजेटको सीमाका कारण पहिलो चरणमा पाँच स्थानमा मात्रै राखिने महानगरले जनाएको छ।
बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ३:३० बजेदेखि बेलुका ६ बजेसम्मको समयमा विराटनगरको सडक अत्यधिक व्यस्त हुने गरेको छ। यस समयमा लामो जाम र दुर्घटनाको जोखिम समेत बढेको ट्राफिक प्रहरीले जनाएको छ। महानगरपालिकाले आगामी वर्षको बजेटमा ट्राफिक व्यवस्थापनलाई उच्च प्राथमिकता दिने बताए पनि विगतमा यस्ता योजनाहरू घोषणा भएर कार्यान्वयन नभएको स्थानीयहरूको गुनासो छ। विराटनगरको सडकहरुमा छिट्टै नै ट्राफिक लाइट जडान हुने विराटनगर महानगरपालिकाले जनाएको छ। विराटनगरमा ट्राफिक लाइट जडान भएमा यो कोशी प्रदेशको दोस्रो ट्राफिक लाइट भएको सहर हुनेछ। हाल इटहरी प्रदेशको एक मात्र ट्राफिक लाइट भएको सहर हो।
यो अवस्थाले नेपालको सहरी विकास र आधुनिकीकरणमा रहेका चुनौतीहरूलाई उजागर गरेको स्थानीयहरूको भनाइ छ। विराटनगरका सडकहरू ट्राफिक लाइटको प्रतीक्षामा रहेका छन्, तर कहिले र कसरी यो योजना कार्यान्वयन हुन्छ भन्ने कुरा अझै अनिश्चित छ।