विराटनगर । गत असार २४ गते विराटनगर–१३ घर भई विराटनगरको श्रीअस्पताल अगाडी होटल सञ्चालन गर्दै आएको परिवारका २७ वर्षीय बिट्टु भनिने विरेन्द्र महासेठले चिनजान भएका एकजनासँग एकैछिनलाई मोटरसाइकल मागे । विराटनगर–९ का अनिल साह सन्सारी माईस्थानमा आफ्नो पसल सञ्चालन गर्दै आएका छन् ।
उनीसँग चिनजानका बिट्टुले दश मिनेटमा बाइक ल्याई दिने भन्दै चाबी मागेका थिए । अनिलले अनकनाउँदै चाबी दिए । चिनजानमै रहेका कारण उनले चाँडै ल्याउला भन्ने सम्झे । तर, बिट्टु बिग्रिसकेका थिए । उनले अनिलसँग मागेर लगेको बाइक मोरङका् पथरीशनिश्चरे नगरपालिका–८ का रोशन चौधरीलाई बिक्री गरिदिए । को ३४ प २३५१ नम्बरको बाइक बिक्री गर्दा तमसुक लेखेका छन् कटहरी–२ का नरेश खड्काले र साक्षी बसेका छन् विराटनगर–१७ का संजीव तामाङ । असार २४ गते अनिलसँग लगेको बाइक असार २५ गते कागज गरेर पथरीका चौधरीले २५ हजार रुपैँयामा खरिद गरेको उल्लेख छ । बाइक नम्बर को ३८ प २३५१ उल्लेख गरिएको छ ।
बिट्टु बाइक बिक्री गरेर काठमाण्डौं पुगेका छन् । अनिल बाइक खोज्दै प्रहरी कार्यालय धाईरहेका छन् । तर, बाइक खरिद गर्ने चौधरीले बिलबुक बिना कसरी खरिद गरे ? तमसुक लेख्ने खड्काले कागजात बिना के आधारमा तमसुक लेखे र साक्षी बस्ने तामाङले के आधारमा साक्षी बसे भन्ने कुराले आशंका सिर्जना गरेको छ । अनिलसँग बाइकको ब्लुबुक छ । धनीसँग एकछिन्का लागि मागेको बाइक लगेर बिक्री गर्ने बिट्टुसँग साक्षी कारोबार गर्ने, साक्षी रोहबरमा बस्ने र कागज लेख्नेको नियतमा समेत खोट देखिएको भन्दै पीडितले सबैमाथि कारवाही हुनुपर्ने माग गर्ने भएका छन् ।
यो प्रक्रियामा भएको कारोबारले चोरीका मोटरसाइकल कसरी खरिद बिक्री हुँदा रहेछन भन्ने प्रष्ट देखिन्छ । मोरङ प्रहरीले घटनासँग जोडिएर बाइक खरिद गर्ने चौधरीलाई हाँजिर हुन निर्देशन गरिसकेको जानकारी आएको छ ।