विराटनगरमा धुधुवापैनी मास्न चलखेल, स्थानीयको विवाद देखाएर स्वार्थको रजाँई

<span class='c1'>विराटनगरमा धुधुवापैनी मास्न चलखेल, स्थानीयको</span> <span class='c2'>विवाद देखाएर स्वार्थको रजाँई</span>

विराटनगर । विराटनगर ४ र ५ को सीमामा पर्ने धुधुवापैनी पानीको निकासका लागि एउटा विकल्प थियो । हुलाकी राजमार्ग अन्तर्गत विराटनगर–५ गणेशचौकदेखि पुलचौकसम्म सडक तथा नाला निर्माण गर्दा जामुनगाछी र पुलचौकको बीचमा पर्ने धुधुवापैनी छेकियो । एयरपोर्टको पानी यहि धुधुवा पैनीबाट दक्षिणतर्फ निकास हुन्थ्यो । तर, धुधुवा छेकेर बनेको ड्रेनले उत्तरको पानी दक्षिणतर्फ आउन पर्खालको रुपमा काम गरिदियो ।

सडकको दुईतर्फ बनेको ड्रेनले धुधुवाको पानी लिनु अगाडी नै वस्ताको पानीमा जाम हुने समस्या भयो । धुधुवादेखि केहि दक्षिणमा वस्ता छ । ड्रेनको पानी लगेर वस्तामा मिसाइएको छ । तर, ड्रेन भन्दा वस्ता अग्लो भएपछि त्यहाँ समेत पानीको निकास उल्टो हुने गरेको स्थानीय बताउँछन् ।

सडक संरचना निर्माणका क्रममा धुधुवामा उत्तरतर्फबाट समेटिएर आउने पानी दक्षिणतर्फ पास हुन रोकियो । जसको असर जामुनगाछी क्षेत्र र विराटनगर–४ मा वर्षात्को समयमा डुबान बढ्यो । साविक धुधुवापैनीलाई सडक तथा नाला संरचनाले छुटाएको छ । हुलाकी राजमार्ग निर्माणका क्रममा पानी निकासको लागि कल्वर्ट राख्नुपर्ने माग जामुनगाछीसहित विराटनगर–४ का नागरिकले उठाए ।
त्यसका लागि धुधुवा पैनी छेकेर निर्माण भएको ड्रेनको भाग काट्नु पर्ने निष्कर्ष निकालेका थिए ।

यसै अनुसार २०८० फागुन ४ गते विराटनगर–४ का अध्यक्ष जीतन थापा र ५ का अध्यक्ष सन्तोष न्यौपानेको संयुक्त उपस्थितिमा धुधुवा खोल्न कल्वर्ट बनाउन हुलाकी राजमार्ग समक्ष सिफारिस गर्ने निर्णय गरिएको थियो । स्थानीयले गरेको पहल अनुसार दुईवटा वडाको सीमामा पर्ने धुधुवापैनीको निकासका लागि विराटनगर महानगरपालिकामार्फत स्वीकृतका लागि सिफारिस गरिमाग्ने उल्लेख थियो ।
त्यसपछि जामुनगाछीका स्थानीयले २०८० फागुन १६ गते गणेशचौकदेखि पुल्चोकसम्म ड्रेन निर्माण गर्दा जामुनगाछी र पुलचौक बीचमा पर्ने एयरपोर्टको पानी निकास गर्ने धुधुवापैनी मासिएकोले डुबान समस्या झेल्नु परेको भन्दै महानगरपालिकाका मेयर नागेश कोइराला समक्ष अनुरोध गरेका थिए । उनीहरुले पानी निकास हुँदै आएको प्रमुख नाला बन्द हुँदा ४ नम्बर वडालाई डुबानमा पारेको गुनासो गर्दै निवेदन दिएका थिए । जसलाई मेयरले पूर्वाधार महाशाखामा कारवाहीका लेखेर पठाएका थिए ।

यसैगरी विराटनगर–५ का सुशील खड्काले २०८० फागुन २३ गते धुधुवा पैनीको पानी निकासको लागि कल्भर्ट राख्न ड्रेनको केही भाग काट्न अनुमतिका लागि सिफारिस माग गर्दै विराटनगर–५ का वडाअध्यक्ष समक्ष निवेदन पेस गरेका थिए । निवेदन अनुसार वडा अध्यक्ष सन्तोष न्यौपानेले सिफारिस तयार गरेका थिए । तर, त्यो महानगरपालिकासम्म पुग्न पाएन । अध्यक्ष न्यौपानेले उक्त सिफारिसमा हस्ताक्षर नै गरेनन् ।
विराटनगर ५ ले उत्तरको पानी निकासका लागि धुधुवा खोल्नुपर्ने सिफारिस नगरेपनि २०८० फागुन २९ गते ४ नम्बर वडाअध्यक्ष जीतन थापाले कल्वर्ट बनाउन आवश्यक रहेकोले महानगरपालिकाले निर्माण गरेको ड्रेनको केहि भाग काट्नका लागि अनुमतिका लागि सिफारिसका लागि अनुरोध गरिदिएका थिए । जसमा महानगरबाट निर्मित ड्रेन आवश्यकता अनुसार काट्नका लागि अनुमति दिदैं हुलाकी सडक योजना कार्यालय इटहरी समक्ष सिफारिसका लागि अनुरोध गरिएको थियो ।

वर्षामा आउने पानीको निकासका लागि प्रयोग गर्नुपर्ने नहर तथा पैनीहरु मासिदैं गर्दा विराटनगरमा वर्षेनी डुबानको समस्या बढ्दो छ । पुरानो धुधुवापैनी मासेर निर्माण गरिएको ड्रेनले पानी निकासको विकल्प बन्न सकिरहेको देखिदैन ।

धुधुवा अवरोध हुँदा विराटनगर एयरपोर्ट समेत डुबानमा हुने समस्या रहेको स्थानीयले बताएपनि सुचना अधिकारी युवराज भण्डारीले बरगाछीमा थुनिएको पानी फर्किएर नआउने गरेको बताए । उनले केशलिया फुटेर बस्तीमा पर्ने वा अतिभारी वर्षा हुने अवस्थामा अहिलेसम्म एयरपोर्टमा पानी जम्ने गरेको बताए । तर, धुधुवापैनी मासिने अवस्थालाई रोकिराख्दा निकासका लागि उत्तम विकल्प हुने उनको सुझाव छ ।

विराटनगर–४ का वडा अध्यक्ष जीतन थापाले धुधुवा खोल्न विराटनगर–५ का वडा अध्यक्षले समेत सहमति दिईसकेको बताए । उनले धुधुवापैनी खोल्नका लागि विराटनगर महानगरपालिकाको टोलिले समेत अनुगमन गरिएको दावी गरेका छन् । उनले आफ्नो वडामा भईरहेको डुबान समस्याको एउटा हल धुधुवापैनी खोलेर पनि हुनसक्ने बताए । तर, वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपानेले भने वडावासीको ईच्छा विपरित काम गर्न नसक्ने बताए । उनीमाथि धुधुवापैनीको जग्गा हिनामिना गर्न खोजेको आरोप समेत लगाउँदै स्थानीय उत्तम दाहालले सामाजिक सञ्जालमा लेखेका समेत छन् ।

तर, न्यौपानेले ४ को पानी कटाएर ५ को धुधुवामा हाल्ने कुरा रमाइलो मार्गवासीले विरोध गरेकोले आफू केहि भन्न नसक्ने बताए । उनले धुधुवाबाट पानी आए विराटनगर ५ लाई असर गर्ने बताए । धुधुवा अतिक्रमण आफूले हटाएको जानकारी दिदैं न्यौपानेले भने–मलाई पैनीको जग्गासँग मोह छैन, कसको कता पर्छ मतलव छैन । उनले आफ्नै नेतृत्वमा दिल्ली पब्लिक स्कूलले अतिक्रमण गरेर लगाएको पर्खाल भत्काएको दावी गरेका छन् । धुधुवापैनीको समस्या स्थानीयबीच सहमति भएपछि मात्रै प्रक्रियागत रुपमा अगाडी बढ्ने दावी छ । धुधुवाको पानी केशलियामै गएर मिसिन्छ ।
धुधुवा मास्ने आशंका
हुलाकी राजमार्गको ट्रयाक यकिन भईसकेपछि सडकको दुवै क्षेत्रमा ड्रेन निर्माण गरिएको छ । यो ड्रेनले धुधुवापैनीको पानी समेत समेटेर वस्तामा पु¥याउने योजना राखिएको थियो । तर, उत्तरदेखि समेटिएर आउने पानी ड्रेनले राम्ररी पास गरिनसक्दै धुधुवापैनी मिसिने हुँदा असहज भईरहेको छ । त्यहि असहजतालाई सहज बनाउन धुधुवापैनीलाई छेकेको ड्रेन काटेर अन्डरपास बनाउनु पर्ने माग स्थानीयको थियो । त्यो मागमा वडा नम्बर ५ का अध्यक्ष न्यौपाने समेत सहमत थिए ।

तर, घटनाक्रममा धुधुवापैनी नजिक आरबी रिसोर्टको योजना अगाडी बढ्यो । धुधुवा मासेर सडक निकाल्दा त्यसको लाभ आरबी रिसोर्टलाई पर्ने देखिएपछि न्यौपानले ब्याक भएको आरोप छ । अर्कोतर्फ धुधुवा गएर वस्तामा मिसिनु अगाडी दिल्ली पब्लिक स्कूलले झण्डै ९ कठ्ठा जग्गा घेराबेरा गरेको छ । त्यो जग्गा धुधुवापैनीकै हो । वस्तामा सिमिनु अगाडीको धुधुवाको घेराबेरा हटाएको अध्यक्ष न्यौपानेले बताएपनि आवश्यक पर्दा तत्काल खाली गर्ने, त्यसबखतसम्म प्रयोग गर्ने सहमति गरेर छोडेको दावी छ ।

स्थानीयले वडा अध्यक्ष न्यौपानेले आरबी रिसोर्ट लागि धुधुवाबाट बाटो खोलिदिएपछि दिल्ली पब्लिकले ओगटेको ९ कठ्ठा जग्गाको खोजी हराउन सक्ने अनुमान गरेका छन् । पानी बग्ने पैनीको मुखै टालिसकेपछि बाँकी क्षेत्रको खासै वास्ता नहुने उत्तम दाहालको दावी छ । उनका अनुसार हुलाकी राजमार्गको ड्रेनमा धुधुवा मिसिएपनि पानी तान्दैन, त्यहाँदेखिको दक्षिणतर्फबाट बाटो निकालेरआरबी रिसोर्ट पु¥याउँदा ४ सय मिटर धुधुवा पुरिन्छ । त्यसपछिको केहि भाग छोडेर दिल्ली पब्लिक स्कूलले घेराबेरा गरेर संरक्षण गरेको जग्गामा पुगिन्छ । त्यसपछि वस्ता आउँछ ।
स्थानीयको विवाद देखाएर सार्वजानिक पैनीमा स्वार्थको रजाँई भईरहेको भन्दै कतिपयले धुधुवा खोल्नै पर्ने अडानमा अब महानगरपालिकाका प्रमुख र उपप्रमुखसँग हारगुहार गर्ने बताएका छन् । उनीहरुले धुधुवा खोल्ने मात्रै नभई पानीको निकासका लागि उत्तम विकल्पको रुपमा योजना बनाउन समेत जरुरी रहेको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्