विराटनगरस्थित मोरङ क्याम्पसमा विद्यार्थीबीच ‘लफडा’ प्रतिस्पर्धा

<span class='c1'>विराटनगरस्थित मोरङ क्याम्पसमा</span> <span class='c2'>विद्यार्थीबीच ‘लफडा’ प्रतिस्पर्धा</span>

विराटनगर । स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनपछि विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी संगठनबीच लफडा प्रतिस्पर्धाको श्रृंखला चल्न थालेको छ । सामान्य बहानामा क्याम्पस भित्र मर्यादा नाघेर गतिविधि गर्ने होजबाजी विद्यार्थीबीच सुरु भएको हो ।
गत बिहीबार बिहान क्याम्पस समयमा उपप्राध्यापक अर्जुन तामाङमाथि विद्यार्थीबीत हातपात भएको छ । यो घटनामा अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरु संलग्न रहेको आरोप छ ।

कुटपिटको घटनाप्रति विभिन्न विद्यार्थी संगठन र प्राध्यापकहरुले विरोध जनाएका छन् । तामाङलाई उनको कार्यकक्षमै पुगेर स्ववियु सदस्य समेत रहेकी अनेरास्ववियुकी नेतृ रिङ्कु चौधरी नेतृत्वको टिमले आक्रमण गरेको थियो । जसमा अनेरास्ववियुका क्याम्पस इकाई अध्यक्ष माधव पासवानसहितको संलग्न आरोप लागेको छ ।

उक्त घटनाको विरोधमा संयुक्त विज्ञप्ति प्रकाशित गर्दै महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । जसमा नेविसंघका प्रशान्त यादव, अखिल क्रान्तिकारीका रोहित यादव, समाजवादी विद्यार्थी युनियनका राकेश यादव, अनेरास्ववियू समाजवादीका गिरेन्द्र भुजेल, स्वतन्त्र विद्यार्थी मञ्चका प्रबल अधिकारी, नागरिक विद्यार्थी समाजका हरेराम शर्मा र अखिल समाजवादी (विप्लव) का भुवनेश्वर साहले स्ववियु सदस्य रिन्कु चौधरी तथा अनेरास्ववियु इकाई अध्यक्ष माधव पासवानलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।
महेन्द्र मोरङ आदर्श क्याम्पसको नेपाल राष्ट्रिय प्राध्यापक संगठनले पनि घटनामा संलग्नलाई कारबाहीको माग गरेको छ । क्याम्पस इकाई समितिका संयोजक नारायण दासले एक विज्ञप्ति प्रकाशित गर्दै उपप्राध्यापक तामाङमाथि केही विद्यार्थीहरुले अमर्यादित दुव्र्यबहार गरेको कार्य निन्दनीय र आपत्तीजन भएको जनाएको छ । उक्त संगठनले सम्बन्धित दुवै पक्षलाई यथाशीघ्र बोलाई सत्य, तथ्य के हो, बुझी समस्या समाधान गर्न माग गरेको छ ।

तामाङ महेन्द्र मोरङ क्याम्पस शिक्षा शास्त्रको कार्यक्रम संयोजक हुन्् । उनले आफूलाई आक्रमण भएको र काम गर्ने वातावरण नभएको भन्दै शिक्षा शास्त्र कार्यक्रम संयोजकबाट राजीनामा दिएका छन् । गत २०८० साउन २८ गतेदेखि मानविकी संकाय बिए दोस्रो वर्षको परीक्षा चलेको थियो । उक्त परीक्षामा उपप्राध्यापक तामाङ आन्तरिक पर्यवेक्षक थिए । पर्यवेक्षण गर्ने क्रममा एक छात्रा विद्यार्थीले चिट चोरेको देखेपछि उनले चिट खोसे । सोही आधारमा उपप्राध्यापक तामाङले तत्कालिन क्याम्पस प्रमुख बाबुराम तिम्सिनालाई चिट र निवेदन दिए । रिजल्टमा ती विद्यार्थी एक्सफेल देखिए । त्यसैलाई आधार बनाएर तामाङमाथि आक्रमण गरिएको उनको दावी छ ।
यो लफडामा एमाले निकट विद्यार्थी संगठनको संलग्नता देखिएको छ ।

यस अगाडी विराटनगरमा गत जेठ २७ गते पनि मोरङ क्याम्पसका कांग्रेस निकट नेविसंघका केही कार्यकर्ताले अन्धाधुन्द आक्रमण र गाडी तोडफोड गरेका थिए । विद्यार्थीको तोडफोड र आगजनीका कारण कोशी प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको स्कारपियो जलेर नष्ट भएको छ ।
यस्तै सरकारी नम्बर प्लेटकै बीएबी ८१८० साथै नेपाल विद्युत् प्राधिकरणको बा१ञ १८८७, बा१ञ २४१९, बागमती प्रदेश ०१–००१ ञ २७०१ र बागमती प्रदेश ०१–००१ ञ २७९० नम्बरको गाडीमा आगजनी भएको थियो । सर्वसाधरणको केही थान साइकलमा पनि विद्यार्थीले नै क्षति पुर्याइदिएका थिए ।

स्ववियुका सभापति समेत रहेका जसवन्त पौडेल र सचिव सनम ठकुरीले उक्त तोडफोडको नेतृत्व गरेका थिए । गत जेठ २४ गते साढे ४ बजेतिर रङ्गेली नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र विद्यार्थीबिच विवाद भएको निहुँमा महेन्द्र मोरङका विद्यार्थीले अराजकता मच्चाएका थिए । जिल्ला अदालत मोरङले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको भए पनि अझै पक्राउ परेका छैनन् ।

यस्तै महेन्द्र मोरङकै विद्यार्थीले केही दिन अगाडि क्याम्पसका विशेष शैक्षिक कार्यक्रम अन्तर्गत व्यवस्थापन सङ्काय निर्देशक डा. मोहन सुवेदीको कुर्सी रुखमा झुण्ड्याएका थिए । पुस्तक तथा पिउने पानीको प्रबन्ध मिलाउन नसकेको आरोपमा सुवेदीको कुर्सी रुखमा झुण्ड्याएर अराजकताको उत्कृष्ट नमूना प्रदर्शन गरेका थिए ।

यस्तै केही समय अगाडि महेन्द्र मोरङकै विद्यार्थीको अगुवाइमा परीक्षा नियन्त्रण कार्यालयको एक गाडीमा आगो लगाइएको थियो । उल्लेखित घटनामा संलग्न कसैलाई पनि कारबाहीको दायरामा नल्याएको कारण विद्यार्थीहरूले पटकपटक अराजकता मच्चाउँदै लफडामा प्रतिस्पर्धा गर्न थालेको विश्लेषण गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्