काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दान जीवनसँग सम्बन्धित विषय भएको हुनाले यसको धेरै महत्व भएको बताएका छन् ।
बुधबार डा.अजयक्रान्ति शाक्यको नयाँ कृति ‘बुद्धका मौलिक दर्शन’को लोकार्पण एवं भिक्षु एवं गुरुमाहरुलाई प्रदान गरिने संघदान कार्यक्रममा उनले आफूलाई किड्नीको आवश्यकता भएको समयमा किड्नी दान दिएको कुरालाई जोड्दै दानको असाधारण महत्व भएको बताए ।
उनले भने, ‘दान एउटा महान काम हो । जसलाई आवश्यक छ त्यसलाई दान दिनू । मलाई किड्नी फेल भयो किड्नी आवश्यक भयो, मलाई कसैले किड्नी दान दिए, दान लिएको किड्नी राखेर म हिँडिरहेको छु । दान कति महत्वपूणर् रहेछ भन्ने कुरा त यसले देखिन्छ । किड्नी दान नगरेको भए त, अहिले मेरो १७ औं पुण्य तिथि हुन्थ्यो । दान जीवनसँग सम्बन्धित छ । यसले धेरै महत्व राख्छ ।’
उनले जसलाई जुन चिज आवश्यक छ, त्यो चिजको आपूर्ति गरिदिनु दान भएको भन्दै समाजको लागि दान आवश्यक भएको बताए ।
उनले भने, ‘जसलाई जुन चिज आवश्यक छ, उसलाई त्यो चिजको आपूर्ति गरिदिनु दान हो । त्यसको असाधारण महत्व छ । नचाहिएको मान्छेलाई किड्नी दिनु के काम हुन्छ र त्यसको, हुदैँन् त्यस कारण जसलाई के आवश्यक हुन्छ त्यो दिनु ठिक छ ।’
अब विश्व र नेपालबाट कुनैपनि हालतमा बुद्धिजम, बुद्ध दर्शन, बुद्धका उपदेश र शिक्षालाई कमजोर हुन नदिने पनि उनको भनाई छ ।
यसको साथै, उनले हवाई दुर्घटना स्थलको निरिक्षण, जलेको हवाई जहाज, कसरी दर्घट्ना भयो त्यसको भिडियो, १८ जना मानिसको निधनको दृश्य हेरेको भन्दै भारि मनका साथ कार्यक्रममा उपस्थित भएको बताए ।