नेपालमा हवाइ दुर्घटनाको दर्दनाक इतिहास : सुझाव कार्यान्वयन कमजोर

<span class='c1'>नेपालमा हवाइ दुर्घटनाको दर्दनाक इतिहास</span> <span class='c2'>: सुझाव कार्यान्वयन कमजोर</span>

-नरेशकुमार जोशी/नेपाल न्युज बैंक
काठमाडौं । नेपाली आकाशको सुरक्षामा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरबाट समेत निरन्तर प्रश्न उठिरहेका बेला पुनः हवाई दुर्घटनाको सूचीमा अर्को संख्या थपिएको छ- त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीनसहति १८ जनाको मृत्यु ।

बुधबार यो दुर्घटनासम्म आइपुग्दा नेपाली आकाशमा ३६ आन्तरिक विमानसहित ६१ हवाई दुर्घटना भएका छन् । यी दुर्घटनामा परि अहिलेसम्म नौ सय १५ जनाले ज्यान गुमाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, सन् १९५५ यता यात्रुको ज्यान जाने गरी ३६ आन्तरिक र आठ अन्तर्राष्ट्रिय विमान तथा १७ हेलिकोप्टर दुर्घटना भएका छन् ।
वि.स. २०७९ माघ १ गतेपछि मानवीय क्षति हुनेगरि जहाज दुर्घटना भएको यो पहिलो पटक हो । त्यसबेला यती एयरलाइन्सको एटिआर ७२ जहाज पोखरामा दुर्घटना हुँदा चालक दलका सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो ।
सी-चेक (निश्चित समयपछि गरिने परीक्षण)का लागि काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान बुधबार बिहान ११ बजेर ११ मिनेटमा दुर्घटना भएको हो ।

दुर्घटनामा जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भयो । पाइलट मनिषरत्न शाक्यको भने जिवित नै उद्दार भयो । पाइलट जीवित रहेको यो दुर्लभ घटना मानिएको छ । विमान दुर्घटनाका विषयमा अध्ययन गर्न सरकारले कार्यदल बनाइसकेको छ भने पर्यटनमन्त्री बद्री पाण्डेले घटनाबारे प्रभावकारी अध्ययन गर्ने र प्राप्त प्रतिवेदन कार्यान्वयनमा ल्याउने जिकिर गरे । नेपाल एयरलाइन्समा ३० बर्ष सेवा गरेका क्याप्टेन ओम गुरुङ विमान दुर्घटनाका सम्बन्धमा चालक दललाई मात्र दोष दिने परिपाटी गलत भएको बताउँछन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनी भन्छन्,‘तुलनात्मक रुपमा नेपाली हवाइ आकाश केही असुरक्षित हो । तर दुर्घटनाको मुख्य कारण मौसम, आकाश, भौगोलिक अवस्था र चालक दललाई दोष दिएर नियमक निकाय उम्कन सक्दैन् ।’
हवाइ क्षेत्र सुरक्षित राख्न सरकार बढी जिम्मेबार हुनुपर्ने र निजी क्षेत्र संवेदनशिल बन्नुपर्ने क्याप्टेन गुरुङ बताउँछन् । क्याप्टेन गुरुङले दुर्घटनापछि बनेका अध्ययन कार्यदलले दिएको सुझावसहितको प्रतिवेदन कार्यान्वयन नहुँदा समस्या आउने गरेको बताए । यता, क्याप्टेन शाक्यले एक सय फिटमा पुगेपछि जहाज कन्ट्रोल नभएको र तल खसेको बताएको उनको उपचारमा खटिएका चिकित्सकको भनाइ छ ।

शाक्यको भनाइलाई आधार मान्दा इन्जिनमा खराबी आएर जहाज अनियन्त्रित भएको बुझिन्छ । क्याप्टेन गुरुङले पनि इन्जिनमा खराबी आएको तर चालक दलका सदस्यले छिटो दिमाग लगाउन नसक्दा जहाज अनियन्त्रित हुन पुगेको हुनसक्ने अनुमान गर्छन् ।

त्रिभुवन विमानस्थलपरिसरमै पाँच दुर्घटना : उद्धार असक्षम

देशकै आधुनिक र सर्वाधिक सुरिक्षत मानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपरिसरमै बुधबारको दुर्घटनासहित पाँच दुर्घटना भएका छन् । तिमध्ये चार वटा दुर्घटनामा मानवीय क्षती भएको छ भने एउटा मात्र दुर्घटनामा मानीय क्षति हुन पाएको छैन ।
त्रिभुवन विमानस्थलमा पहिलो ठूलो दुर्घटना १४ जनवरी १९९५ मा भएको थियो । त्यसवेला तत्कालीन शाही नेपाल वायुसेवा निगमको जहाज दुर्घटना हुँदा दुईजनाको ज्यान गएको थियो भने २३ घाइते भएका थिए । त्यस्तै, २१ अप्रिल २००४ मा बुद्ध एयरको जहाज दुर्घटनामा एकको मृत्यु भएको थियो ।
त्यस्तै, ४ मार्च २०१५ मा टर्किस एयरको वाइडबडी अवतरणका क्रममा रनवेभन्दा बाहिर जाँदा दुर्घटनामा पर्‍यो । विमानमा सवार २३५ यात्रु घाइते भएका थिए । उक्त दुर्घटनामा मानवीय क्षति भने हुन पाएन । जहाज धावनमार्गमा अड्किँदा चार दिनसम्म विमानस्थल बन्द भएको थियो । त्यस्तै, मार्च २०१८ मा बंगलादेशबाट आएको युएस-बाङ्ला एयरलाइन्सको जहाज पनि अवतरणका क्रममा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा चालक दलसहित ७१ यात्रुमध्ये ५१ जनाको ज्यान गएको थियो । सरकारले पटक पटक दुर्घटनाको पूर्वतयारी भन्दै लाखौं खर्च गरेर अभ्यास गर्ने भएपनि राजधानीस्थितकै आधुनिक विमानस्थलमा दुघर्टनामा मानवीय क्षति हुनबाट जोगाउन नसक्नु दुःखद मानिएको छ ।

नेपालमा पहिलो विमान दुर्घटना वि.सं २०१२ मा भएको थियो । कालिंगा एयर दुर्घटनामा दुई जनाको निधन भएको थियो । त्यस्तै, विसं २०१३ साल जेठ १३ मा अर्को दुर्घटना भयो । इण्डियन एयरलाइन्सको यस विमान दुर्घटनामा १४ जना यात्रीको निधन भएको थियो । इतिहास बारे जानकार सन्तोष खरेडी लेख्छन्,‘काठमाडौं गौचर हवाईअड्डामा अवतरणका क्रममा रनवेमा सन् १९५६ मे १५ को अपराह्न ०३ः०५ मा इन्डियन एअरलाईन्सको विमान दुर्घटना भयो । काठमाडौंमा दुर्घटना भएको पहिलो, नेपालमा दुर्घटना भएको दोस्रो विमान हो । त्यसै बर्षको अप्रिल ३० मा राजा महेन्द्रको राज्याभिषेक समारोह हुँदा गौचर हवाईअड्डामा त्यतिबेलासम्म सबैभन्दा बढी १० घन्टामा ६० वटा विमान (प्रत्येक १० मिनेटमा एउटा विमान) अवतरण भएका थिए ।

सिमराबाट यात्रु लिएर गौचर हवाईअड्डामा आइपुगेको उक्त विमानमा चालकदलका सदस्यहरु सहित ३१ जना यात्रु सवार थिए । विमान हवाईअड्डाको रनवेमा आएर पनि चालकले नियन्त्रण गर्न नसक्दा विमान मनहरा फाँटमा खसेको थियो । १५ जनाको ज्यान जाने गरि भएको विमान दुर्घटना लगत्तै सरकारले एउटा छानबिन समिति गठन गरेको थियो ।’ त्यसपछि साना-ठूला दुर्घटना थपिँदै गए । आउनुस् आज नेपालमा भएका आन्तरिक तथा अन्तरर्राष्ट्रिय हवाई दुर्घटना र ति दुर्घटनामा भएको मानवीय क्षतिबारे स्पष्ट तथ्यांकहरु भेटाइदैन् ।

मल्टिइन्जिन विमान दुर्घटनामा बढी क्षति
नेपालको हवाई सात दशकको हवाई इतिहासमा दुर्घटना र त्यसको क्षतिको ग्राफ समेत उत्तिकै बढ्दै गइरहेको छ । नेपालमा भएका हवाई दुर्घटनाको इतिहास पल्टाएर हेर्दा नेपालमा सिंगल इन्जिनको तुलनामा मल्टिइन्जिन विमान दुर्घटनामा धेरै मानवीय क्षति भएको पाइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा हालसम्म मिल्टइन्जिनका ५१ वटा विमान दुर्घटना भएका छन् ति दुर्घटनामा चार सय ६९ जनाको मृत्यु भएको छ । विभिन्न अन्तरर्राष्ट्रिय रिपोर्टहरुले समेत नेपालमा बढि दुर्घटना हुने र बढी मानवीय क्षति हुने विमानहरु मल्टिइन्जिनका रहेको समय समयमा सार्वजनिक गर्ने रिपोर्टहरुले देखाउँदै आएको छ ।

दुर्घटनामा परेका मल्टि इन्जिनयुक्त विमानहरु
१. २४ जुलाई २०२४ : त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना, १८ जनाको मृत्यु ।
२. १५ जनवरी २०२३ : पोखराको सेती खोँचमा यती एयरलाइन्सको विमान दुर्घटना, ७२ जनाको मृत्यु ।
३. २९ मे २०२२ : मुस्ताङको तितीमा तारा एयरको विमान दुर्घटना, २२ जनाको मृत्यु ।
४. २८ मार्चा २०२० : बाँकेको नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति नभएको ।
५. १४ अप्रिल २०१९ : लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना, ३ जनाको मृत्यु ।
६. २८ नोभेम्बर २०१७ : हुम्लाको सिमिकोटमा तारा एयरको विमान दुर्घटना, मानवीय क्षति नभएको ।
७. २७ मे २०१७ : लुक्ला एयरपोर्टमा समिट एयरको विमान दुर्घटना, दुई जनाको मृत्यु ।
८. २४ फेब्रुअरी २०१६ : म्याग्दीको दानामा तारा एयरको विमान दुर्घटना, २३ जनाको मृत्यु ।
९. १६ फेब्रुअरी २०१४ : अर्घाखाँचीको मसिने लेकमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १८ जनाको मृत्यु ।
१०. १ जुन २०१३ : सिमिकोट विमानस्थलमा सीता एयरको विमान दुर्घटना, मानवीय क्षति नभएको ।
११. १६ मे २०१३ : जोमसोम विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति नभएको ।
१२. २८ सेप्टेम्बर २०१२ : भक्तपुरको मनोहरामा सीता एयरको विमान दुर्घटना, १९ जनाको मृत्यु ।
१३. २१ सेप्टेम्बर २०१२ : डोल्पामा सीता एयरको विमान दुर्घटना, मानवीय क्षति नभएको ।
१४. १४ मे २०१२ : जोमसोम विमानस्थलमा अग्नि एयरको विमान दुर्घटना, १५ जनाको मृत्यु ।
१५. २५ सेप्टेम्बर २०११ :ललितपुरको कोटडाँडामा बुद्ध एयरको विमान दुर्घटना, १९ जनाको मृत्यु ।
१६. १५ डिसेम्बर २०१० : ओखलढुंगामा तारा एयरको विमान दुर्घटना, २२ जनाको मृत्यु ।
१७. २४ अगस्ट २०१० : मकवानपुरको शिखरपुरमा अग्नि एयरको विमान दुर्घटना, १४ जनाको मृत्यु ।
१८. ८ अक्टोबर २००८ : लुक्ला विमानस्थलमा यती एयरलाइन्सको विमान दुर्घटना, १८ जनाको मृत्यु ।
१९. ३ जुलाई २००६ :बाजुरा विमानस्थलमा यती एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति नभएको ।
२०. १२ जुन २००६ : जुम्ला विमानस्थलमा यती एयरलाइन्सको विमान दुर्घटना, ९ जनाको मृत्यु ।
२१. ३० जुन २००५ : लुक्ला विमानस्थलमा गोरखा एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन ।
२२. २५ मे २००४ : सोलुखुम्बुको लामजुरामा यती एयरलाइन्सको विमान दुर्घटना, ३ जनाको मृत्यु ।
२३. २१ अप्रिल २००४ : त्रिभुवन विमानस्थलमा वुद्ध एयरको विमान दुर्घटन, १ जनाको मृत्यु ।
२४. २२ अगस्ट २००२ : कास्कीको पोखरामा सांग्रीला एयरको विमान दुर्घटना, १८ जनाको मृत्यु ।
२५. १७ जुलाई २००२ : सुर्खेतको गडगडे डाँडामा स्काई लाइन एयरलाइन्सको विमान दुर्घटना, ४ जनाको मृत्यु ।
२६. ५ अप्रिल २००१ : तुम्लिङटारमा यती एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन ।
२७. १९ नोभेम्बर २००० : तुम्लिङटारमा कस्मिक एयरको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन ।
२८. ३ नोभेम्बर २००० : लुक्लामा गार्खा एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन ।
२९. २७ जुलाई २००० : डडेल्धुराको जोगबुढामा नेपाल एयरलाइन्सको विमान दुर्घटना, २५ जनाको मृत्यु ।
३०. २६ फेब्रुअरी २००० : बझाङमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १ जनाको मृत्यु ।
३१. २५ डिसेम्बर १९९९ : मकवानपुरको बुर्जोलेकमा स्काई लाइन एयरलाइन्सको विमान दुर्घटना, १० जनाको मृत्यु ।
३२. ५ सेप्टेम्बर १९९९ : काठमाडौंको थानकोटमा नेकोन एयरको विमान दुर्घटना, १५ जनाको मृत्यु ।
३३. २१ अगस्ट १९९८ : म्याग्दीको चुच्चेखर्कमा सांग्रीला एयरको विमान दुर्घटना, १८ जनाको मृत्यु ।
३४. २३ डिसेम्बर १९९६ : डोल्पामा नेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन ।
३५. २८ जुलाई १९९६ : सिमिकोटमा (एटीएससी, डीसीए) विमान दुर्घटना, मानवीय क्षति हुन पाएन ।
३६. २५ अप्रिल १९९६ : चितवनको मेघौलीमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन ।
३७. १५ जुलाई १९९५ : चितवनको भरतपुरमा नेपाल एयरलाइन्सको विमान दुर्घटना । मानवीय क्षति हुन पाएन ।
३८. १४ जनवरी १९९५ : काठमाडौं विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, २ जनाको मृत्यु ।
३९. ३१ जुलाई १९९३ : सालीघोप्टेमा एभरेस्ट एयरको विमान दुर्घटना, १८ जनाको मृत्यु ।
४०. ८ नोभेम्बर १९९३ : जोमसोममा नेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन ।
४१. २६ सेप्टेम्बर १९९२: सिमिकोटमा (एटीएससी, डीसीए) विमान दुर्घटना, मानवीय क्षति हुन पाएन ।
४२. २८ जुन १९९१: सिमिकोटमा एटीएससी, डीसीए विमान दुर्घटना, मानवीय क्षति हुन पाएन ।
४३. ९ जुन १९९१: लुक्लामा नेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन ।
४४. १९ अगस्ट १९८७: डोल्पामा नेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन ।
४५. २ मे १९८६: अछामको साँफेबगर विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन ।
४६. २२ डिसेम्बर १९८४: चेक्लाटी डाँडामा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १५ जनाको मृत्यु ।
४७. १५ अक्टोबर १९७३: लुक्लामा नेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन ।
४८. २५ जनवरी १९७०: भारतको नयाँ दिल्लीमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १ जनाको मृत्यु ।
४९. १२ जुलाई १९६७: मकवनापुरको हेटौडा नजिकै नेपाल एयरलाइन्सको विमान दुर्घटना, ३५ जनाको मृत्यु ।
५०. १ अगस्ट १९६२: तुलाचनधुरीमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १० जनाको मृत्यु ।
५१. ५ नोभेम्बर १९६०: रुपन्देहीको भैरहवामा नेपाल एयरलाइन्सको विभान दुर्घटना, ४ जनाको मृत्यु ।

सिंगल इन्जिनयुक्त र विदेशी विमानहरु भएको दुर्घटनाको विवरण
१. २९ मे २०२२: मुस्ताङको लार्जुङमा तारा एयरको विमान दुर्घटना, २२ जनाको मृत्यु ।
२. १६ मे २०१८: सिमिकोट पासमा मकालु एयरको विमान दुर्घटना, २ जनाको मृत्यु ।
३. ८ अप्रिल २०१६: सिमिकोट नजिक मकालु एयरको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन ।
४. २६ फेब्रुअरी २०१६: कालिकोटको चिल्खायामा एयर काष्ठमण्डपको विमान दुर्घटना, २ जनाको मृत्यु ।
५. २१ नोभेम्बर २०११: मुगुको ताल्चा विमानस्थलमा मकालु एयरको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन ।
६. १७ जनवरी १९९९: जुम्लामा नेकोन एयरको विमान दुर्घटना, ५ जनाको मृत्यु ।
७. २० नोभेम्बर १९९८: सोलुखुम्बुको फाक्दिङमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १ जनाको मृत्यु ।
८. ३० अक्टोबर १९८१: मोरङको विराटनगरमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १० जनाको मृत्यु ।
९. ३१ मार्च १९७५: काठमाडौंको बौद्धमा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु ।
१०. ३० अगस्ट १९५५: बाराको सिमरामा कालिंगा एयरको विमान दुर्घटना, २ जनाको मृत्यु ।
११. १५ मे १९५६: काठमाडौंमा इन्डियन एयरलाइन्सको विमान दुर्घटना, १४ जनाको मृत्यु ।
१२. २४ मे १९५८: पत्ने भन्ज्याङमा इन्डियन एयरलाइन्सको विमान दुर्घटना, २० जनाको मृत्यु ।
१३. १० मे १९७४: त्रिभुवन विमानस्थलमा थाई एयरवेजको विमान दुर्घटना, १ जनाको मृत्यु ।
१४. ३१ जुलाई १९९२: रसुवाको घ्याङफेदीमा थाई एयरवेजको विमान दुर्घटना, ११३ जनाको मृत्यु ।
१५. २८ सेप्टेम्बर १९९२: ललितपुरको भट्टेडाँडामा पाकिस्तान इनटरनेशनल एयरलाइन्सको विमान दुर्घटना, १६७ जनाको मृत्यु ।
१६. ७ जुलाई १९९९: काठमाडौंको भष्मासुर डाँडामा फ्रान्सको फुफुथान्साको विमान दुर्घटना, ५ जनाको मृत्यु ।
१६. ४ मार्चा २०१५: त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमान दुर्घटना । मानवीय क्षति हुन पाएन ।
१७. १२ अप्रिल २०१८: त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बंगलादेशको युएस बंगलाको विमान दुर्घटना, ५१ जनाको मृत्यु ।
१८. २० अप्रिल २०१८ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मलेसियाको मालिन्दो एयरको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्