विराटनगर । विराटनगर-८ स्थित नमूना विद्या मन्दिरले धनकुटाको भेडेटारमा कक्षा ११ का विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। शनिबार भेडेटारको नेपालीका होटलमा सम्पन्न कार्यक्रमको अध्यक्षता विद्यालयका प्रिन्सिपल शिव अधिकारीले गरेका थिए।
कार्यक्रममा शिक्षक बुद्धि रमण दवाडीले नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै नमूना विद्या मन्दिर व्यवस्थापनको उत्तम गन्तव्य भएको बताए। शिक्षक ए.के. दासले विद्यालय भौतिक हिसाबले दरिलो संस्था भएको र प्रथम वर्षमै आफ्नो कार्यकुशलता देखाइसकेको उल्लेख गरे। उनले केही वर्षमै विराटनगरमा अब्बल शैक्षिक संस्थाको रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।
विद्यालयका शिक्षकहरूले अनुभवी शिक्षक समूह, कुशल व्यवस्थापन, साना समूहमा गरिने अध्यापन र प्रविधियुक्त शिक्षण विधि अपनाएका कारण नमूना विद्या मन्दिर आफ्नो नाम अनुरूप नै साबित हुने बताए।
प्रिन्सिपल अधिकारीले नमूना विद्या मन्दिरको ११/१२ को कार्यक्रमलाई ३१ वर्ष पुरानो विद्यालय सञ्चालनसँग दाँजेर विराटनगरमा माध्यमिक स्तरको अब्बल विद्यार्थी उत्पादन गर्ने ऐतिहासिक शैक्षिक संस्था भएको उल्लेख गरे। उनले उच्च शिक्षामा दरिलो संस्था बन्न नमूना विद्या मन्दिरले कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाए।
कार्यक्रम पश्चात विद्यार्थीहरूले पर्यटकीय क्षेत्र भेडेटारको अवलोकन गरेका थिए।