इन्दु साह
विराटनगर । यस वर्षको मौसममा विराटनगरको तरकारी बजारमा मूल्य वृद्धिले उपभोक्ताहरू मारमा परेका छन्। स्थानीय व्यापारीहरूका अनुसार केही वर्षदेखि नै यस मौसममा तरकारीको मूल्य लगातार बढ्दै आएको छ।
हाल बजारमा प्रमुख तरकारीहरूको मूल्य निकै उच्च रहेको छ। टमाटर र आलु प्रति किलो ६० देखि ७० रुपैयाँसम्म पुगेको छ भने प्याज ८० रुपैयाँ प्रति किलोमा बिक्री भइरहेको छ। इस्कुस र भिंडी ७० रुपैयाँ, बन्दा काउली ५० रुपैयाँ, फूलकोभी र हरियो खुर्सानी १६० रुपैयाँ प्रति किलोसम्म पुगेको छ। त्यस्तै, लौका र करेला ६० रुपैयाँ तथा परवल ७० रुपैयाँ प्रति किलोमा बिक्री भइरहेको छ।
स्थानीय उपभोक्ता सुमन श्रेष्ठले भने तरकारीको मूल्य अत्यधिक महँगो भएको छ। दैनिक उपभोग्य वस्तु भएकोले नकिनी पनि हुँदैन । तर यति महँगो हुँदा घरखर्च धान्न गाह्रो भएको छ।
तरकारी व्यापारी राजेश साहले मूल्य वृद्धिको कारण बताउँदै भने यो मौसममा उत्पादन कम हुने र माग बढ्ने हुँदा मूल्य बढेको हो। साथै, ढुवानी खर्च पनि बढेको छ। यसबीच, उपभोक्ताहरूले महँगो भए पनि आवश्यक मात्रामा तरकारी किन्न बाध्य भएको बताएका छन्। तरकारीको मूल्य वृद्धिले विराटनगरका सर्वसाधारणको दैनिक जीवनयापनमा प्रत्यक्ष असर परेको देखिएको छ।
विराटनगर सब्जीमण्डि गुद्री बजार व्यवस्थापन समितिका सचिव अहमद साहेब गुड्डुका अनुसार अहिले तरकारीको मूल्य महंगो हुने समय नै हो । किसानको बारीमा घर चल्नका लागि फल्ने तरकारी समेत डुबानका कारण नष्ट हुने गरेकोले माग बढ्छ , वस्तु उत्पादन कम भएका कारण मूल्यमा स्वभाविक बृद्धि हुने गरेको उनको भनाई छ ।