विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको कक्षा १२ को नतिजामा विराटनगरका विद्यालयहरुले आ–आफ्नै दावी गरेका छन् । विराटनगरमा नाम चलेका सामुदायिक तथा निजी विद्यालयहरुले नतिजामा गरेको उत्तिर्ण प्रतिशतको दावी हेर्न भने राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गर्ने बुलेटिन नै पर्खनु पर्ने हुन्छ ।
यद्यपी विराटनगरको सामुदायिक विद्यालय पोखरीयामा परीक्षामा सहभागी ३३३ जना विद्यार्थीमध्ये २४९ जना उत्तिर्ण भएका छन् । प्राचार्य खेमराज भट्टराईका अनुसार ८४ जना विद्यार्थी नन–ग्रेड भएका छन् । पोखरीयामा ३.६ भन्दा माथि ११ जना, ३.२ देखि ३.६ सम्म ७६ जना, २.८ देखि ३.२ सम्म ८८ जना, २.४ देखि २.८ सम्म ६८ जना, २.० देखि २.४ सम्म ९ जना उत्तिर्ण भएको जानकारी दिइएको छ ।
निजीतर्फ शिक्षादीप कलेज विराटनगरको विज्ञान विषयतर्फ विनय प्याकुरेलले ३.९१ जीपीए र प्रशान्त कार्कीले ३.८८ ल्याएका छन् । म्यानेजमेन्टतर्फ तुलसी खतिवडाले ३.७७ जीपीए ल्याएर उत्तिर्ण भएको प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिएका छन् ।
यसैगरी आदर्श माध्यमिक विद्यालयबाट ३४१ जना सहभागी भएकामध्ये २९२ जना उत्तिर्ण भएको विद्यालयका प्राचार्य सन्तोष पोखरेलले जानकारी दिएका छन् । आदर्शमा ३ जीपीए भन्दा माथि ४६ जना विद्यार्थी उत्तिर्ण भएको जानकारी दिइएको छ । विद्यालयका ४९ जना विद्यार्थी नेन–ग्रेड रहेका छन् ।
यसैगरी विराटनगरको बिकेभिएम स्कुलकी विद्यार्थीले सिर्जना घिमिरेले ३.९६ जीपीए ल्याएर उत्तिर्ण भएको दावी गरिएको छ । विद्यालयका ७६ जना विद्यार्थीले एप्लस ल्याएको दावी छ । यसैगरी भानु मोरङ कलेज विराटनगरको साइन्सतर्फ ४१ जनामध्ये ३८ जना विद्यार्थी उत्तिर्ण भएको जानकारी दिइएको छ । तीनजना विद्यार्थी नन–ग्रेड भएका छन् ।
मेरिल्याण्ड कलेज विराटनगरमा मिश्रित नतिजा आएको जानकारी दिइएको छ । समग्र मेरिल्याण्डका ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जानकारी निर्देशक भेषराज पोखरेलले दिएका छन् । उनले देशभर ४८ प्रतिशत विद्यार्थी नन–ग्रेड भएको विषय चिन्ताजनक रहेको बताए । कलेजका ६४५ जना सहभागी मध्ये ३.८७ जीपीए २ जना ,३.८६ जीपीए ४ जना ३.८५ जीपीए ३ जना, ३.८१ जीपीए ६ जना, ३.७५ जीपीएदेखि ३.७८ जीपीए १४ जना,३.६१ जीपीएदेखि ३.७५ जीपीए ८६ जनाले ल्याएको कलेजले जनाएको छ ।
तुरुन्तै मौका परीक्षा लेख्न पाउने विद्यार्थीलाई खासै समस्या छैन तर एकवर्षसम्म कुर्नुपर्ने विद्यार्थीका लागि यो परीक्षाको नतिजा एकदमै नकारत्मक छ, पोखरेलले भने–सरकारले ग्रेडिङ प्रणाली कार्यान्वयनमा ल्याएर पुरानैशैलीमा फर्कियो ।
यसैगरी कान्तिपुर कलेज विराटनगरले ९२.३ प्रतिशत विद्यार्थी उत्तिर्ण गरेको दावी गरेको छ । विज्ञान र व्यवस्थापनका ७९८ जना विद्यार्थीमध्ये मन्जु अधिकारीले ३.८६ जीपीएसहित ३.६१ देखि ४ जीपीए ५३ जना र ३.२० देखि ३.६० जीपीए १३५ जनाले ल्याएको दावी छ ।