विराटनगर । महेन्द्र मोरङ क्याम्पस र नबिल बैंकको सहकार्यमा सञ्चालित नविल सामाजिक उद्यमशिलता ‘नबिल एसएसई’ तीन महिने चौथो समूहको प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न गर्दै पाँचौं समूहको उद्घाटन भएको छ ।
नबिल बैंक र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको सहकार्यमा युवाहरूलाई सामाजिक उद्यमशिलताको क्षेत्रमा अगाडि बढाउने उद्देश्यले सञ्चालित सो तालिममा सहभागी २५ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरी चौथो चरणको तालिम समापन गरिएको छ ।
शनिबार नै पाँचौं चरण अन्तर्गतको २५ प्रशिक्षार्थीको सहभागितामा तालिम उद्घाटन गरिएको नबिल एसएसई कोशी प्रदेश संयोजक वेदप्रसाद संग्रौलाले बताए।
कार्यक्रममा बोल्दै साना तथा घरेलु उद्योग महासंघका अध्यक्ष चेतन निरौलाले दैनिक हजार बढीको संख्यामा युवाहरु विदेश पलायन भैरहेको अवस्थामा बैंकले उद्यमशिलताको तालिम सञ्चालन गर्नु सराहनीय भएको बताए ।
महेन्द्र मोरङ क्याम्पसका प्रमुख रामावतार शरणले तालिममा सहभागीहरुलाई आफूले सिकेको ज्ञानलाई व्यवहारमा कार्यान्वयन गर्न अनुरोध गरे ।
नबिल बैंकका शाखा प्रवन्धक समीर श्रेष्ठले सातै प्रदेशमा यो तालिम सञ्चालन भईरहेको बताए । सहभागीहरुको तर्फवाट विभूति उपाध्यायले तालिममा सिकेको व्यावहारिक ज्ञानले उद्यम सञ्चालन गर्न सहयोग पुगेको बताइन् ।
समाजमा उद्यमशीलताका माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नवीन सोचमा आधारित उद्यमलाई प्रवद्र्धन गर्दै आर्थिक, सामाजिक रूपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम सुरु गरिएको बैंकले जनाएको छ ।