विराटनगर । अगामी साउन २७ गते फोनिजको २५ औं स्थापना दिवस तथा रजत जयन्ती उदयपुरको उदयपुरगढी गाउँपालिकामा भव्य रुपमा मनाउने तयारी गरेको छ ।
उदयपुरको बेलका नगरपालिका ८ खुवालुङ क्षेत्र चतरामा शनिबार नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) १ प्रदेशको बैठकले उदयपुरगढीमा मनाउने निर्णय गरेको हो ।
फोनिजको रजत जयन्तीको अवसरमा उदयपुरगढी पालिकाको ऐतिहासिक धार्मिक क्षेत्रहरुको पर्यटन प्रवर्धनमा प्रचारप्रसारलाई सहयोग हुने गरी भब्यताका साथ सो क्षेत्रमा मनाउने निर्णयसँगै बैठकले विभिन्न उपसमिति मार्फत कार्यविभाजन समेत गरेको छ ।कार्य विभाजन अनुसार व्यवस्थापन समितिको संयोजकमा फोनिज १ का उपाध्यक्ष राजेन्द्र दुष्ट, प्रचारप्रसार संयोजकमा सचिव सन्देश सुब्बा, आर्थिक व्यवस्थापन संयोजक कोषाध्यक्ष प्रेम देवान, अतिथि स्वागत तथा सत्कार संयोजक सुप्रीया राई, मन्च–भोजन तथा आवास व्यवस्थापन संयोजकमा जिल्ला अध्यक्ष ईश्वर बलम्पाकी मगर समितीमा राखिएको छ ।
त्यसैगरी हरेक वर्ष वितरण गर्दै आएको पहिचान पत्रकारिता पुरस्कार छ्नौट संयोजकमा प्रदेश इन्चार्ज भक्तशेर लिम्बुलाई जिम्मेवारी तोकिएको छ । बैठकमा प्रदेश इन्चार्ज भक्तशेर लिम्बू सल्लाहकार निलिफा सुब्बा, ललितपुर जिल्लाका संस्थापक अध्यक्ष प्रकाश राई लगायतको उपस्थितीमा १ नं प्रदेशका अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।