इशु पन्त
विराटनगर । देशभरका केहि जिल्लामा हैजाको संक्रमण फैलिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ ।
ललितपुरको गोदावरी नगरपालिकामा १६, काठमाडौंको टोखा नगरपालिकामा आठ र कैलालीको धनगढी उपमहानगरपालिकामा एकजनामा हैजा सङ्क्रमण देखिएको इडीसीडीले जनाएको छ। हैजाको संक्रमण पुष्टि नभएको विराटनगर समेत यसको जोखिममा रहेको भन्दै महानगरपालिकाले सचेतनाका कार्याक्रम वडा स्वास्थ्य केन्द्रमार्फत सञ्चालन सुरु गरेको छ ।
विराटनगरमा घरबाट शौचालयको हज नालामा मिसाउने समस्या छ । अझै वर्षात्मा हजको पाइप नालामा खोलिदिदाँ खोलासम्म पुग्ने मनसाय प्रेरित गलत कार्यले गर्दा हैजाको निक्कै जोखिम रहेको छ । पानीमा यस्तो फोहोर मिसिदा कहिं न कहिं मानिसको पेटमा पुग्ने स्थिति आए यसबाट हैजा सिर्जना हुन्छ । हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो। हैजालगायत पानीजन्य रोगहरूबाट बच्न सरसफाइमा ध्यान दिन र पानी उमालेर मात्र पिउन महानगरपालिकाका भित्र सचेतना दिने गरिएको छ ।
विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख दिलिप यादवका अनुसार हैजाको संक्रमण चाँडै फैलन सक्छ । काठमाण्डौंमा देखिएको हैजाको संक्रमण विराटनगर आउन धेरै समय लाग्दैन । सिधै विराटनगर–काठमाण्डौं हवाई जहाजमा गर्दा ३५ मिनेटमा संक्रमित व्यक्ति आउजाउ हुने हुँदा सचेत हुनुपर्ने अवस्था रहेको उनले बताए ।
यो रोग झाडापखाला पानीजन्य रोग अन्तर्गत पर्छ । पानी र खाने कुरामा हैजाको जीवाणु मिश्रित भएमा यो रोग फैलिन्छ । स्वस्थ्य महाशाखाका प्रमुख यादवले हैजा लाग्दैमा ज्यान नै जान्छ भन्ने कुरा गलत भएको बताए । उनले सही समयमा त्यसबाट बच्ने उपाय अपनाउनु पर्ने सुझाव दिए । पातलो चौलानी जस्तो दिशा हुने, वान्ता हुने, जल वियोजन हुने हैजा संक्रमितको लक्षण हो । त्यसका लागि विराटनगर महानगरले हरेक स्वास्थ्य चौकीमा हैजा बारे जनचेतना फैलाउने देखि पूर्व तयारी गरिरहेको छ।
जीवन जल, स्लाइन, डोक्सीसाइक्लिन, टेट्रासाइक्लिन औषधिहरू वडासम्म लगेर तयारी अवस्थामा राखिएको जानकारी दिइएको छ । बिराटनगरमा केही समय अगाडि खानेपानीको पाइपसँग ढलको पानी मिसिदाँ धेरैलाई जन्डिस लागेको थियो । अहिले वर्षात्को समयमा समेत हैजाको प्रकोपमा पर्नसक्ने संभावनालाई महानगरपालिकाले कमजोरी नआक्न अनुरोध गरिएको छ ।