विराटनगर । सेवाग्राहीले जम्मा गरेको रकम गायब भएको दाबी गरेपनि मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट नक्कली रहेको प्रभु बैंकले दाबी गरेको छ ।
झापाका सेवाग्राही मञ्जुकुमारी नेपालले आफ्नो रकम दाबी गर्न देखाएको बैंकको कागजात नक्कली भएको भन्दै बैंकका कोशी प्रदेश प्रमुख बद्री कटुवालले प्रेस विज्ञप्ति जारी गरेर खण्डन गरेका हुन् ।
मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभई नक्कली रहेको कटवालको भनाई छ । बैंकसँग सम्बन्धित उक्त डकुमेन्ट समेत नक्कली देखिएपछि अनुसन्धान जारी रहेको बताइएको छ ।
विज्ञप्तीमा घटनाको सम्बन्धमा थप छानविन भईरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषी उपर कारबाहीको प्रक्रिया बढाइएको भनिएको छ । सेवाग्राहीले पैसा निकाल्ने क्रममा नभएको भनि बैंकले जवाफ दिएपछि घटना बाहिर आएको हो ।
मन्जुका श्रीमान टिकाराम नेपालका अनुसार एक करोड १० रुपैयाँ मुद्दति खातामा जम्मा गरिएको पैसा म्याच्योर्ड भएपछि फिर्ता माग्न जाँदा खातामा पैसा नै नभएको बैंकले जवाफ दिएको हो ।
प्रभु बैंकको बिर्तामोड शाखाका मार्केटिङ म्यानेजर प्रमोद सिटौला गत बुधबारबाट सम्पर्कविहीन भएका छन् । कोशी प्रदेशका प्रमुखले बैंकको कागजात नै नक्कली भनेर अनुसन्धान भईरहेको बताए पनि आफ्नै कर्मचारी फरार भएबाट बैंक भित्र ठूलै गोलमाल रहेको अनुमान गर्न सकिन्छ । प्रभु बैंक बिर्तामोड शाखाबाट मात्रै सेवाग्राहीको पन्ध्र करोड बढी रकम दुरुपयोग भएको बैंकसँग जानकारको दाबी छ । धेरै अगाडीबाटै यहाँ सेवाग्राहीको पैसा नक्कली कागजातमार्फत झुक्याउने गरेको बताइएको छ ।
यो पनि पढ्नुहोस् : https://ourbiratnagar.net/2024/08/269918