प्रदेश लगानी प्राधिकरणले गर्दा अड्कियो विराटनगरको नगर बस

<span class='c1'>प्रदेश लगानी प्राधिकरणले गर्दा</span> <span class='c2'>अड्कियो विराटनगरको नगर बस</span>

देवराज तामाङ
विराटनगर । सामाजिक संजालमा इटहरी उपमहानगरपालिकाको विद्युतीय बसले चर्चा पाईरहदा विराटनगरको नगर बसको बारेमा व्यङग्य हान्न सुरु भएको छ । विराटनगरमा नगर बस संचालन गर्न भन्दै रुट परीक्षण गरेर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले चाँडै सञ्चालन गर्ने दावी गरेका थिए ।

तर, रुट परीक्षण गरेको एक वर्ष ५ महिना पुरा भईसक्दा विराटनगरमा नगर बस गुडेको छैन । निजी क्षेत्र र लगानी बोर्डसँगको साझेदारीमा तत्काल नगर बस सञ्चालन गर्ने भन्दै निकै प्रचारप्रसार गरिएको थियो । प्रचार गरिए अनुसार काम भने हुन् सकेन । महानगरले प्रारम्भिक चरणमा १९ वटा नगर बस सञ्चालन गर्ने जनाएको थियो । कार्यपालिका बैठकले निर्णय गरेपछि महानगरको सडकअनुसार कति क्षमताका बस सञ्चालन गर्न उपयुक्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षण गरिएको भन्ने थियो । तर, यो हल्ला जस्तै भयो ।

खास कुरा अर्कै थियो, हतारको अपनत्वको बोझ भने महानगरपालिकाले लिनु परेको छ । प्रदेश लगानी प्राधिकरणले विराटनगरमा नगर बसको परियोजना प्रस्ताव माग गरेको हो । उसले माग गरेको परियोजना कार्यन्वयन भने विराटनगर महानगरपालिकामा हुने थियो । प्रस्ताव माग गरिए अनुसार नगर बस सञ्चालनका लागि विराट यातायात प्रा.लि.ले प्रस्ताव पेस गरेको थियो । प्रस्ताव पेस गर्नु अगाडी नगर बस सञ्चालनका लागि आवश्यक प्रक्रिया, त्यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत पेस गर्नुृपर्ने थियो । त्यहि डिपिआर तयार गरेर रुट यकिन गर्दा कम्पनीको आग्रहमा महानगरपालिकाका मेयर र उपमेयर समेत बसका यात्रु भएका थिए । तर, रुट परीक्षण गरिएकै दिनदेखि बस सञ्चालन हुने हो भन्ने सन्देश जनप्रतिनिधिले दिए । जसले सिर्जना गरेको भ्रमले नगरवासीले बस चढ्ने सपना अधुरो हुने सपना देख्न थालेका छन् ।

पहिलो चरण २०७९ फागुन १८ प्रारम्भिक चरणको रुट परीक्षण (ट्रायल) गरेको थियो। महानगरपालिकाकाकी उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला बसमा आफैं चढेका थिए । दोस्रो चरणमा २०७९ फागुन २५ गते महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा रुट परीक्षण गरिएको भनिएको थियो । महानगरले दुई–तीन महिना भित्रमा नगर बस सञ्चालन गर्ने दाबी समेत गरेको थियो । तर, यससँग सम्बन्धित योजना भने अहिले पनि प्रक्रियामै छ । महानगरको दाबी अनुसार २०८० जेठबाट बस सञ्चालन हुनुपर्ने थियो । तर २०८१ सालको साउन २३ गते बितिसक्दा पनि नगर बस संचालनमा आउने नआउने अत्तोपत्तो छैन। महानगर भने प्रदेश सरकारका कारण नगर बस सञ्चालनमा ढिलाई भएको दाबी गरेको छ ।

हुन पनि त्यहि हो
कम्पनीले नगरबस सञ्चालनका लागि पेस गरेको प्रस्तावमा दावी माग गर्दै प्राधिकरणले २०८० भदौ १० गते ३५ दिने सार्वजानिक सूचना प्रकाशन गरेको थियो । नगर बस सञ्चालनका लागि प्रस्ताव पेस गरेको कम्पनी बाहेक अन्यसँग पनि कुनै योजना भए बुझाउन माग गरिएपनि ईच्छुक कोहि देखिएनन् । त्यसपछि लगानी प्राधिकरणले यसलाई लगानी बोर्डमा लगेर निर्णय गराउने प्रक्रियामा जानु पर्दथ्यो । तर, प्रदेश सरकार निर्माणको गोलचक्करले लगानी प्राधिकरण बोर्डमा यो प्रस्ताव जानै सकने । अल्झियो प्रदेश लगानी प्राधिकरणमा, गाली खायो महानगरपालिकाले ।

लगानी प्राधिकरणका प्रमुख डा.सरोज कोइरालाका अनुसार नगर बस सञ्चालनको प्रक्रिया अन्तिम अवस्थामा छ । तर, मुख्यमन्त्री नेतृत्वको लगानी प्राधिकरण बोर्डको बैडकमा एजेण्डा बनेर निर्णय हुन बाँकी छ । यो निर्णय भएपछि महानगरपालिका र लगानीकर्ता विराट यातायात कम्पनीबीच पिडिए हुनेछ । त्यो पिडिएको चरणमा पुगेपछि मात्रै परियोजना सञ्चालन गर्ने स्थानीय तह र लगानीकर्ताको भूमिका सुरु हुन्छ ।
कोइरालाले कागजी कामले गर्दा खेरी नगर बसको काम अगाडी बढ्न नसकेको बताए। ‘अब बोर्डको बैठक छिटै बस्दैछ, बैठकबाट स्वीकृत भएपछि महानगरलाई पत्र पठाउने र काम अगाडी बढ्नेछ’ कोइरालाले भने परियोजना विकास सम्झौता (पिडिए) गरेपछि काम महानगरको पोल्टामा पुग्छ । महानगरको कार्यपालिका बैठकले त्यसपछि स्वीकृत गर्नेछ । संभवतः कोशी प्रदेश लगानी प्राधिकरण बोर्डको बैठक यहि साता भित्र बस्ने कोइरालाको बुझाई छ । उनले भने सरकार परिवर्तनको असर लगानी प्राधिकरणका योजना कार्यन्वयनमा परिरहेको छ । यदि पिडिए भईसकेपछि पनि विराटनगर महानगरपालिकाले गर्नुपर्ने केहि काम अझै बाँकी हुन्छ । जस्तो की लगानीकर्ता विराट यातायात प्रा.लि.ले तयार गरेर बुझाएको डिपिआर अनुसार विराटनगर महानगरपालिकाले सहजीकरण गर्नुपर्ने कामहरु छन् ।

लगानीकर्ता विराटनगर यातायात प्रा.लि.ले हरेक एक किलोमिटरमा बस स्टप आवश्यक पर्ने परियोजना प्रतिवेदन बुझाएको थियो । त्यसपछि टंकीसिनुवारी–जोगबनी, हाटखोला–इक्राही, मिलनचौक–बुधनगर, दरैया–मिलनचौकमा बस स्टेण्डको आवश्यक पर्ने अनुमान गरिएको थियो । कम्पनीले प्रस्ताव गरेको परियोजनामा ५० बस खरिद गर्ने गरि ३५ करोड ५२ लाख रुपैयाँ बजेट समेत प्रस्तुत गरेको थियो। यद्यपी पहिलो चरणमा भने ५ देखि ७ वटा बस परीक्षणको रुपमा सञ्चालनमा ल्याउने योजना रहेको थियो । त्यसपछि क्रमशः सबै रुटका लागि आवश्यक बस थप्दै जानेछ । प्रदेश राजधानी विराटनगर केन्द्रीत मात्रै भएर भईरहेको यो पाइलट प्रोजेक्टलाई बृहत विराट क्षेत्रभित्र लैजाने लक्ष्य राखिएको थियो । नगर बस संचालनमा आएपछि ज्येष्ठ नागरिक र अपाङ्गताले निःशुल्क आवागमन गर्न पाउनेछन् । महिला र विद्यार्थीलाई सहुलियत दिने र अन्यलाई पनि न्यून शुल्क लिएर सेवा दिने महानगरले जनाएको छ।

विराटनगरमा सल्लाह गर्दागर्दै इटहरीमा आईसक्यो
कोशी प्रदेशका दुई प्रमुख शहरहरू विराटनगर र इटहरीमा नगर बस सेवा सुरु गर्ने प्रयासहरू फरक–फरक प्रक्रियामा अघि बढिरहेका छन्। विराटनगर महानगरपालिकाको योजना विभिन्न कारणले अड्किएको छ भने इटहरी उपमहानगरपालिकाले आफ्नो योजना कार्यान्वयनमा उल्लेखनीय प्रगति हाँसिल गरेको छ।

विराटनगर महानगरपालिकाले एक वर्ष ५ महिना अघि नै नगर बस सञ्चालनका लागि रुट परीक्षण गरेको थियो। प्रारम्भिक चरणमा १९ वटा नगर बस सञ्चालन गर्ने योजना रहेको छ। २०७९ फागुनमा दुई चरणमा रुट परीक्षण गरिए पनि, महानगरले २०८० जेठबाट बस सञ्चालन गर्ने दाबी गरे अनुसार हालसम्म सेवा सुरु हुन सकेको छैन।

महानगरले यो ढिलाईको कारण प्रदेश सरकारलाई जिम्मेवार ठहर्‍याएका छ। अर्कोतर्फ, इटहरी उपमहानगरपालिकाले असोज १ गतेबाट विद्युतीय बस सेवा सञ्चालन गर्ने योजना बनाएको छ। उपमहानगरले चार वटा बस खरिद गरिसकेको छ, जसको लागत ६ करोड ३६ लाख ८६ हजार रुपैयाँ रहेको छ। यी बसहरूमा जीपीएस, सीसी क्यामेरा, एसी जस्ता आधुनिक सुविधाहरू जडान गरिएको छ।
इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलले भने, इटहरीका चारवटै क्षेत्रलाई समेट्ने गरी रुट तय गर्ने काम भइरहेको छ। सम्भवतः आगामी असोज १ गतेबाट सेवा सञ्चालन गर्ने योजना छ।

यी दुई शहरहरूको प्रगतिमा देखिएको भिन्नताले स्थानीय सरकारहरूको कार्यान्वयन क्षमता र प्राथमिकताहरूमा रहेको फरकलाई उजागर गरेको छ। विराटनगरमा योजना ठूलो र महत्वाकांक्षी भए पनि कार्यान्वयनमा चुनौतीहरू देखिएका छन् भने इटहरीले सानो तर व्यावहारिक योजनालाई छिटो कार्यान्वयन गर्न सफल भएको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्