नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा भदौ २७ देखि ३० गतेसम्म कृषि एक्स्पो आयोजना हुने भएको छ ।
विराटनगरसँग जोडिएको कटहरी गाउँपालिकामा रहेको कृषि थोक बजारमा कृषि एक्स्पो आयोजना गरिने भएको हो ।
महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले विगतमा काठमाडौं र चितवनमा मात्र सीमित रहेको कृषि एक्स्पो पहिलो पटक कोशी प्रदेशमा आयोजना गर्न लागिएको हो । राउतका अनुसार एक्स्पो प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, संघीय सरकार र स्वीस सरकार विकास सहयोगको प्रवद्र्धन र नेपाल कृषि बजार विकास कार्यक्रम(सहज) र कटहरी गाउं पालिकाको सहकार्यमा आयोजना हुन लागेको हो ।
एक्स्पोमा कृषिका नवीनतम प्रविधि, कृषि व्यवसायका उत्पादन, पशुपंक्षीका दाना, भेटनरी लगायतका वस्तुहरुको प्रदर्शनी हुने छ । एक्स्पोमा भारतको विहार राज्यबाट समेत कृषि विज्ञहरु आएर परामर्श दिने कार्यक्रम छ ।
उक्त एक्स्पो कृषक र कृषि व्यवसायीको मिलन मात्र गराउने नभई कृषक र कृषि उद्योगीहरु वीच समन्वय गराउने कार्यक्रम रहेको जानकारी दिँदै जिल्ला बाहिरबाट एक्स्पोको अवलोकन गर्न आउने कृषकका लागि आयोजकले खाना तथा आवासको व्यवस्था गरिएको राउतले वताए ।
कृषि एक्स्पोको प्रचार प्रसार गर्ने क्रममा महासंघका अध्यक्ष राउतको नेतृत्वमा गएको टोली झापा, इलाम, पाँचथर र ताप्लेजुङका स्थानीय निकाय, उद्योग वाणिज्य संघ र विभिन्न वस्तुगत संघसँग छलफल गर्न व्यस्त छ ।