राष्ट्रिय प्रत्यारोपण केन्द्रमा व्यथिति : बिरामी र स्थानीयले गुहारे अख्तियार

<span class='c1'>राष्ट्रिय प्रत्यारोपण केन्द्रमा व्यथिति :</span> <span class='c2'>बिरामी र स्थानीयले गुहारे अख्तियार</span>

युवराज गौतम/नेपाल न्यूज बैंक
काठमाडौं । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र पछिल्लो समय पुनः विवादमा आउन थालेको छ ।

स्थापना कालमा ‘मानवअंग प्रत्यारोण केन्द्र’ का रुपमा चिनिएको केन्द्रमा भइरहेको व्यथितिविरुद्ध स्थानीयबासी निरन्तर आन्दोलनमा उत्रिएपछि आन्तरिक विवादका श्रृखंलाहरु बाहिर आउन थालेका हुन् ।

नेपालमा प्रत्यारोपण सेवालाई स्थापित गराएर प्रशंसा कमाएका डा.पुकारचन्द्र श्रेष्ठको कार्यशैली र विवादास्पद निर्णयविरुद्ध स्थानीय विगत एक वर्षदेखि संघर्षरत छन् । यसअघि पनि अस्पताल व्यवस्थापनविरुद्ध कर्मचारी र स्थानीयले पटक पटक आन्दोलन गरेका थिए ।
उक्त केन्द्रको पहिलो कार्यकारी निर्देशक भएर प्रत्यारोपण सेवा विस्तार गर्न प्रभावकारी भूमिका निर्वाह गरेर स्थानीय र विरामीहरुको मन जितेका उनी पछिल्लो समय आफ्नै कार्यशैली र हठका कारण आलोचित बनेको स्थानीयबासी बताउँछन् ।

विश्व अंगदान दिवसका अवसरमा साउन २९ गते मंगलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रम हलभित्र स्थानीयले प्रदर्शन गरेपछि डा.श्रेष्ठको कार्यशैली र अस्पतालको प्रशासकीय व्यवस्थापनमाथि प्रश्न उठेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल प्रमुख अथिति रहेको कार्यक्रममा स्थानीयले कालो व्यानर र प्ले कार्डसहित कार्यक्रम चलिरहेको हलमै प्रदर्शन गरेपछि विवाद थप चर्किएको छ ।
अस्पतालमा भएको व्यथिति र अनियमितता बढेको भन्दै स्थानीयले ‘सेवा रोकेर धेरै मरिसके, अझै कतिजना अरु’, ‘म मुटु रोग पीडित, मेरो उपचार भएन’, ‘भ्रष्टाचारमुक्त अस्पताल बनाउ’, ‘म कलेजो रोग पीडित, मेरो उपचार भएन’लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेपछि मन्त्री पौडेलले घट्नाको नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएका थिए ।

प्रदर्शनपछि स्थानीयसँगको संवादमा मन्त्री पौडेलले गलत गर्ने जोसुकैलाई निलम्बन गर्न कुनै कठिनाइ नहुने दावी गरे । तर कार्यकारी निर्देशक डा.श्रेष्ठले संचारकर्मीको जिज्ञासामा आन्दोलनकारीलाई ‘अराजक समूह’को सज्ञा दिए । उनले आन्दोलनकारीले उठाएका मुद्दाबारे बोल्न चाहेनन् ।
शक्ति र पैसाको आडमा डा.श्रेष्ठले अस्पतालका चिकित्सक र कर्मचारीलाई दुःख दिने गरेको मात्र होइन उपकरण खरिदमा अनियमितता गरेको आरोप समेत लाग्दै आएको छ । अस्पतालमा कर्मचारी नियुक्ति, चिकित्सकीय जिम्मेवारी, बढुवा, प्रत्यारोपण सर्जनलाई दिइने जिम्मेवारीमा आफूखुशी गरेको साथै अस्पताल विकास समितिको उद्देश्य र लक्ष्य विपरित काम गरेको भन्दै स्थानीयबासी एवम कर्मचारीहरु आन्दोलित छन् ।
आन्दोलनको नेतृत्व गरिरहेका नविन विष्टका अनुसार अस्पतालमा पाउनुपर्ने सुविधा नपाएको, करोडौं रुपैंयाँमा खरिद गरिएको अत्याधुनिक उपकरण किनेर थन्क्याइएको, विशेषज्ञ डाक्टरहरुलाई जवरजस्ती वर्खास्त गरिएकाले आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको हो । ‘शहीद धर्मभक्तका नाममा अस्पताल खोल्दा जुन उद्देश्य थियो वा जुन किसिमको सुविधा दिने भनियो त्यो केहीपनि पाउन सकिदैन् । विशेषज्ञ डाक्टरहरु विधि र प्रक्रियामार्फत भर्ना भएर अस्पतालमा कार्यरत छन् तर उनीहरुलाई गठन आदेश संशोधन वा समितिको विधान हेरफेर गरेर समेत हटाउने काम भयो । जनतालाई गुमराहमा राखेर सेवा किड्नीको मात्र सेवा दिने अनि कलेजो र मुटुको सेवा दिइरहेको छु भनेर गलत प्रचार गरियो,’ उनले भने,‘हाम्रो एकजना डाक्टरले नेपालमै दुर्लभ मानिएको हर्ट सर्जरी गरेर सफलता पाउनुभएछ । भएको उपकरणलाई प्रयोग गरेर दुर्लभ सर्जरी सफल हुँदा कार्यकारी निर्देशक आफैं ओझेलमा पर्ने डरले विशेषज्ञ डाक्टरलाई नै वर्खास्त गर्ने काम भयो । तर अहिले उपकरण नै थन्क्याएर सेवा बन्द गरिएको छ । व्यथिति अतिनै हुन थालेपछि संघर्ष गर्नुपरेको हो ।’

भएका डाक्टरलाई दुव्र्यवहार र वर्खास्त गरेर सेवा बन्द गर्ने, भारतीय डाक्टरलाई मोटो रकम बुझाएर भित्र्याउने र अस्पतालको उद्देश्य एवम गठन आदेशमा उल्लेख भएको व्यवस्थालाई लत्याएर अस्पतालमा प्रशासनलले मनपरी गरिरहेको उनले जानकारी दिए । ‘अस्पताल प्रशासनले त मनपरी गरिरहेकै छ तर मन्त्रालयका सचिव नै लेनदेनमा आकर्षित भएर अस्पतालमा प्राप्त हुने सेवा बन्द गराउन त पाइँदैन नि । भएको उपकरण प्रयोग नहुँदा यहाँ आएका चारपाँच जना विरामीको मृत्यु नै भइसक्यो । यो त अति भयो नि,’ विष्टले भने । स्थानीयबासीका अनुसार भएका उपकरण प्रयोग गर्नसक्ने दक्ष सर्जन वा चिकित्सकहरुलाई हटाउने, मंहगो उपकरण थन्क्याउने र विरामीलाई उपचारबाट बन्चित गर्ने गरिएको छ । तीन थरीका मानव अंग प्रत्यारोपण सेवा उपलब्ध छ भनेर प्रचार गर्ने तर स्थान, दक्ष जनशक्ति र स्रोत साधनको अभाव रहेको भन्दै विरामीलाई फर्काउने गरिएको स्थानीयको दाबी छ ।
जसका कारण लामो समयदेखि कलेजो, फोक्सो, मुटुका विरामी अस्पतालमा आउँदा पनि उपचारबाट बन्चित हुनुपरेको भन्दै स्थानीयबासीले पटक पटक मन्त्रालयसम्मै पुगेर गुनासो गर्दा पनि सुनुवाइ नभएको स्थानीय नागरिक समाजका अगुवा राजेन्द्र पुरीले बताए ।

‘कलेजो, फोक्सो, मुटुको उपचार गर्नुपर्ने प्रावधान छ तर यहाँ किड्नीको मात्र उपचार हुन्छ । डा.पुकारचन्द्र श्रेष्ठ आफू किड्नीको डाक्टर भएकाले किड्नीको मात्र उपचार गरेर बस्नुभएको छ । उहाँलाई धन्यवाद भन्नैपर्छ तर अस्पतालले दिने सुविधा र उपकरण उपयोगविहीन बनाउनु त भएन नि,’ उनले अगाडि भने,‘सबै सेवा सुविधा र उपकरण हुँदाहुँदै ठाउँ एवम दक्ष जनशक्ति अभाव देखाएर समाचार लेखाउने र सरकारका माथिल्ला निकायमा दुखेसो सुनाएर आफू चोखो बन्ने काम भएको छ ।’ भएका डाक्टरलाई कारवाहीका नाममा हटाउने अनि मंहगा डाक्टरहरु झिकाएर विरामीको ढाड सेक्ने काम भएको उनले बताए । ‘यहाँ तीनचार वटा कोठामा उपकरण थन्क्याइएको छ । सम्बन्धित उपकरण चलाउन सक्ने दक्ष डाक्टरहरु हटाइएको छ । लोक सेवा लडेर आएका डाक्टरलाई अनेक वहानामा दुःख दिने काम भएको छ, मुद्दा मामिला गरेर दुव्र्यवहार गर्ने काम अब सहन सकिदैन,’ उनले भने ।

यसअघि तीन जना स्वास्थ्यमन्त्रीलाई भेटेर समस्या सुनाइसकेको भएपनि सुनुवाइ नभएको उनले दुखेसो गरे । ‘हामीले समस्या सुनाएको प्रदिप पौडेल चौथो मन्त्री हुनुहुन्छ । उहाँसँग ठूलो आशा छ । अस्पतालमा नेपाल सरकारले दिएको सुविधा डा.पुकारचन्द्र श्रेष्ठकै कारण बन्द भएको जानकारी गराइसकेका छौं । अस्पतालमा उपकरण पनि छ, मुटु, कलेजो र फोक्सोको शिर्षकमा बेग्लावेग्लै बजेट आउँछ तर काम नभएपछि बजेट कहाँ गइरहेको छ ?’ उनको प्रश्न छ।
विरामीको अप्रेसन गर्नुपर्दा बाहिरका डाक्टर बोलाएर विरामीको ढाड सेक्ने, आएका विरामीलाई अन्य अस्पतालमा रिफर गरेर डा.पुकार आफै वा आफू निकटका डाक्टरलाई अप्रेसन गर्न लगाउने, स्थायी डाक्टरहरुलाई काम गर्ने अवसर नदिने र स्थानीयलाई तुच्छ नागरिक सम्झिने डा.पुकारचन्द्र श्रेष्ठको रवैया अब धेरै सहन नसकिने पुरीले बताए ।

उपकरण थन्काइयो
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आवश्यक उपकरण, जनशक्ति र भौतिक पूर्वाधारको अभाव भनेर प्रचार गरिएपनि भएकै उपकरण प्रयोगमा नआएको स्थानीयको भनाइ छ । हप्तामा करिब १० वटा भस्कुलर सर्जरी गर्न सकिने सामान बिग्रेको भनि सो सेवा बन्द गराइएको, हप्ताको १० वटासम्म हुने कलेजोको अप्रेसन बन्द गराइएको स्थानीयको भनाइ छ । मुटु र फोक्सोको उपचारको लागि ल्याएको सामान पनि उपयोग नै नगरी थन्काइएको अस्पतालकै कर्मचारीहरुले बताउने गरेका छन् ।

नेपालमा विरलै अस्पतालमा उपलब्ध हुने इक्मो मेसिन समेत थन्क्याएर राखिएको, इन्डास्कोपि मेसिन सुचारु हुँदाहुँदै नयाँ मेसिन खरिद गर्न प्रक्रिया अगाडि बढाइएपछि अस्पताल कर्मचारीहरु नै असन्तुष्ट देखिएका छन् । भेन्टिलेटरबाट पनि बाँच्न नसकेको विरामीलाई अति विशिष्ट उपचारबाट बचाउन सकिने इक्मो मेसिन, हर्टअट्याक भएका विरामीलाई तुरुन्तै बचाउन सक्ने अति संवेदनशील क्याथ ल्याब मेसिन, मुटुको वाइपास अप्रेसनलगायत जटिल अप्रेसनहरुमा प्रयोग गरिने हर्ट लंग मेसिन साथै आइएबिपी जस्ता करोडौं मूल्यका उपकरण चलाउँदै नचलाइन थन्काइएको सोही अस्पतालका कार्डियोभास्कूलर सर्जन डाक्टर संजित कुमार शाहको भनाइ छ ।‘खरिद गरिएका उपकरणहरु प्रयोग गर्ने हो भने स्थानीय नागरिकले बुझ्नुपर्छ । किन प्रयोग भइरहेको छैन् खोजविन गर्नुपर्छ । करोड होइन अर्बौंको उपकरण थन्क्याएर अस्पताल अर्थात सरकारले के गरिरहेको भन्ने कुरा विरामी एवम स्थानीय नागरिकले बुझ्न र खोज्नसक्नुपर्छ,’ डा.शाहले अगाडि भने,‘राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएका उपकरण संचालनमा ल्याएर अस्पताललाई सुविधा सम्पन्न बनाउनुको साटो व्यवस्थापन र समिति अग्रसर नहुनुको पछाडि केही रहस्य लुकेको छ भनेर स्थानीयले खोज्नुपर्छ । सिमित व्यक्तिको एकाधिकारका कारण विरामी र स्थानीयलाई गुमराहमा राख्न पाइँदैन् ।’

अख्तियारमा पुग्यो मुद्दा
प्रत्यारोपण केन्द्रमा कार्यरत केही चिकित्सकहरुले अन्य अस्पतालमा गएर पार्ट टाइम काम गर्ने गरेको, करोडौंको उपकरण थन्क्याएर राज्यको सम्पत्ति उपयोगवीहिन बनाइएको साथै गैर कानुनी रुपमा अंक प्रत्यारोपण गरेकोलगायतका विषयलाई लिएर अस्पताल भित्रकै कर्मचारी, विरामी र स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गएका छन् । २०८१ साउन २७ गते सि ००८५६९ र २०८० चैत्र १२ गते सि ६५२३४३ मा अख्तियारमा मुद्दा दर्ता गराइएको छ । त्यसबाहेक आधा दर्जन मुद्दा अख्तियारमा दर्ता छन् । साउन २७ गते दर्ता भएको मुद्दामा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले नै तीन जना कलेजोका विरामीको कानुन विपरित प्रत्यारोपण गरेको भन्दै मुद्दा परेको छ ।

नेपाल सरकार (खण्ड ६६) अतिरिक्ताङ्क १४ क नेपाल राजपत्र भाग ३ मिति २०७३।०८।१६ मा प्रकाशित कलेजो प्रत्यारोपणका लागि डकम्पेनसैटेड सिरोसीस भएका विरामीहरुले कलेजो प्रत्यारोपणका लागि चाहिने मापदण्ड श्रेणी मिडल फर इन्ड स्टेज लिभर डिजिज तालिका ए प्राप्ताङ्क १५ भन्दा माथि हुनुपर्ने व्यवस्था स्पष्ट हुँदाहुँदै डा. पुकारले १५ भन्दा कम अंक भएको एमइएलडी १० को एकजना, एमइएलडी १२ का दुई जना विरामीको कानुनमा व्यवस्था भएको एमइएलडी तालिका विपरित प्रत्यारोपण गरेको भन्दै डा.पुकारमाथि गम्भीर छानविन हुनुपर्ने माग राखिएको छ । यसअघि पनि उनीमाथि नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपण गराएको आरोप लागेको थियो भने उमेर हद नाघेर र विभिन्न काण्डमा उनी विरुद्ध सर्वोच्च अदालतमा मुद्दा समेत परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्